मोरङको ग्रामथानमा १६ जनाकै उम्मेदवारी कायम

मोरङको ग्रामथानमा १६ जनाकै उम्मेदवारी कायम
सुन्नुहोस्

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी १६ जनाकै उम्मेदवारी कायम भएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अपरान्ह सार्वजनिक अन्तिम नामावली अनुसार मनोनयनपत्र दर्ता गराएका सबैको उम्मेदवार कायम भएको हो। अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नमनारायण चौधरीले ‘मुढा’ चुनाव चिन्ह पाएका छन्। 

नेकपा (एमाले)का उनी आगामी मंसिर १६ गतेको उपनिर्वाचनमा पार्टीबाट गाउँपालिकाको अध्यक्ष उठ्न चाहेका थिए। उनीसहित ११ जना आकांक्षी रहेकोमा पार्टीले एमाले गाउँपालिका उपाध्यक्ष तुलसीराम विश्वासलाई टिकट दिएको थियो। पार्टीको निर्णयबाट रुष्ट बनेका चौधरीले स्वतन्त्रबाट चुनाव लड्ने योजनासहित उम्मेदवारी दिएका हुन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई आज (बुधबार) अपरान्ह ‘मुढा’ चुनाव चिन्ह प्रदान गरेको हो। अध्यक्षका लागि १५ वटा राजनीतिक दल र एकजना स्वतन्त्रसहित गरेर १६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। सबैको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार दलबाट उम्मेदवारी दिनेलाई सम्बन्धित दलको र स्वतन्त्रलाई ‘मुढा’ चुनाव चिन्ह प्रदान गरिएको छ।  

मुख्यनिर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसो १ बजेसम्म इच्छुकका लागि उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। तर, निर्धारित समयसम्म कसैले उम्मेदवारी फिर्ता लिएनन्। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ। 

मुख्यनिर्वाचन अधिकृत भट्टराईका अनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २४ को उपदफा १ बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको हो। ग्रामथानको अध्यक्षका लागि एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी मैदानमा छन्। 

त्यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीको उम्मेदवारी परेको छ। नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन्। 

२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो। 
७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन्। २०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए। आगामी उपनिर्वाचनका लागि १ सय २ जना मतदाता थपिएका छन्। उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.