झापामा १२ लाख बढीको लत्ताकपडा बरामद
झापा : झापाको कचनकवलबाट १२ लाख बढीको लत्ताकपडा बरामद भएको छ।
सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी दिनेश कटुवालको कमान्डमा खटिएको टोलीले शुक्रबार बिहान साढे ८ बजे कचनकवल गाउँपालिका–६ स्थित जाम खातुनको घरमा लुकाइछिपाई राखेको ६ बोरा लत्ताकपडा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डीएसपी मदनकुमार रसाइलीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको सो सामानको मूल्य १२ लाख २० हजार ६ सय तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइ सकेको छ।
त्यस्तै मेचीनगर नगरपालिका–६ स्थित सुँगुर ठ्याक बस्तीबाट सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको मोबाइल गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको १५ बोरा सुपारी र विभिन्न जातका फूलको बिरुवा बरामद गरेको थियो।
अन्दाजी १ लाख ८० हजारको सुपारी र ५७ हजारको बिरुवा बरामद गरेको जनाइएको छ। बरामद गरिएको बिरुवा नष्ट गरिएको छ भने सुपारी मेची भन्सार बुझाएको जनाइएको छ।