प्रधानाध्यापक र कार्यालय सहायकको विवाद : शिक्षकले पाएनन् तलब
कपिलवस्तु : कृष्णनगर नगरपालिका स्थित महेन्द्र माध्यमिक विद्यालयमा प्रधानाध्यापक र कार्यालय सहायकको आपसी विवादका कारण शिक्षक कर्मचारीहरूले पहिलो चौमासिकसम्मको तलब भत्ता पाउन सकेका छैनन्। विद्यालयका प्रधानाध्यापक कामेश्वर श्रीवास्तव र कार्यालय सहायक कौशिलेन्द्र चर्तुवेदीको संयुक्त हस्ताक्षरमा संचालित खाता संचालनमा आपसी विवाद उत्पन्न भएको हो।
कार्यालय सहायक चर्तुवेदीले विद्यालयको आर्थिक हिसाब किताब दिन नसकेको, आर्थिक पारदर्शी नअपनाएको भन्दै अब उपरान्त कार्यालय सहायक चर्तुवेदीको संयुक्त हस्ताक्षरमा आफूले खाता संचालन गर्न नसक्ने प्रधान अध्यापक श्रीवास्तवले बताए। प्रधान अध्यापक श्रीवास्तवले कुनै पनि शीर्षकको खर्च भुक्तानीका लागि चेक काट्न मानेका छैनन्।
चालु आर्थिक वर्षको साउन महिनादेखि कार्तिक महिनासम्मको तलब भत्ता र चाड पर्व खर्च रकम शिक्षक कर्मचारीहरुले पाउन सकेका छैनन्। समयमै तलब भत्ता पाउन नसक्दा आफूहरू समस्यामा परेको विद्यालयका शिक्षक संजय पाण्डेयले बताए। बाहिरी जिल्लाबाट आएर भाडामा बसी अध्यापन कार्यमा संलग्न रहेका यस विद्यालयका अन्य शिक्षकहरुलाई त अझ बढी समस्या छ', शिक्षक पाण्डेयले भने, 'प्रधान अध्यापक र कार्यालय सहायकको आपसी लडाइमा हामी पिसिएका छौं।'
प्रधान अध्यापकले विना विल भरपाई रकम खर्च गर्न खोज्ने, आर्थिक ऐनको विपरीत जबरजस्ती चेक कटाउन खोज्ने जस्तो कार्य गरेको हुँदा प्रधान अध्यापकसँग कुरा मिल्न नसकेको कार्यालय सहायक कौशिलेन्द्र चर्तुवेदीले बताए। 'विद्यालय व्यवस्थापन समितिले पनि मलाई आर्थिक ऐन नियम अनुसार नै काम काज गर्न निर्देशन गरेको हुँदा मैले आर्थिक प्रशासनलाई कन्टेल मात्र गर्न खोजेको हो', कार्यालय सहायक चुर्तवेदीले भने,'शिक्षक कर्मचारीको तलब भत्ताको चेक काट्न खोज्दा प्रधान अध्यापकले नै हस्ताक्षर नगरेर समस्या उत्पन्न भएको हो।'
उता प्रधान अध्यापक श्रीवास्तवले भने यिनी कार्यालय सहायकको संयुक्त हस्ताक्षरमा खाता संचालन कार्य अब उपरान्त आफूले गर्न नसक्ने बताए। शिक्षकहरुले तलब भत्ता त पाएका छैनन् नै। उनीहरुको तलबबाट कट्टी हुने कर्मचारी संचय कोष, विमा कोष वापतको रकम पनि चालु आर्थिक वर्षको श्रावण महिनादेखि नै जम्मा भएको छैन। आफ्नो आपसी विवाद जे सुकै भए पनि शिक्षक कर्मचारीको तलब भत्ता निकासा, कर्मचारी संचय कोष र विमा कोष दाखिला गरिदिनु पर्ने सवै शिक्षक कर्मचारीको सामुहिक माग रहेको शिक्षक नारायण वेलवासेले बताए।
प्रधान अध्यापक र कार्यालय सहायकको आपसी ईगोका कारण विवाद झन् बढ्दै गएको कृष्णनगर नगरपालिका शिक्षा शाखाका प्रमुख शिक्षा अधिकृत बलराम पन्थीले बताए। नगरपालिका स्तरीय शिक्षा समितिको बैठकबाट यो विवाद निरुपण गर्न आवश्यक पहल तत्काल थाली कार्य प्रगतितर्फ अघि बढ्न पालिकाबाट पत्राचार भइसकेको शिक्षा अधिकृत पंथीले बताए।
दसैँ तिहार जस्तो ठूलो चाड पर्वका बेला ४ महिनासम्मको तलब भत्ता र चाडपर्व भत्ता नपाउँदा आफूहरूमा ठुलो निराशा आएको विद्यालयका शिक्षक नारायण बेलवासेले बताए। 'भोको पेटमा गरिँदै आएको अध्यापन कार्यले हामीलाई खासै उत्साहसमेत आउन सकेको छैन', शिक्षक बेलवासेले भने।
विद्यालय व्यवस्थापन समितिको बैठक बसेर यस विषयमा ठोस निर्णय लिने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय गुप्ताले बताए।
बाल विकास कक्षादेखि १२ कक्षासम्म पठन पाठन हुँदै आएको यस विद्यालयमा २२ जना शिक्षक कर्मचारी छन्।