घतानको टिम्मुर विदेश निर्यात

घतानको टिम्मुर विदेश निर्यात
सुन्नुहोस्

बेनी : म्याग्दीको बेनी नगरपालिका–९ घतानमा उत्पादन भएको मसलेदार फल टिम्मुर सहरबजारका तारेहोटलदेखि विदेशमा समेत बिक्री हुन थालेको छ। मुस्ताङ, पोखरा, काठमाडौं, चितवनलगायत सहरका होटलका साथै जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिम्मुर बिक्री हुन थालेको हो। 

रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिम्मुर दाल र चटनीमा मसलाको रूपमा प्रयोग हुन्छ। बजारका तारे होटलदेखि विदेशबाट माग आएको टिम्मुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले बताए। 

null‘विश्वका धेरै देशमा रहेका नेपालीहरूले जन्मथलो आउँदा र आफन्तमार्फत उपभोगका लागि लैजाने टिम्मुरको पछिल्लो समय व्यावसायिक रूपमा माग आउन थालेको छ,’ उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षण गरेर उपभोग योग्य भएको प्रमाणित गरेर टिम्मुरलाई विदेश पठाउने गरिएको छ।’

घतानको फरकफरक ठाउँमा उत्पादन भएको २० किलोग्राम काँचो र दुई किलोग्राम सुकाएको टिम्मुर परीक्षणका लागि कात्तिक तेस्रो साता काठमाडौंको प्रयोगशालामा पठाएको बानियाँले बताए। प्रयोगशालाको प्रतिवेदन आएपछि बिक्री गर्ने तयारीसहित किसानले टिम्मुर टिप्न थालेका छन्। 

गत वर्ष घतानमा उत्पादन भएको १ हजार ६ सय किलोग्राम टिम्मुर प्रतिकिलो तीन हजारका दरले बिक्री भएको थियो। जसमध्ये विदेशी बजारमा करिब दुई सय किलोग्राम बिक्री भएको बानियाँले बताए। धेरैजसो टिम्मुर मुस्ताङका होटल सञ्चालकले अग्रिम पैसा दिएर खरिद गर्छन्। 

घतान क्षेत्रमा यसपालि पनि करिब दुई हजार किलोग्राम टिम्मुर उत्पादन हुने अनुमान गरिएको भूमेसिद्ध टिम्मुर सञ्जालले जनाएको छ। बेनी नगरपालिका–९ ढावाका नरबहादुर राईले २० हजार रुपैयाँको टिम्मुर बिक्री गरिसकेको र थप ४० हजारको टिमुर बिक्री हुने बताए। ‘खेतबारीमा बारका लागि रोपेको टिम्मुरको गेडा बेचेर आम्दानी हुँदा दोहोरो फाइदा भएको छ,’ उनले भने ‘फलाउन र टिप्न सक्नुप¥यो टिम्मुरको बजारको समस्या छैन। घरबाटै बिक्री हुन्छ।’ 

बेनी नगरपालिका–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब १ सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन्। म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुर खेती भएको डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले बताए। ‘बेनी नगरपालिका– ९ मा जिल्लामै धेरै टिम्मुर खेती हुन्छ,’ उनले भने ‘म्याग्दीमा हाल वार्षिक करिब ६ टनको हाराहारीमा टिमुर उत्पादन हुने हाम्रो तथ्यांक छ।’

nullविगतमा साउन–भदौमा टिम्मुर टिप्ने किसानहरूले पछिल्लो वर्ष गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन्। अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपालि टिम्मुरको उत्पादन दोब्बरले बढेको ढावाकी जमुना राईले बताइन्। ‘एउटै रुखमा दुई किलोग्राम टिम्मुर फलेको छ,’ उनले भनिन् ‘यसपालि मैले ६ किलोग्राम टिम्मुर फलाएको छु।’

पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारको रूपमा लगाएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसानले बताएका छन्। भूमेसिद्ध टिमुर सञ्जालमा आबद्ध किसानलाई दुई वर्षअघि लुपथान्सा एअरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालले टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको ४० थान सिकेचर र आरा उपलब्ध गराएको थियो। डिभिजन वन कार्यालयले टिम्मुर प्रसोधन गर्ने औजार उपलब्ध गराएको छ। 

nullम्याग्दीमा टिमुर खेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू–तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र संघसंस्थाहरूले बिरुवा वितरण गर्दै आएका छन्। डिभिजन वन कार्यालय म्याग्दीले गत वर्षमा २० हजार टिमुरका बिरुवा वितरण गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.