व्यावसायिक आलु खेतीबाट दोब्बर आम्दानी
सुर्खेत : सुर्खेतका किसानले पछिल्लो समय आलुको व्यावसायिक खेती सुरु गरेका छन्। किसानले आलुको व्यावसायिक खेती गर्न थालेपछि उत्पादन पनि वृद्धि हुन थालेको छ। स्थानीय किसानले उत्पादन बढाएपछि जिल्लामा भारतीय बजारबाट आउने आलुको आयातसमेत घटेको हो।
वीरेन्द्रनगर–१६ मेहेलीका किसान लोकबहादुर खड्का एक सिजनमा डेढ लाख मूल्यको आलु बिक्री गर्छन्। दुई वर्षदेखि व्यावसायिक खेती थालेका उनी भन्छन्, ‘पहिले त घरमा खानका लागि मात्र खेती हुन्थ्यो, तर अचेल अन्नबाली हटाएर आलुको खेती गर्न थालेका छौं। आलु फलाएरै घरखर्च टरेको छ, नगद आम्दानी हुने भएकाले पनि अन्नबालीभन्दा आलुबाट दोब्बर आम्दानी हुन्छ।’
सोही ठाउँका किसान यामबहादुर खत्रीले एक सिजनमा दुई लाख मूल्यको आलु बिक्री गर्छन्। आलु फलाएरै परिवारको खर्च टार्ने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘मैले यो वर्ष आलु बेचेर दुई लाख कमाएँ, घरमा परिवारसँगै बसेर आलुबाटै यो आम्दानी भयो। गाउँमा आलु खेती गर्न थालेपछि रोजगारीका लागि भौंतारिनु परेको छैन, जागिरका लागि पनि अब गाउँमा चिन्ता छैन।’ उनका अनुसार गाउँका हरेक किसानले वर्षमा डेढ लाखदेखि साढे तीन लाख रुपैयाँसम्मको आलु बिक्री गर्छन्। विस्तारै किसानहरू आलुखेतीबाट आत्मनिर्भर बन्न थालेको उनको भनाइ छ।
विगतमा यहाँका किसानले अन्नबालीको खेती गर्थे। तर त्यसबाट उनीहरूको गुजरा चलेन। दुःखअनुसार उत्पादन नभएपछि वीरेन्द्रनगर नगरपालिका वडा नं १६ का किसानले आलुखेती गर्न थालेका हुन्। यहाँका किसानका अनुसार अन्नबालीभन्दा आलुको खेतीबाट दोब्बर फाइदा भइरहेको छ। यसकारण पनि यहाँका अधिकांश किसानले आलुखेतीलाई व्यावसायिक बनाएका हुन्। मेहेलीका किसान गीता खत्री विगत चार वर्षदेखि आलुखेती गरिरहेकी छन्। उनी भन्छिन्, ‘आलुको बिउ जोगाउन नसकेर हामी हैरान थियौं, घरमा राखेको बिउ कुहिएर खेर जान्थ्यो। अब बिउ खोज्दै भौंतारिनुपर्ने समस्या छैन, बिउ नपाएर बारी बाँझै राख्नुपर्ने बाध्यता पनि ट¥यो।’
स्थानीय किसान लोकबहादुर खड्काले आलु खेती गर्न थालेको ३० वर्ष भयो। सुरुवातमा उनले जीविकोपार्जनका लागि मात्र खेती गर्थे। तर पछिल्लो दुई वर्षयता उनले पनि व्यावसायिक खेती गर्दै आएका छन्। उनका अनुसार आलुबाट राम्रै आम्दानी हुन थालेको छ। उनी भन्छन्, ‘पहिला घरमा खानका लागि मात्र आलु लगाउँथ्यौं, तर अचेल बिक्री हुन थालेपछि खेतीलाई बढाएका छौं। आलुबाटै एक सिजनमा साढे दुई लाख रुपैयाँसम्म आम्दानी हुन्छ, गाउँमै आम्दानी हुन थालेपछि गाउँलेहरूलाई अचेल रोजगारीको चिन्ता छैन।’ उनका अनुसार किसानले पछिल्लो समय समूह नै गठन गरेर व्यावसायिक रूपमा आलुखेती थालेका छन्। आफूहरू संगठित भएपछि आलुले बजारमा मूल्यसमेत पाउन थालेको किसानको भनाइ छ।
आलुको बिउबाट पनि दोब्बर नाफा
दैलेखको सीमासँग जोडिएको वीरेन्द्रनगरको लेकाली क्षेत्र आलुखेतीका लागि उपयुक्त छ। सँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकाका किसान पनि आलुखेती गर्छन्। प्रायः किसानले आलुखेती गरे पनि रोप्ने बेलामा बिउको अभाव हुन्छ। बिउको अभाव झेल्दै आएका छिमेकका किसानलाई वीरेन्द्रनगर वडा नं १६ स्थित मेहेलीमा गठन भएको जुनेली कृषक समूहमा आबद्ध किसानले अचेल बिउ बेच्न थालेका हुन्।
स्थानीय किसान यामबहादुर खत्रीले आफूहरूले आलुको बिउ पनि बिक्री गर्न थालेको बताए। खेतीको सिजनमा अभाव भएका किसानलाई आफूहरूले बिउ बिक्री गर्दै आएको उनको भनाइ छ। उनले भने, ‘रोप्ने बेलामा बिउ खोज्दै छिमेकीहरू हारगुहार नै गर्छन्, त्यो बेला हामीले जोगाएर राखेको बिउ दोब्बर मुल्यमा बिक्री गर्छौं।’ आफूहरूबाट सुर्खेत र दैलेखका किसानले आलुको बिउ खरिद गर्ने गरेको यहाँका किसान बताउँछन्। किसान लीलादेवी विकले भनिन्, ‘आलुको बिउ बिक्री गर्दा दोब्बर फाइदा हुन्छ, रोप्ने बेलामा बिउको हाहाकार हुने भएकाले मूल्य पाइन्छ। उत्पादन भएको सिजनमा आलु किलोको ४० रुपैयाँमा बेच्नुपर्छ, तर त्यही आलु हामीले बिउको रूपमा बेच्दा ८० रुपैयाँ किलोमा बेच्न पाउँछौं।’