खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तार गर्न सकिन्छ : परराष्ट्रमन्त्री
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पुर्याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरूलाई आग्रह गरेका छन्।
परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उनले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रशस्त सम्भावना रहेकाले त्यसतर्फ लाग्न सम्बद्ध पदाधिकारी एवं निकायहरूलाई आग्रह गरिन्।
अहिले खेलकूदको आकर्षण र महत्त्व विश्वव्यापीरूपमा बढ्दै गएकाले अन्य क्षेत्रहरूजस्तै खेलका माध्यमबाट पनि नेपालले आफ्ना कूटनीतिक प्रयास र पहलहरूलाई अगाडि बढाउनसक्ने उनको भनाइ थियो।
'नेपालका हिमाल, पहाड, नदी तथा खोलाहरू साहसिक पर्यटनका लागि संसारमै प्रख्यात छन्। त्यसैले हामीले विश्वका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गरी साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तार गर्न सकिन्छ। त्यसका लागि नेपालको पर्यटन तथा खेलकुद मन्त्रालयले समन्वयात्मक रूपमा काम गर्नुपर्छ,' उनले भनिन्।
गत अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसिडी (एसियन कोअपरेसन डायलग)को तेस्रो सम्मेलनमा खेल कूटनीतिलाई प्रमुख विषयका रूपमा राखिएको र नेपालले पनि खेल कूटनीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेकाले यसै विषयमा आवश्यक परामर्श एवं छलफल गर्न सम्बद्ध मन्त्रालय एवं निकायहरूसँग आज सो बैठक राखिएको थियो।
मन्त्री राणाले नेपालामा माउन्टनेयरिङ, र्याफ्टिङ आदि क्षेत्रका साहसिक खेलमा विश्वकै पर्यटकको रुची बढ्दो देखिएको र यी क्षेत्रमा तालिम एवं कोर्षको व्यवस्था समेत रहेकाले यसका माध्यमबाट पर्यटक भित्र्याइ आर्थिक कूटनीतिका क्षेत्रमा ठूलो योगदान पुर्याउन सकिने बताइन्।
उनले खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदाका कारण यहाँ रहेको साहसिक खेलको सम्भावनालाई विश्वमै उजागर गर्न आवश्यक रहेको बताइन्।
'हामीले अहिले आर्थिक कूटनीतिको प्रवर्द्धनमा जोड दिएका छौं। यसका लागि अलग्गै महाशाखा स्थापनाको योजनामा पनि छौं। त्यसैले आर्थिक कूटनीतिको प्रवर्द्धनका लागि पनि हाम्रो देशको साहसिक खेलको सम्भावनालाई अधिकतम उपयोगमा ल्याउन सम्बद्ध सबै क्षेत्रसँग आग्रह गर्दछौं,' उनले भनिन्। बैठकमा रक्षामन्त्री मानवीर राइले हाम्रो देशमा रहेको पर्यटन र साहसिक खेलको सम्भावनालाई कूटनीतिसँग जोडेर पर्यटन कूटनीतिको विकास गर्ने योजना बनाउन आग्रह गरेका थिए।