वीरगन्जमा ठूलो परिमाणमा गाँजासहित तीनजना पक्राउ
वीरगन्ज : वीरगन्जमा प्रहरीले मालबाहक मिनी ट्रकको कन्टेनरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले ८५ किलोग्राम गाँजासहित ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकका चालक सिन्धुपाल्चोकको बलेफी गाँउपालिका वडा नम्बर ६ का ३६ वर्षीय शान्त बहादुर तिमिल्सिनासँगै उक्त मिनी ट्रकमा सवार मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ९ का ४८ वर्षीय प्रेम रूम्बा र मकवानपुरकै कैलाश गाउँपालिका वडा नम्बर १ का ३८ वर्षीय सूर्य बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार,विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता, लागुऔषध नियन्त्रण ब्यूरो पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार बिहान ३:३० बजेतिर वीरगन्ज–१६ बाइपास सडकमा कन्टेनर लोड गरिएको उक्त मिनी ट्रक रोकेर चेकजाँच गरेको थियो ।
वीरगन्जको बसपार्कबाट रजतजयन्ति चोकतर्फ जाँदै गरेको उक्त मिनी ट्रक रोकेर चेकजाँच गर्ने क्रममा कन्टेनरभित्र ४ वटा सेतो प्लाष्टिकको बोरामा रातो प्लाष्टिकले बेरेर लुकाइ छिपाइ राखिएको लागुऔषध गाँजा ८५ किलोग्राम बरामद गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
बरामद लागूषध गाँजा र ट्रकसहित तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उनले बताए । पक्राउ परेका तीनजनामध्ये तिमिल्सिना ट्रकको चालक रहेको खुलेको तथा अन्य दुईजना भने ट्रकका सहचालक वा कारोबारी के हुन् भन्ने बारेमा खुल्न नसकेकाले अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्साले जानकारी दिए ।