बालबालिकाको निःशुल्क क्यान्सर उपचार सुरु
काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालले बालक्यान्सर उपचारको निःशुल्क सेवा शुभारम्भ गरको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार एक कार्यक्रमकाबीच १४ वर्षमुनिका बालबालिकाको उपचारको निःशुल्क सेवा शुभारम्भ गरेका हुन्।
मन्त्री पौडेलले आफूले सरकारसामु निःशुल्क उपचारको प्रस्ताव मात्र राखेको र त्यस प्रस्तावलाई कार्यान्वयनमा ल्याउन अस्पतालका हरेक कर्मचारीहरू अग्रसर भएर मेहनत गरेको बताए। हाल भक्तपुर क्यान्सर अस्पतालमा १५० जना बालबालिकाको निःशुल्क उपचार भइरहेको पौडेलले जानकारी दिए। त्यसैले १५० जना बालबालिकालाई उपचार गर्न आवश्यक पर्ने स्रोतसाधनको तयारी गरिसकिएको पौडेलले जनाए। मन्त्री पौडेलले उपचार गर्न आउने बालबालिकाको संख्या बढेमा आवश्यकता अनुसारको स्रोतसाधन जुटाउने प्रतिबद्धता पनि जनाए।
बालबालिका नै राष्ट्रको भविष्य भएकाले उनीहरूलाई स्वस्थ राख्नु राज्यको दायित्व भएको मन्त्री पौडेलको भनाइ छ। आगामी माघ २२ गते करिब १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) भ्याक्सिन लगाउने योजना रहेको मन्त्री पौडेलले जानकारी दिए।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य उपचारलाई सेवा भन्दा पनि व्यापारका रूपमा हेर्ने गरिएको जनाए। ठूलो परिवर्तन ल्याउन नसकेपनि संविधानको मर्म अनुसार जनसाधारणलाई स्वास्थ्य सेवा दिने विषयलाई कार्यान्वयन गर्न सकेमा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुग्ने प्रजापतिको भनाइ छ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक उज्जवल चालिसेले उपत्यका बाहिरबाट क्यान्सर उपचार गर्न आउने बालबालिकाका लागि अस्पतालले निःशुल्क यातायातको व्यवस्था गरेको जानकारी दिए। हिँड्डुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई भने घरमै गएर उपचार पनि गरिदिने व्यवस्था भइरहेको चालिसेले जनाए। बालबालिकालाई लागेको रोग क्यान्सर हो भन्ने पत्ता लगाउने क्रममा नै धेरै खर्च भईसक्ने हुनाले उपचार सुरु गर्दा आर्थिक समस्या धेरै आउन सक्ने चालिसेको भनाइ छ।
सरकारले बालबालिकाको उपचार निःशुल्क गरिदिने घोषणा भएपछि भने बालबालिकाको उपचार गर्न उनीहरको परिवारलाई निकै सहज हुने चालिसेले बताए।