पुनहिलमा विद्युत र खानेपानीको समस्या
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीय स्थल पुनहिलमा विद्युत र खानेपानीको समस्या भएको छ।
खानेपानी र विद्युत सुविधाको अभावमा समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलमा हिमाल, सुर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरी प्रकृतिमा रमाउन जाने पर्यटकहरूलाई समस्या भएको हो।
घोडेपानी देखि एकाबिहानै उकालो हिडेर पुनहिल जाने क्रममा पदमार्गमा उज्यालो, मोवाइल, क्यामेरा लगायत सामग्री चार्ज गर्न बिद्युत, पिउन र शौचालयमा प्रयोग गर्ने पानी नहुँदा समस्या भएको काठमाडौबाट आएका रमेश श्रेष्ठले गुनासो गरे।
‘अध्यारोमा उकालो हिड्न पदमार्गमा सडक बत्ती र मोवाइल, क्यामेरामा ब्याट्रि सकिदाँ पुनहिलमै चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो,’ उनले भने, ‘पानीको अभावमा शौचालय जाँदा समस्या भयो। बोकेर लगेको पानी महँगो पर्ने रहेछ।’
पर्यटकहरूको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मुलबाट पानी तान्ने उद्देश्यले वि.स. २०८० पुष महिनामा नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले घोडेपानी देखि १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलसम्म लाइन पुर्याए पनि स्थानीयबासी र गाउँपालिकाले मिटरबक्स जडानमा बेवास्ता गर्दा बिजुली नबोलेको हो।
केन्द्रका प्रमुख सत्यनारायण गामीले स्थानीयबासीको माग अनुसार पुनहिलमा करिब २५ लाख खर्चेर विजुलीको लाइन पुर्याइएको बताए। घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले मिटरबक्स जडानका लागि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गरिन्।
पुनहिलमा घोडेपानीबाट ग्यालीन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ। एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपर्दा पर्यटकले मर्कामा परेको गुनासो गरेका छन्।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएकाले त्यहाँ मिटरबक्स राख्न समस्या भएको बताए। पुनहिल र तातोपानी कुण्ड लगायत पर्यटकीय स्थलहरुमा विद्युत आपुर्तिका लागि एकै पटक पाँच वटा मिटरबक्स खरिद गर्न लागिए को उनले बताए।
चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सुर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी र त्यो भन्दा बढी आन्तरिक पर्यटकहरु पुग्ने गर्छन्।
पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति ५० रुपैयाँ र विदेशीले एक सय ५० रुपैयाँका दरले प्रवेश शूल्क तिर्नुपर्छ। चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि गाउँपालिकाले चालिस लाख एक सय रुपैयाँमा ठेक्का लगाएको छ।