राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बेनी : म्याग्दीको बेनी नगर र मंगला गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ।
बेनीको खुल्लामञ्जमा सञ्चालित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजा (खमबहादुर) गर्बुजा र मंगला गाउँपालिका–५ शेराफाटमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे।
बेती र शेरफाँटमा तीन दिनसम्म सञ्चालन हुने बेनीको प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पससहित २६ वटा विद्यालय र शेराफाटमा सञ्चालित मंगलाको प्रतियोगितामा नौवटा विद्यालयको सहभागिता छ। बेनीमा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टतर्फ गरी ३३ वटा खेलमा प्रतिस्पर्धा हुने बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले बताए।
प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले रनिङ शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्रसहित क्रमशः ५१ हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। भलिबल, कबड्डी र एथलेटिक्स विद्यामा ३० वटा खेलमा प्रतिस्पर्धा मंगलाको विजेतालाई नगद ५० हजार रुपैयाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने उनले बताए।
द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद ३० हजार र २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए।