नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् हो : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् देश नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताएका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा उनले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग सामिप्य रहँदै आइरहेको नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् भएको बताए।
उनले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि भएको बताए। राष्ट्रपति पौडेलले शंखधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वकै लागि पनि एक उदाहरणीय कार्य भएको उल्लेख गरे।
सो अवसरमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकालाई सम्मान गरिएको थियो।