उदयपुरमा तेस्रो खाना परिकार मेला
उदयपुर : उदयपुरमा तेस्रो खाना परिकार मेला तथा कोशी प्रदेश स्तरीय प्रतियोगितात्मक लाखे नाच महोत्सव हुने भएको छ। झिगु नेवाः पुचः गाईघाटले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी बारे जानकारी गराएको हो।
आउँदो पुस १ देखि ८ गतेसम्म सदरमुकाम गाईघाटमा आयोजना गरिएको मेलामा जिल्लाका विभिन्न जातजातिका स्थानीय परिकार प्रदर्शनी, बिक्री वितरण र नेवार समुदायको कोशी प्रदेश स्तरीय लाखे नाच प्रतियोगिता रहने अध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठ बताए।
मेलाले निम्न आयस्तर भएकाहरूलाई आत्मनिर्भर र होमस्टे सञ्चालनका लागि मद्दत पुग्ने उनले बताए। मेलामा जिल्लाको पहिचान झल्कने गरी विशेषगरी मकैको खाना, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, भुटेको मकै, खीर, सेलरोटी, फापरको परिकार, नेवार समुदायको यमरी, दनुवारको अन्डी, थारुको घुगी जस्ता परिकारहरू मेलाका प्रमुख आकर्षक रहने उनले बताए।
बाह्य पर्यटक भित्र्याउन, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र आर्थिक अवस्था कमजोर भएका व्यवसायीलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको सचिव गोपाल श्रेष्ठले बताए। करिब ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ आयोजना गरिएको मेलामा स्थानीय परिकारको बिक्री वितरण, विभिन्न जातजातिका भेषभुषा, नृत्य तथा झाँकी, छमछमी सिजन–४, वडा स्तरीय भजन कीर्तन टोली बीच प्रतियोगिता, शंख फुक्ने, थारु जतिको पारस्परिक नृत्य, राई जातिको चण्डी नाच, कोशी प्रदेश भरीको लाखे नाच प्रतियोगिताका कार्यक्रम राखिएको उनले बताए।
अध्यक्ष श्रेष्ठले सामुहिक प्रतिवद्धता र सहकार्यको थालनी, लोक संस्कृतिको जगेर्ना गर्ने, होमस्टेको अवधारणा अनुसार यसको प्रावधानलाई अघि बढाउने, विभिन्न जातजाति बीच सांस्कृतिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य रहेको बताए।
उनले जिल्लाभरी छरिएर रहेका जातजातिहरूको पहिचान कला भेषभुषा रहन सहन धार्मिक तथा सांस्कृतिक परम्परागत तथा साहित्यको पहिचान एवम् सूचना गर्ने उद्देश्य रहेको बताए। महोत्सवबाट बचत भएको रकम सांस्कृतिक संग्रहालय र स्वास्थ्य शिविरहरूमा खर्च गरिने सचिव श्रेष्ठले जानकारी दिए।
उपाध्यक्ष विजय तुलाधरले सबैभन्दा धेरै धनराशीको कोशी प्रदेश स्तरीय लाखे नाच प्रतियोगितामा विजेताले नगद एक लाख पाउने छ जसको प्रयोजन त्रियुगा नगरपालिका मेयर वसन्त बस्नेतले र उपविजेताले नगद ७५ हजार कटारी नगरपालिकाको मेयर राजेशचन्द्र श्रेष्ठले र तेस्रो हुनेलाई ५१ हजार त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले उपलब्ध गराउने छन्।