८ हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण
सिन्धुपाल्चोक : बाल हृदय बचाउ अभियान अन्र्तगत सिन्धुपाल्चोकको विभिन्न २१ विद्यालयका ८ हजार विद्यार्थीहरूको निःशुल्क मुटु परीक्षण गरिएको छ।
चौतारा साँगचोकगढी नगरपालिकाको श्रीकृष्ण रत्नगंगा मावि, जनविकास मावि, जनजागृति मावि, रामदेवी मावि, ईखु मावि, ज्ञानमन्दिर मावि, सेतीदेवी मावि, सिद्धिकमला मावि लगायत १४ वटा विद्यालयका विद्यार्थी, मेलम्ची नगरपालिकाको तेर्से मावि, इन्दे्रश्वरी मावि, जालपा मावि लगायत ६ वटा बिद्यालय र हेलम्बुको सरस्वती माविका ७ हजार ९ सय ३८ विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको हो।
‘हामीले विद्यार्थीको अलवा ५ सय बढी शिक्षक, शिक्षिका र स्थानीयको पनि मुटु परीक्षण गरेका छौं’, नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुपाल्चोक शाखाका सभापति कमलचरण कक्षपतिले भने, ‘यसको अलवा मुटुको बारे समुदायमा सचेतनाको कार्यक्रम पनि गर्यौं।’ तीन दिनसम्म चलेको निःशुल्क मुटु परीक्षण शिविरमा शल्यक्रिया गर्नुपर्ने र मुटुमा प्वाल परेका विद्यार्थीहरूसमेत भेटिएको संलग्न चिकित्सकले बताएक छन्।
३४ जना विद्यार्थीको मुटुमा प्वाल परेको र १२ जना विद्यार्थीलाई छिटो नै शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानका कार्यक्रम निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए। मुटु परीक्षणको क्रममा ७ सय बढी विद्यार्थीको इको परीक्षण समेत गरिएको थियो। डा. रेग्मी, धुलिखेल अस्पतालका डाक्टर राजेन्द्र कोजु लगायतका स्वास्थ्यकर्मीको समूहले मुटु परीक्षण गरेको थियो।
मुटुमा प्वाल परेका विद्यार्थीलाई तत्काल अप्रेशन गर्न आवश्यक नभए पनि डाक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने र तत्काल शल्यक्रिया गर्नुपर्ने १२ जना विद्यार्थीलाई अभिभावक, विद्यालयको समन्वय र अनुमतिमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय समिति, जिल्ला समिति लगायतका संस्थाले काठमाडौंस्थित शहीद गंगालाल हृदय प्रतिष्ठान अस्पतालमा निःशुल्क अप्रेशन गराउने सभापति कक्षपतिले बताए।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुपाल्चोक शाखाको आयोजना र केन्द्रीय समितिको आर्थिक र प्राविधिक सहयोगमा भएको शिविरलाई रेटरी क्लब र पद्मोदय भेट्रान्स क्लब-३१ ले साथ दिएको थियो। प्रतिष्ठानले चौतारास्थित श्रीकृष्ण रत्नगंगा माविमा गरेको मुटु स्वास्थ्बारे समुदाय सचेतनामूलक कार्यक्रममा पूर्व राजदूत केदार श्रेष्ठ, पूर्व गर्भनर दिपेन्द्रपुरुष ढकालले सहजिकरण गरेका थिए भने स्थानीय सरकारका प्रतिनिधि, विभिन्न सरकारी कार्यालकाका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता थियो। २०६५ सालमा स्थापना भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुपाल्चोक शाखाले मुट स्वास्थ्यबारे विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ।