आयात/निर्यात घट्यो, रेमिट्यान्स बढ्यो

आयात/निर्यात घट्यो, रेमिट्यान्स बढ्यो

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोजसम्म वैदेशिक रोजगारीमा गएका नेपालीबाट उक्त रेमिट्यान्स भित्रिएको हो। 

समीक्षा अवधिमा रेमिट्यान्स ११.५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको असोज मसान्तमा रेमिट्यान्स वृद्धिदर २५.८ प्रतिशत थियो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम       श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ थियो।

तीन महिनामा वस्तु आयात र निर्यात भने घटेको छ। राष्ट्र बैंकका अनुसार आयात ४.२ प्रतिशतले र निर्यात ६.१ प्रतिशतले घटेको छ। आर्थिक वर्ष ०८१/८२ को तीन महिनामा कुल वस्तु निर्यात ३८ अर्ब ३८ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो। 

भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ। तर, सोयाबिन तेल, चिया,पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिनालगायत केही वस्तुको निर्यात भने बढेको छ। जिंक सिट, पाम तेल, अलैंची, जुस, तयारी पोसाकलगायतका वस्तुको निर्यात घटेको छ। समीक्षा अवधिमा कुल वस्तु आयात पनि घटेको तथ्यांकले देखाएको छ। वस्तु आयात ३ खर्ब ९० अर्ब ७५ करोड छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्घि भएको थियो। भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७.९ प्रतिशतले कमी आएको छ। सुन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ। वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्ट्स्, खाने तेल, स्पन्ज आइरन, लसुन, तेलहनलगायतका वस्तुको आयात बढेको छ। 

विराटनगर, कैलाली, कृष्णनगर, नेपालगन्ज र रसुवा भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। जलेश्वर, कैलाली, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटामा ४.० प्रतिशतले कमी आई ३ खर्ब ५२ अर्ब ३७ करोड पुगेको छ। 

२०८१ असोज महिनामा मुद्रास्फीति (मूल्यवृद्धि) ४.८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ७.५० प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घिउ तथा तेलको ४.९८ प्रतिशतले बढेको छ।

विदेशी मुद्रा सञ्चिति बढेको बढ्यै

वस्तु आयात र निर्यात घटे पनि विदेशी मुद्रा सञ्चिति ह्वात्तै बढेको छ। असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भएको छ। विदेशी मुद्रा २२ खर्ब ३२ अर्ब २८ करोड सञ्चिति भएको छ। तीन महिनाको आयातलाई आधार मान्दा उक्त विदेशी विनिमय सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ। असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत छ। अमेरिकी डलरमा यस्तो सञ्चिति असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९ खर्ब ८८ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.९ प्रतिशत रहेको छ। 

समीक्षा अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.