जापानिज इन्सेफ्लाइटिसको जोखिम
यही वर्ष मत्थर भए पनि वर्षायामको सुरुवातसँगै तराई, भित्री मधेस र मधेसका जिल्लाहरूमा जापानीज इन्सेफ्लाइटिसले दुःख दिएको छ। २०८० पुस १७ यता हालसम्म शंकास्पद ९ सय २५ मध्ये ८० जनामा पुष्टि भइसकेको छ। संक्रमितमध्ये ३८ जनाले खोप लगाए नलगाएको जानकारी छैन भने खोप नलगाएका २३ र १९ जना मात्र खोप लगाएका बालबालिका छन्। संक्रमित ८० मध्ये २९ प्रतिशत अर्थात् २३ जनाको मृत्यृ भइसकेको छ। मृत्यृ कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिराहा, सुनसरी, धनुषा, पर्सा, काठमाडौं, रूपन्देही र झापा जिल्लाका छन्। अधिकांश १५ वर्षमुनिका छन। तर घरगाउँमा, औषधि पसल, निजी अस्पताल, नर्सिङ होम, निजी अन्य चिकित्सालय र भारतमा समेत संक्रमित संख्याले गर्दा तथ्यांक बाहिर धेरै गुणा हुन सक्छ।
विश्व स्वास्थ्य संगठनले पनि दक्षिण एसियाली क्षेत्रलाई औलो प्रकोपको केन्द्रबिन्दु र एसियाली क्षेत्रलाई इन्सेफ्लाइटिस प्रकोप केन्द्र मानेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष करिब ५० हजार संक्रमित, ११ हजार जतिको मृत्यु र ९ हजार जति यसैका कारण अपांग हुने गर्छन् जस्मा एसिया क्षेत्रबाटै करिब १० हजारको मृत्यृ हुन्छ। सन् १९२४ मा जापानमा देखिएको यो रोग, १९७८ मा भारतको उत्तरप्रदेशबाट नेपालको रूपन्देहीमा प्रवेश गरी महामारीको रूप लिएको थियो।
इन्सेफ्लाइटिस भनेको मानिसको स्नायु प्रणालीसँग सम्बन्धित रोग हो। महामारीको रूपमा पैmलिने इन्सेफ्लाइटिस जापानिज इन्सेफ्लाइटिस हो र कारक जापानिज बी इन्सेफ्लाइटिस भाइरस हो। जापानिज इन्सेफ्लाइटिस समूह बी को फलेवी भाइरसद्वारा हुने मस्तिष्कको वा दिमागको संक्रमण र सुजन हो जहाँ पिप हुँदैन।
मुख्य स्रोत सुंगुर भए पनि अन्यमा बंगुर, हाँस, कुखुरा, घोडा, गाई, भैंसी, राँगाजस्ता घरपालुवा र जंगली चरापक्षीको शरीरमा वा संक्रमित अवस्थामा फलोवी भाइरस अत्यधिक रहँदा क्युलेक्स जातको पोथी लामखुट्टेले टोकी मान्छेलाई टोकेर सार्दछ।
विपन्न वर्ग, प्रतिरोधात्मक शक्ति कम भएका, अज्ञान, बालबालिका (१५ वर्षमुनिका) र वृद्धवृद्धा (५० वर्षभन्दा माथिका) पर्दछन्। अति प्रभावित जिल्लामा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रूपन्देही, झापा, मोरङ, सुनसरी र पर्सा पर्दछन्। जनस्वास्थ्यका दृष्टिले यस रोगलाई ‘गरिबमा पनि अति गरिबको रोग’ को रूपमा परिभाषित गरिन्छ। सुँगुर, बंगुर र हाँस नै गरिबका सम्पत्ति, झुल किन्न नसक्ने आर्थिक हैसियत, जनचेतनाको कमी, रेडियो टीभीबाट दिइने जानकारीमा पहुँच नहुनु, रोग लागी सकेपछि उपचार खर्चको कमी वा डरले अस्पताल नपुग्ने वा उपचार गराउँदागराउँदै बीचैमा भाग्ने कारणले विपन्न वर्ग बढी प्रभावित देखिन्छन्।
संक्रमित लामखुट्टेले मानिसलाई टोकेको ५ देखि १४ दिन पछाडि प्रत्येक तीन सयदेखि पाँच सय जनामध्ये एक जनामा यो रोगका लक्षणहरू देखिन्छ। इन्सेफ्लाइटिस, मेनेन्जाइटिस वा फ्रेबाइल हेडेकका रूपमा देखिन सक्दछ। सुरुमा कम्पनसहितको उच्च ज्वरो, धेरै टाउको दुख्ने, बान्ता हुने, शरीर थरथराउने, जीउ गल्ने, स्वर बस्ने हुन्छ। पछि अरबोभाइरसले मस्तिष्कमा असर पुर्याई बेहोस हुने, ज्वरोसँगै बर्बराउने, मांसपेशी कडा हुने, घाँटी वा गर्धन कडा हुने, कम्पन हुने तथा स्नायुसम्बन्धी विकृतिले हातखुट्टा नचल्ने, मुख बांगिने, दिसापिसाब नियन्त्रण गर्न नसक्ने र पक्षघात हुन्छ। मन्द संक्रमणमा यी लक्षण नदेखिन पनि सक्छन्। रोग लागेको झन्डै ९ दिन भित्र नै रोगीको मृत्यु हुने गर्दछ। संक्रमितमध्ये २० देखि ४० प्रतिशतसम्मको मृत्यु हुने गर्दछ र बाँचेकामा पनि ४० देखि ७५ प्रतिशत जतिले स्नायु अपांगता भोग्नु पर्दछ। आँखा कान र बोली बन्द हुने, छारे रोग, बिर्सने रोग, सुस्त मनस्थिति, नसुन्ने, पक्षघातजस्ता रोग झेलिरहनु पर्दछ।
विशेष उपचार पद्धति र औषधि नभएकोले लक्षण तथा कारणअनुसार उपचार गर्न, ज्वरोको, बान्ताको, टाउको दुखाइका र स्टेरोवाइड, विषाणुविरुद्धको, कम्पनको औषधिको साथै अक्सिजन, सलाइन पानी दिने गरिन्छ र कम्पन छुट्ने, चेतना हराउँदै जाने र बेहोश हुनबाट जोगाइन्छ। ज्वरोको औषधि खाएको २–३ दिनसम्म पनि ज्वरो निको नभएमा, टाउको दुख्ने, बान्ता हुने, बर्बराउने, अचेत हुने र घाँटी अररो भएमा सकेसम्म चाँडै स्वास्थ्य संस्था पुग्नुपर्छ।
मृत्युको मुखमा पुर्याउने यो रोग र बचेमा पनि विकलांग भएर बाँच्नुपर्ने बाध्यताबाट मुक्त हुन एकातिर स्वास्थ्यसम्बन्धी जनचेतनाको वृद्धि र सरसफाइ छँदैछ, अर्कोतिर खोपको प्रयोग गरेर र संक्रमित लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट जोगिने उत्तम, राम्रोमात्र नभई सर्वोत्तम उपाय पनि हो।
सर्वोत्तम उपाय सरसफाइ र झुलको प्रयोग नै हो। घर र घर वरिपरिको झाडी फँडानी गर्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने, ढल, नाला सफा गर्ने र निकासको राम्रो व्यवस्था गर्नुपर्दछ। त्यस्ता ठाउँमा मोबिल, मट्टीतेल वा कीटनाशक औषधि छर्कने र घर वरपर सफा राख्नुपर्दछ। घरका ढोका झ्यालमा सम्भव भए तामा वा कासको नभए तारको जाली राख्नुपर्छ। जापानिज इन्सेफ्लाइटिस सार्ने लामखुट्टे धानबारीमा, जमेका पानीमा बढी हुने भएकोले समय–समयमा धानबारीमा र खाल्टाखुल्टीमा कीटनाशक औषधि छर्नुपर्छ। घर बाहिर नसुत्ने, साँझपख घरबाहिर सुत्दा वा काम गर्दा पूरा शरीर ढाक्ने लुगा लगाउनुपर्दछ। घर बाहिर वा भित्र सुत्दा झुल टाँगेर सुत्नु पर्दछ।
भाइरसको घर मानिने, छाडा गाईबस्तु, पशुपक्षी, कुखुरा, विशेषगरी सुँगुर, बंगुर र हाँस भरिसक्य एउटै घरमा नभए घरसँगै जोडिएको स–साना झुपडीमा नपाल्ने र पालेतापनि घर टाढा, जालीवाला सफा वाकसमा व्यवस्थित ढंगले पाल्ने गर्नुपर्दछ।
तथापि लामखुट्टे किरा, फट्याङग्रा आदिबाट बच्न धुप बाल्ने, म्याट बाल्ने, मल्हम दल्ने, स्प्रे गर्ने, लामखुट्टे र किरा फट्याङग्राविरुद्ध लिक्विड प्रयोग गर्ने चलन बढ्दो छ। स्वास्थ्यका दृष्टिले रसायनको प्रयोगले श्वासप्रश्वास, छालामा नराम्रो असर पार्नुका साथै वाकवाकी लगाउने, टाउको दुखाउने, बान्ता गराउने गर्दछ।
लाइभ एक्टिभेटेड (मरेको विषाणु, खोपमार्फत दिइने) र इनएक्टिभेटेड ( विषाणु ज्युँदै हुन्छ तर रोग लगाउन नसक्ने गरी कमजोर बनाइएको ) दुई किसिमका खोप हुन्छन्। लाइभ इनएक्टिभेटेडमा साइड इफेक्ट कम भएको, रोग नलागी शतप्रतिशत सुरक्षित भएको, खर्च सस्तो पर्न जाने भएकोले एक मात्रा खोप सही ठहर्याई सरकारको राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी निःशुल्क प्रदान गरिरहेको छ। केटाकेटीलाई यस रोगविरुद्ध खोप एक वर्षभित्र नभए पाँच वर्षसम्म दिनु पर्दछ। किनभने कुल संक्रमितमध्ये ५० प्रतिशत बढी १ देखि १५ वर्षका बालबच्चा पर्दछन्। यसैगरी बंगुर, सुँगुरमा पनि भ्याक्सिनेसन गर्न कृषि मन्त्रालयलाई आग्रह गरिनु पर्दछ। खोप लगाइसकेपछि यस्ले काम गर्न एक महिना लाग्छ। प्रकोप देखिने र खोपको दायरा कम भएका स्थानहरूमा विशेष खोप अभियान सञ्चालन गर्नु जरुरी छ।
(डा. बुढाथोकी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्।)