सत्ताले कोल्ट्याएको मधेस

सत्ताले कोल्ट्याएको मधेस

सरकारले सम्पूर्ण समुदायलाई लाभान्वित हुने खालका नीति तथा कार्यक्रमहरू अवलम्बन गर्न जरुरी छ ।

तराई–मधेस नेपालको एक महत्त्वपूर्ण भौगोलिक क्षेत्र हो । जो समथर मैदानमा पर्छ । यहाँको जनसंख्या पनि उत्तिकै बाक्लो छ । यहाँ विभिन्न धर्म, संस्कृति, भाषाभाषी, जातजाति र समुदायको बसोबास छ । समथर भूभागका कारण यहाँको मुख्य पेसा कृषि हो । कृषि व्यवसायमै आधारित छ यहाँको जनसंख्या । जसको बलमा मुलुक कृषिप्रधान देशको रूपमा संसार चिनिएको छ । तर, पछिल्लो समय कृषि क्षेत्र कमजोर अवस्थाबाट गुज्रिरहेको छ ।

राज्यलाई सबैभन्दा बढी कर तिर्ने मधेस र मधेसी जनता सत्ता हाँक्ने शासकहरूका कारण चरम विभेद खेपिरहेका छन् । यतिसम्म कि बजेट विनियोजन गर्दा हरेक वर्ष मधेसलाई उपेक्षामा राख्ने गरेका छन् । कुल बजेटको करिब १०–१२ प्रतिशत बजेटमात्र मधेसले पाउने गरेको छ । पहाडको तुलनामा यहाँको भौतिक र मानव विकास निकै कमजोर छ । जबकि यहाँको भौतिक र मानव विकास राज्यका लागि अति महत्त्वपूर्ण छ ।

तराई–मधेस धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक रूपमा पनि उतिकै महत्त्वको क्षेत्र हो । आजसम्म देशमा जति राजनीतिक दल सतहमा आए त्यो भनेको मधेस र मधेसी जनताकै त्याग, तपस्या, योगदान र बलिदानको उपज हो । विभिन्न आन्दोलनमा तराई–मधेसको निर्णायक भूमिका छ । चाहे त्यो नेपाली कांग्रेस होस्, नेकपा एमाले होस्, नेकपा माओवादी होस्, वा मधेस आन्दोलन नै किन नहोस्, उनीहरूको उदयको जग भनेकै तराई–मधेस हो । आजसम्म टिकेको पनि तराई–मधेसकै भोटले हो । तर, उनीहरूले आजसम्म मधेस र मधेसी जनतालाई भने उपेक्षा गर्दै आएको छ । समाजिक, आर्थिक र राजनीतिक रूपमा मधेस र मधेसी जनतालाई यसरी निषेध गर्नु सबैभन्दा दुर्भाग्यको कुरा हो ।

मधेस र मधेसी जनता विभिन्न कालखण्डदेखि नेपाली शासकहरूको विभेदमा बाँच्दै आएका छन् । लोकतन्त्र प्राप्तिपछि पनि यसको अन्त्य हुन सकेको छैन । २००७ सालदेखि यतिको विभेद र अत्याचार हुँदा पनि मधेसी जनता सजग र सचेत हुन सकेको छैन । आज पनि मुलुक कांग्रेस–एमालेकै राजनीति वरिपरि छ । तर, पनि उनीहरूले मधेस र मधेसी जनताले दिँदै आएको भोटअनुसारको कदर गरेको देखिँदैन ।

पछिल्लोपटक मधेसी दल र नेताले समेत यो मर्मलाई सही तरिकाले आत्मसात् गर्न सकेको छैन । जुन कारण मधेसी जनता र यहाँका नेताहरू कांग्रेस, एमाले र माओवादीकै झोला बोक्न, पार्टीको सदस्यता लिन र भोट दिन मजबुर छन् । जो मधेस र मधेसी जनताका लागि लज्जाको विषय हो ।

आजको लोकतान्त्रिक युगमा मधेसी जनताले आफ्नै दल खोल्ने र नेता बनाउने सक्ने हैसियत हुँदा पनि पछि परेका छन् । गणितको संसदीय राजनीतिमा मधेसी दल र राजनीतिलाई मधेसी जनताले कांग्रेस, एमाले र माओवादीलाई निरन्तर पछार्दै लानुपथ्र्यो । तर, त्यो हिसाब–किताब देखिएको छैन । मधेसी नेता र दलकै कारण पछिल्लोपटक मधेसमा कांग्रेस, एमाले र माओवादी बढ्न थालेको छ । जसले मधेसी जनताको हकअधिकार फेरि गुम्ने खतरा छ ।

त्यसैले मधेसी नेता, दल र जनता एमाले, कांग्रेस र माओवादीको पुच्छर बन्न छोड्नुपर्छ । हामी जनताले आफ्नो भोट मधेसी दल र नेतालाई दिने साहस गर्दै जानुपर्छ । चाहे आफ्नो गलत किन नहोस्, त्यसलाई सपार्दै अगाडि बढाउनुपर्छ । किनभने हामीसँग धेरै बाध्यता छ । अझै लामो संघर्ष गर्नुपर्नेछ ।

हाम्रो मुलुक विविधताले भरिएको छ । जुन विविधतामध्ये मधेस एक हो । यहाँ अवसर पाए धेरै कुरा हुने रहेछ । तर, अवसर नपाएर धेरै गुमेका छन् । यो विषय शासकहरूले बुझ्न सक्नुपर्छ । सबैको अस्तित्व स्विकार्नुपर्छ । विभेदकारी मानसिकताबाट माथि उठ्नुपर्छ । जसले मात्र हाम्रो मुलुकलाई एकताको सूत्रमा बाँध्न सक्छ । र, संसारको एक नमुना देशको रूपमा परिभाषित गर्न सकिनेछ । यसका लागि केही अवसर र चुनौतीहरूको सामना गर्दै यहाँका सामाजिक, आर्थिक, सांस्कृतिक विशेषतासहितको विकास कार्यमा योगदान र ध्यान दिन जरुरी छ । संघीयता, संविधान, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, जनताबाट निर्वाचित राष्ट्रप्रमुख तथा सबै तहका जनप्रतिनिधि तथा विभिन्न आयोगका पदाधिकारीको नियुक्ति पनि जनताको मतदानबाटै गर्न जरुरी छ ।

मधेसको सांस्कृतिक पृष्ठभूमि  :  सम्म भूभाग र भारतीय सीमासँग जोडिएको तराई मधेसको धार्मिक, सांस्कृतिक विविधता र विशेषता ठूलो महत्त्व छ । किनभने विश्वको ठूलो चुनौतीको रूपमा रहेको भारतको समाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक संस्कार र संस्कृतिसँग धेरै नजिक छ ।

त्यसैले यहाँको प्रभाव पनि उतिकै छ । यसको फाइदा हामीले उठाउन सक्नुपर्छ । तराई–मधेसमा मधेसीमात्र नभएर विभिन्न भाषाभाषी, जात, धर्म र संस्कृतिका मानिसको समेत बसोबास छ । यहाँ सबै खालका भाषा–संस्कृति अवलम्बन गरिएको छ । खासगरी, यहाँ मैथिली, भोजपुरी, अवधी, थारू, बज्जिकालगायतका भाषा बोलिन्छन् भने सम्पर्क भाषाको रूपमा नेपाली भाषा छन् । धार्मिक रूपमा, यो क्षेत्र हिन्दु, मुस्लिम, बौद्ध धर्मावलम्बीको समेत बसोबास छ । जसलाई सदियौंदेखि संरक्षण गरिँदै आएको छ ।

आर्थिक अवस्था र अभाव :  मधेस नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदानको क्षेत्र हो । तर पनि शासकहरूकै कारण यहाँको जनसंख्या धेरैजसो आर्थिक रूपमा कमजोर छन् । यहाँको मुख्य पेसा कृषि हो । त्यसैले कृषि उत्पादनमा मधेसको ठूलो योगदान छ । धान, गहुँ, मकै, उखु, तेलहन तथा तरकारी खेती यहाँको मुख्य उत्पादन हो ।

नेपालको कुल कृषिजन्य योगदानमा मधेस करिब ४० प्रतिशतले भार बोकेको छ । यद्यपि, आधुनिक कृषि प्रणालीको अभाव, सिँचाइका कमी, बाढीपहिरोजस्ता प्राकृतिक जोखिम र विपत्तिहरूका कारण मधेसका किसान अनेक समस्यामा झेल्दै आएका छन् । विभिन्न स्रोतसाधनको कमी र रोजगारी अभावले यहाँका धेरै युवा विदेश पलायन हुन बाध्य छन् । वैदेशिक रोजगारमा मधेसका युवाको उल्लेखनीय योगदान र सहभागिता भए पनि उनीहरूको ठोस भविष्य र जीवन निर्माणमा भने कुनै किसिमको ग्यारेन्टी देखिँदैन ।

सामाजिक राजनीतिक मुद्दाहरू  :  मधेसका जनता लामो समयदेखि न्याय र समानताको लडाइँ लड्दै आएका छन् । पछिल्लोपटक २०६२/०६३ को मधेस आन्दोलन, २००७ र २०१५ सालको आन्दोलनमासमेत महत्त्वपूर्ण योगदान छ उनीहरूको ।

तर पनि मधेसी जनताले आफ्नो हकअधिकार पाउन सकेका छैनन् । उपेक्षामै बाँच्नु परेको छ । अझै पनि संघीयता, संविधान संशोधन र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारणको विषय ओझेलमा परेको छ । मधेसी जनताको पहुँच अझै पनि राज्यमा छैन । आत्मसम्मानको जीवन बाँच्न सकेको छैनन् ।

शिक्षामा समस्या र अवसरको सबाल  :  मधेसको शैक्षिक स्तर पनि राष्ट्रिय स्तरको भन्दा कमजोर छ । सरकारी विद्यालयहरूको अवस्था झनै दयनीय छ । निजी विद्यालयहरूमा पहुँच सीमित छ । यहाँ बालबालिका अझै पनि शिक्षाबाट वञ्चित छन् । जसले युवा जनशक्तिमा शैक्षिक कमी छ । शिक्षामा कमीका कारण यहाँ रोजगारीको अवसर पनि न्यून छ । जसले गर्दा आर्थिक रूपमा समेत पछाडि छन् ।

एक अध्ययनअनुसार, नेपालका तराई जिल्लाहरूमा साक्षरता दर ५७ प्रतिशत छ । जुन पहाडी र हिमाली क्षेत्रभन्दा कम हो । मधेसका लागि शिक्षामा विशेष प्राथमिकता दिनु आवश्यक छ । जसले यहाँको जनसंख्यालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सक्छ ।

मधेस विकासको सम्भावनाहरू  :  मधेस विकासका दृष्टिकोणले असीमित सम्भावना छन् । यहाँको कृषि उत्पादनलाई उद्योगको रूपमा विकास गर्न सकिन्छ । जसले यहाँ रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ ।

उद्योग, व्यापार, पर्यटन र कृषि क्षेत्रलाई आधुनिक बनाउनेतर्फ ध्यान दिएमा मधेसको आर्थिक अवस्था सुधार गर्न सकिन्छ । मधेसमा सीमान्त कृषि र उद्योग क्षेत्रको विकास, यहाँका युवाको कौशल विकास र पर्यटनको प्रवद्र्धन गरेर यस क्षेत्रलाई आर्थिक रूपमा सुदृढ बनाउनेतर्फ सरकारले नीति ल्याउन आवश्यक छ । पर्यटनका लागि यहाँका धार्मिकस्थलहरू, जलाशयहरू, वन्यजन्तु र राप्ती, नारायणी नदीहरूमा जलयात्रा पर्यटनको विकास गर्न सकिन्छ ।

मधेसको भविष्य, धार्मिक सहिष्णुता र समृद्धि  :  मधेसलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सशक्त बनाउन सहिष्णुता र समृद्धिको वातावरण आवश्यक छ । मधेसको विकास र समृद्धिका लागि स्थानीय सरकार र समुदायबीचको सहकार्य, स्रोतसाधनको समुचित उपयोग र शिक्षाको व्यापकता अत्यावश्यक छ ।

संक्षेपमा, मधेसले नेपालको विकासमा प्रमुख भूमिका खेल्न सक्छ । तर यसका लागि सरकारले समावेशी नीति अपनाउन जरुरी छ । सम्पूर्ण समुदायलाई लाभान्वित हुने खालका नीति तथा कार्यक्रमहरू अवलम्बन गर्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.