मुस्ताङमा ३४४ कुकुरको बन्ध्याकरण
जोमसोम : मुस्ताङमा अत्यधिक रूपमा घरपालुवा तथा अनधिकृत छाडा कुकुरले दुःख दिने गरेपछि कुकुर नियन्त्रण अभियान सञ्चालन गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको संयुक्त आयोजना तथा केन्द्रीय रिफरल पशु चिकित्सालयको समन्वय सहकार्यमा ५ पालिकाका ३४४ वटा घरपालुवा तथा अनाधिकृत छाडा कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिनसहित स्थायी बन्ध्याकरण गरिएको हो।
गत कात्तिक २६ गतेदेखि उपल्लो मुस्ताङको लोमान्थाङदेखि सुरु गरिएको कुकुर नियन्त्रण अभियान बुधबार मुस्ताङको थासाङ गाउँपालिकामा पुगेर समापन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा. लालमणि अर्यालले जानकारी दिए।
कुकुरलाई रेबिज तथा बन्ध्याकरण गर्नका लागि ड्राट गन र पासो थापेर नियन्त्रणमा लिइएको थियो। कुकुर नियन्त्रण अभियानमा सम्बन्धी क्षेत्रका स्थानीय नागरिकहरूले समेत सहयोग पुर्याएको डा. अर्यालले बताए।