अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनी मालामाल, श्रमिक मारमा

अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनी मालामाल, श्रमिक मारमा

काठमाडौं/भैरहवा/पोखरा : सामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको केन्द्र दुबईको भाडा हाल दोब्बरले बढेको छ। अर्थात्, ९० हजार नेपाली रुपैयाँमा एकतर्फी जहाजको टिकट पाए, भाग्यमानी ठान्नुपर्ने अवस्था छ। कतारको हवाई भाडा पनि उसैगरी बढेको छ। विगतमा ३० हजारसम्म एकतर्फी भाडा थियो। हाल काठमाडौंबाट कतार जान ८० हजारसम्म हवाई भाडा तिर्नुपर्ने अवस्था छ। पछिल्लोपटक नेपाली विद्यार्थीको मुख्य गन्तव्य बनेको जापानको हवाई भाडा वृद्धिको त कुरै नगरे हुन्छ। ६० हजारसम्म हवाई भाडा लाग्ने गरेको जापान पुग्न हाल १ लाख ३० हजार बढी तिर्नुपर्छ। मलेसियाको हवाई भाडा पनि दोब्बर बढीले बढेको छ। अर्थात्, नेपाली विद्यार्थी र श्रमिक जाने गन्तव्यको हवाई भाडा वृद्धि देख्दा जिब्रो टोक्नुपर्ने अवस्था छ। 

किन बढ्यो एक्कासि भाडा ? 

null

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि १० घण्टा बन्द गर्ने निर्णय गर्‍यो। अन्तर्राष्ट्रिय विमानका केही उडान कटौती भए। अनि, हतार–हतार अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले हवाई भाडा बढाए। यात्रुको चाप बढेको, तर अन्तर्राष्ट्रिय हवाई उडान कटौती भएको भन्दै अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपाली श्रमिक र विद्यार्थीको ढाड सेकिने गरी हवाई भाडा बढाए। जबकी, सरकारले त्रिभुवन विमानस्थलमा उडान कटौती भएकालाई भैरहवा र पोखराबाट सेवा सुरु गरेर ‘क्षतिपूर्ति’ असुल्न आग्रह गर्‍यो। त्रिभुवन विमानस्थलमा हुने ३० प्रतिशत उडान कटौतीलाई व्यवस्थापन गर्न नागरिक उड्डयन प्राधिकरणले २० प्रतिशत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट र १० प्रतिशत पोखराबाट उडान गराउने विकल्प दिएको थियो। यी विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट दियो। यस्तै, ल्यान्डिङ-पार्किङलगायत सबैमा निःशुल्क व्यवस्था गर्‍यो। यस्तै, यात्रुलाई ३ हजार विमानस्थल शुल्क, १ हजार पर्यटन शुल्क र १३ प्रतिशत मूल्यअभिवृद्धि कर पनि छुट दियो। तर, पुरानो भाडा कायमै राख्नुको सट्टा अन्तर्राष्ट्रिय विमान सेवाले ह्वात्तै भाडा बढाए। ५० देखि ३०० प्रतिशतसम्म भाडा वृद्धि गरेर मनलाग्दी गरे। उनिहरूलाई समयमै सचेत नगर्ने हो भने सर्वसाधारण- श्रमिक मारमा पर्ने सरोकारवाला बताउँछन्। भैरहवामा ४ उडान, पोखरा सुनसान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विस्तारको काम भइरहेको छ। विमानस्थलको रनवे (धावनमार्ग) को दुवै विन्दुलाई छुने प्यारालाल ट्याक्सी वे विस्तारको काम अघि बढाउन दैनिक १० घन्टा बन्द गरिएको हो। त्रिभुवन विमानस्थलको यात्रु चाप कम गर्न गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने सरकारको निर्णय गर्‍यो। गौतमबुद्धमा दैनिक ४ उडान भइरहेका छन। तर, पोखरा सुनसान छ। त्रिभुवन विमानस्थलमा यात्रुको चाप मारामार छ। त्यसको असर हवाई भाडादरमा परेको छ। 

कात्तिक २३ गतेबाट आगामी चैत १८ गतेसम्म विमानस्थल १० घण्टा बन्द हुनेछ। त्यसैकारण ३० प्रतिशतले उडान कटौती भएका छन्। साविकको भन्दा औसत ३ सय प्रतिशतले हवाई भाडा बढेको छ। उडान संख्या कम तर यात्रुसंख्या बढी भएका कारण विदेश यात्रा असहज बनिरहेको छ। आन्तरिक तथा बाह्य उडानमा एक त टिकट पाउन गाह्रो छ। पाइहाले निकै महँगो छ। नियामक निकायले हवाई भाडा नियमन नगरेको सर्वसाधारणको गुनासो छ। 
३० कम्पनीका उडान 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ ७ र अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्ससहित ३० कम्पनीले उडान भर्दै आएका छन्। आन्तरिक उडानलाई प्राधिकरणले नियमन तथा नियन्त्रण गर्दै आएको छ। अन्तर्राष्ट्रिय उडानका सम्बन्धमा भने हवाई सम्झौताअनुसार अघि बढ्नुपर्ने हुन्छ। नेपालले हालसम्म ४२ देशसँग हवाई सम्झौता गरेको छ। हवाई सम्झौताको आर्टिकल १५ का अनुसार अन्तर्राष्ट्रिय हवाई उडानको भाडादर सम्बन्धित कम्पनीको क्षेत्रीय नाफा र प्रतिस्पर्धी बजारको आधार हुने भनिएको छ। प्राधिकरणले दुई सरकारबीच भएको सम्झौतालाई उल्लंघन गरेर कुनै पनि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई कारबाही गर्न नसक्ने नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन्। नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय बजार विस्तार गर्न नसक्दा यसको असर अहिले देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्। अन्तर्राष्ट्रियतर्फ त्रिभुवन विमानस्थलबाट दैनिक ७२ उडान हुने गरेकोमा हाल ६२ उडान भइरहेका छन्। भैरहवामा दैनिक ४ अन्तर्राष्ट्रिय उडान भइरहेको छ। 

भैरहवामा आरएनपीएआर प्रविधि 

भैरहवामा भीओआरडीएमी एप्रोचबाट विमान उडान-अवतरण भइरहेका छन्। यो प्रविधिका लागि भिजिबिलिटी १८ सय मिटर चाहिन्छ। तर, अब भैरहवामा आरएनपीएआर प्रविधिको प्रयोग गरिँदैछ। यो एप्रोच परम्परागत र आधुनिक एप्रोज बीचको एप्रोज हो। हुन त भैरहवामा इन्स्टु«मेन्ट ल्यान्डिङ सिस्टम(आइएलएस) छ। तर, भारतको अनुमति नपाएर यो प्रणाली लागू हुन सकिरहेको छैन। त्यसको विकल्पका रूपमा आरएनपीएआर एप्रोच लागू गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन्।

यो भनेको सेटेलाइट बेस नेभिगेशन प्रणाली हो। ग्राउन्डमा कुनै पनि प्रविधि जडान गर्नु नपर्ने र प्रणाली (प्रोसिडियर) को कार्यान्वयनमा मात्र ध्यान दिनुपर्ने हुँदा यसलाई प्रयोगमा ल्याउन सकिने भूलले बताए। ‘प्रोसिडियर डिजाइनअन्तर्गत जहाज कसरी ल्यान्ड गर्ने, कुन एप्रोचमा गर्ने, कसरी टेकअफ गर्ने त्यसको एप्रोज प्रोफाइल कस्तो हुने, स्ट्यान्डर्ड इन्टु«मेन्ट डिपाचर सिट लगायत सबै डिजाइन भइसकेको छ,’ उनले बताए। यो डिजाइनको भ्यालिडेसन(जाँच) २ प्रकारले गरिन्छ। एउटा ग्राउन्ड भ्यालिडेसन र अर्को फ्लाइट भ्यालिडेसन हुन्छ। योमध्ये एउटा गर्दा हुन्छ। प्राधिकरणले अहिले ग्राउन्ड भ्यालिडेसन गर्दैछ। फ्लाइट भ्यालिडेसन स्पेशल एयरक्राफ्ट ल्याएर गराउनुपर्ने भएकाले समय लाग्छ। यस कारण प्राधिकरणले ग्राउन्ड भ्यालिडेसन लागू गर्न लागेको उनले बताए। यसपछिको अर्को आवश्यकता भनेको सिमुलेटरी रिक्वायरमेन्ट हो। यसमा ग्राउन्ड भ्यालिडेसन गराइसकेपछि सिम भ्यालिडेसन गराउनुपर्छ। सिम भनेको विमान अवतरण गराउनका लागि विमान, पाइलटले के के आवश्यकता पूरा गर्नुपर्छ भन्ने जाँच गरिन्छ। आरएनपीएआर ग्राउन्डमा लागु गर्न विमान, पाइलट र क्रु मेम्बरले प्राधिकरणले बनाएको सिमुलेटरी रिक्वायरमेन्ट म्याच गर्नुपर्ने हुन्छ। यसपछि मात्र त्योजहाज गौतमबुद्ध वा त्रिभुवन विमानस्थलमा अवतरण गर्न सक्छ। माघको अन्तिम हप्ता वा फागुनको पहिलो हप्तासम्म आरएनपीएआरको प्रावधान तयार गर्ने योजना रहेको बताइएको छ। काठमाडौंमा आरएनपीएआर करिब ११ सय मिटर र गौतमबुद्धमा ८ सयदेखि ९ सय मिटरको बीचको भिजिबिलिटीमा ल्यान्ड गर्न सकिने भूलले जानकारी दिए। जाडोसमयमा विहान हुन सक्ने कम भिजिबिलिटीलामा पनि जहाज अवतरण गर्न यो उपयोगी हुनसक्ने भनिएको छ। यसले फ्लाइट डाइभर्सनलाई पनि कम गर्ने अपेक्षा गरिएको छ। 

 भैरहवामा रौनक 

nullअन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेपछि भैरहवा र वरिपरिका क्षेत्रमा रौनक छाएको छ। नेपाल एयरलाइन्स, जजिरा एयरवेज, थाइल्यान्डको थाई एयर एशिया, संयुक्त अरब इमिरेट्स(यूएई) को फ्लाई दुबई र कतारको कतार एयरवेजले नियमित उडान थालेका छन्। नेपाल एयरलाइन्सले सातामा चार दिन काठमाडौं–भैरहवा–दुबई–काठमाडौं र जजिरा एयरवेजले सातामा तीन दिन कुवेत–भैरहवा उडान गरिरहेका छन्। यस्तै, थाई एयर एसियाले सोमबार र बिहीबार बैंकक–भैरहवा सिधा उडान गरिरहेको छ। 

त्यस्तै फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई र कतार एयरवेजले दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडान भरिरहेका छन्। यहाँबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएपछि निजी क्षेत्र उत्साहित छ। आगनबाटै विदेश जान पाउँदा सर्वसाधरणलाई सहज भएको छ। होटेल व्यवसाय समेत फस्टाउने व्यवसायीको अपेक्षा छ।

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुँदा यस क्षेत्रको पर्यटन क्षेत्र पनि उत्साहित छ। ‘विमानस्थल निर्माण सुरु भएदेखि यहाँ पर्यटन क्षेत्रमा लगानी लगाउन सुरु भइसकेको थियो। लगानीको प्रतिफल नपाउँदा व्यवसायी निराश थिए’, भैरहवाका पर्यटन व्यवसायी अमितकुमार गुप्ता भन्छन्, ‘अब अन्तर्राष्ट्रिय उडानले केही आशा पलाएको छ।’

उनले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानले यो क्षेत्र विभिन्न मुलुकसँग सीधा रूपमा जोडिने हुँदा पर्यटन क्षेत्रका साथै यो क्षेत्रको कारोबार फस्टाउने विश्वास लिइएको बताए।

‘भैरहवा विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान हुँदा हामी हर्षित छौं’, उनले भने, ‘अझै यहाँ नआएका एयरलाइन्सहरूलाई सरकारले ल्याउनुपर्छ र प्रबद्र्धनका लागि यस क्षेत्रका होटल व्यवसायी, स्थानीय सरकार, प्रदेश सरकार लगायतले सहजीकरण गर्नुपर्छ।’

विमानस्थलको सबैभन्दा बढी प्रयोग वैदेशिक रोजगारीमा जाने सर्वसाधारणहरूले गरिरहेका छन्। यहाँबाट विदेश जान सुरुवात भइसकेको छ। शनिबार मात्रै परिवारसहित दुबई भ्रमण गरेर फर्किएका भैरहवाका उद्योगी अजयकुमार गुप्ताले आफ्नै घरआगनबाट विदेश भ्रमण गरेर आउन पाउँदै अत्यन्तै खुसी लागेको बताए। ‘भैरहवाबाट गएर भैरहवामै ओर्लिन पाउँदा धेरै राम्रो लाग्यो। पूर्ण सन्तुष्ट छौं’, उनले भने, ‘भर्खर विमानस्थल सञ्चालनमा आएको छ। केही कमी कमजोरी होलान्। त्यो सुधार गर्दै लैजाने विषय हो।’

उनी जस्तै अन्य उद्योगी, व्यवसायी, सर्वसाधारणहरू पनि वैदेशिक रोजगारी, भ्रमणमा जान थालिसकेका छन्। ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरुवात भएको छ। हामी उत्साहित छौं’, नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट लुम्बिनी प्रदेशका सदस्य वरुण ज्ञवालीले भने, ‘यहाँबाट उडान गर्ने एयरलाइन्सहरूलाई हामी यात्रुदिन सुरु गरेका छौं र निरन्तर दिइरहन्छौं।’

null०७९ सालदेखि भैरहवामा श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय सञ्चालनमा छ। जसले पूर्वश्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिने गरेको छ। सबैभन्दा बढी व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिइएको छ। हाल दैनिक एक सय जनालाई पुनः श्रम स्वीकृति र ५० जनालाई व्यक्तिगत नयाँ श्रम स्वीकृतिको सेवा प्रवाह भइरहेको कार्यालयले जनाएको छ।

विभागले पूर्व श्रम स्वीकृति सेवा बन्द गर्नु र म्यानपावर व्यवसायीले पनि काठमाडौंबाटै पूर्व र अन्तिम श्रम स्वीकृति सेवा लिने हुँदा वैदेशिक रोजगारीमा जाने यात्रु यीलगायत अन्य कारणले काठमाडौं पुग्नुपर्ने बाध्यता छ। वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारीले भैरहवा क्षेत्रबाट आफूहरू सेवा प्रदान गर्न तयार रहेको तर सरकारले व्यवसायीहरूको समस्या पनि समाधान गर्नुपर्ने बताउँछन्।

‘विमानस्थल सञ्चालन आइसकेको अवस्थामा पनि श्रम स्वीकृति, स्वास्थ्य जाँचका जस्ता कार्यका लागि सर्वसाधारण काठमाडौं पुग्नुपर्ने बाध्यता छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सरकारले त्यसको अन्त्य गर्नुपर्छ। निजी क्षेत्रले त्यसका लागि के गर्नुपर्छ ? सरकारले भन्नु पर्‍यो। हामी तयार छौं।’

सरकारले काठमाडौंमा रहेका म्यानपावरलाई अनिवार्य यस क्षेत्रमा शाखा विस्तार गर्न लगाउनुपर्ने, स्वास्थ्य जाँचको व्यवस्था यसै क्षेत्रबाट गराउनुपर्ने, बौद्धिष्ट मुलुकहरूका एयरलाइन्सहरूलाई ल्याउनुपर्नेलगायत निजी क्षेत्रको माग छ। यी सबै कार्यमा सरकारको तीव्रता नदेखिँदा काठमाडौं विमानस्थल मर्मत अवस्थासम्मका लागि विकल्पको रुपमा मात्र भैरहवा विमानस्थल संचालनमा ल्याइएको भन्ने उनको आशंका छ।

शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रित गरी विमानस्थल निर्माण गरी सञ्चालनमा ल्याइए पनि चीन, श्रीलंका, भियतनाम जस्ता मुलुकबाट बौद्धिष्ट पर्यटक भित्र्याउनका लागि उक्त देशका एयरलाइन्ससँग छलफल गरेर भैरहवाबाट उडान गर्न लगाउनुपर्नेमा उक्त कार्य नदेखिएको उनको भनाइ छ।

‘विमानस्थल निर्माणलाई देखेर यस क्षेत्रमा सुरुमा गरिएको लगानी बीचमा रोकेको थियो’, उनले भने, ‘तर अब विमानस्थल सञ्चालन भइसकेकाले निर्माणकार्य फेरी सुचारु गरेर जुर्मुराएका छौँ। सरकारले आशामा पानी नफेरिदियोस्।’

होटल व्यवसाय चलायमान गराउनका लागि विमानस्थललाई लक्षित गर्दै भैरहवामा श्रमसम्बन्धीका कार्य, स्वास्थ्य जाँच, म्यानपावर शाखाको विस्तारका कार्य तत्काल गर्नूपर्ने सिद्धार्थ होटल एसोसिएसनका सदस्य कैलाश गुप्ता बताउँछन्। ‘वैदेशिक रोजगारीका लागि जाने बढी सर्वसाधरण भैरहवामा होल्ड नभएसम्म होटल व्यवसाय राम्ररी चल्दैन’, उनी भन्छन्, ‘जसका लागि म्यानपावरका शाखाहरू भैरहवामा खोल्नुपर्छ र स्वास्थ्य जाँचका लागि यहाँका स्वास्थ्य संस्थाहरूलाई विदेशी मुलुकबाट मान्यता प्राप्तीका लागि सरकारले भूमिका खेल्नुपर्छ।

पोखरा अझै सुनसान 

nullपोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुनसान छ। यो विमानस्थल ८ वटा अन्तर्राष्ट्रिय चाटर्ड उडानमै सिमीत छ। सन् २०२३ को पहिलो दिन अर्थात् १७ पुस २०७९ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गरेका थिए। आन्तरिक उडान गरेरै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग पोखराका पर्यटन व्यवयासीले गर्दै आएका छन्।

सरकारी अधिकारीले भने अन्तर्राष्ट्रिय उडानका लागि सरकारले सहुलियत प्याकेज दिएर सबै एयललाइन्स कम्पनीहरूलाई अनुरोध गरिएको र छिट्टै नै नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वास दिलाउँदै आएका छन्। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि कोसिस भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी भुलले बताए।

नियमीत अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न देशका वायुसेवा कम्पनीसँग आवश्यक छलफल भइरहेको पनि उनले बताए। नेपाल एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान गर्न क्यानले पत्र पठाएको उनले बताए। हिमालयन एयरलाइन्सले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि आन्तरिक तयारी गरिरहेको पनि क्यानका सूचना अधिकारी भूलले सुनाए। अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग समन्वयका लागि अनुरोध गर्ने, सहुलियत प्याकेज घोषण गर्ने काम भइरहेको पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले बताए। हिमालयन एयरलाईन्स र नेपाल एयरलाइन्सले कम्तीमा नियमीत उडानका लागि सुरुवात गरौं भनेर अनुरोध गरिएको पनि उनले बताए। 

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री, २४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई टिकटको सुलभता र सहजतालाई कायम राख्ने सहमति गरेको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। हवाई टिकट र हवाई भाडालाई सन्तुलन गर्नका लागि एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज गर्ने निर्णय भएको थियो। यस्तै, द्विपक्षीय हवाई सेवा सम्झौताको प्राइसिङ शीर्षकमा उल्लेख भएअनुसार उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने प्रावधानको पूर्णतः पालना गर्नु भनी अवगत गराइएको थियो। यसका साथै हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्न पनि भनेको थियो। हवाईभाडा वृद्धिको चौतर्फी विरोधपछि संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। 

सरोकारवाला वायु सेवा कम्पनीहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री पाण्डेले उच्च मूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएका हुन्। ‘हामीले नागरिककै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौं। तर, त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ’, मन्त्री पाण्डेले भने, ‘नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ। यस विषयले म निकै दुखी छु।’

यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोश व्यक्त गरे। हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उनले राज्य र नागरिकप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे। 

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाईभाडा लिएको प्रतिसचेत गराए। विमान कम्पनीहरूले बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए। पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडावृद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पारे। मन्त्रालयका सचिव डा.गणेश पाण्डेयले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न गरे। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाईभाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृतिम अभाव देखाउँदै कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.