उदयपुरको रौतामाई - ६ लाई बालमैत्री वडा घोषणा

उदयपुरको रौतामाई - ६ लाई बालमैत्री वडा घोषणा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका- ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । वडा कार्यालय परिसर चिसापानीमा आयोजित एक कार्यक्रमकाबिच कोशी प्रदेश सरकारका पूर्ववन तथा पर्यटनमन्त्री एवं प्रदेश सभा सदस्य नारायण बुर्जा मगर र रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले लालिगुँरासको विरुवा रोपेर बालमैत्री वडा घोषणा गरेका हुन् । 

नेपाल सरकारले तय गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७९ले तोकेका ५१ सूचक पुरा गरेसँगै वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष पृथ्वीकुमार राईले बताए । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जाल्पा एकीकृत विकास समाज उदयपुर र हुरण्डेक उदयपुरको सहजीकरणमा वडालाई बालमैत्री वडा घोषणा गरिएको उनले बताए । 

कार्यक्रममा बोल्दै पूर्वमन्त्री बुर्जामगरले रौतामाई गाउँपालिका पर्यटन,पूर्वाधारसँगै सामाजिक विकासमा समेत अब्बल भएको बताए । उनले बालमैत्री वडा घोषणासँगै यसका सूचकहरूलाई निरन्तर अद्यावधिक गर्दै जानुपर्ने बताए । पर्यटन र पूर्वाधार क्षेत्रको विकासमा आफू दुईपटक प्रदेशसभा सदस्य भइरहँदा रौतामाई गाउँपालिकालाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको उनले सुनाए ।

गाउँपालिका अध्यक्ष आलेमगरले वालमैत्री वडा घोषणालाई व्यवहारिकरुपमै लागू गर्न सके मात्र यसले सार्थकता पाउने बताए । उनले भने,‘हामीले त सूचकहरू पूरा गर्न सहयोग गर्दै आएका हौँ। यसलाई निरन्तरता दिने वडानं ६ बासीकै हो, त्यसैले चुनौतीलाई पार गर्दै कार्यान्वयनमा ल्याउनुहोस् ।'

अध्यक्ष मगरले बालमैत्री वडा घोषणालाई उत्सवको रुपमा मनाउँदै बालमैत्री व्यवहारहरू घोषणा गरिएको क्षेत्रमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । गाउँपालिका उपाध्यक्ष भुपिन्द्रबहादुर थापाले तन,मन र वचनले सबै लागिपरे मात्र घोषण कार्यान्वयन सफल रहने बताए । उनले कार्यान्वयन चुनौतीपूर्ण भए पनि यसलाई निरन्तरता दिनका लागि गाउँपालिका लागि पर्ने बताए ।

कार्यक्रममा विद्यालयका बालबालिकाहरूले सांस्कृतिक कार्यक्रम, बालविवाहसम्बन्धी सडक नाटक,स्थानीय भाषा र समुदाय अनुसारका संगिनी, चण्डि नाँच प्रस्तुत गरेका थिए । कार्यक्रममा वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरूलाई सम्मान गरिएको थियो ।

योसँगै बालमैत्री घोषणा हुनेमा उदयपुरको रौतामाई गापा ६ चौथो पर्दछ । यसअघि सोही पालिकाको केन्द्र रहेको वडा नम्बर -२ भुट्टार, वडा नम्बर ४ पोखरी, वडानं ८ पुवाँरेलाई घोषणा गरिएको थियो । बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रही बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ ।

५१ सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टिटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ । 

त्यसैगरी एक वर्ष भित्रका बालबालिकालाई पूर्णखोप,सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको संख्यामा कमि हुनु पर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त भएको हुनुपर्दछ । 

त्यस्तै छाउपडी, कमलरी जस्ता सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, विद्यालय तथा स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लबको प्रतिनिधित्व, बाल भेला भई आएका योजनाहरू समावेश भएकोलगायतका कार्य हुनुपर्ने निर्देशिकामा उल्लेख छ । 

बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडा सचिव भिमादेवी आचार्यले बताइन् । बालबालिकाको आवाज र विचारलाई बालबालिकासम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिइएको उनले बताइन् ।

कार्यक्रममा बोल्ने अन्यवक्ताहरूले बालमैत्री घोषणासँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । उनीहरूले बालिबालिकाको अवस्था र सूचक थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनीहरूले बालबालिकाको समग्र वृत्तिविकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजना तर्जुमा गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.