यो सरकारलाई कसैले हल्लाउन सक्दैन : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे।
'एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन आएको छैन। आफ्ना मान्छे भर्ती गरेको छैन। एमालेतिर औँला ठड्याएर बोल्नेहरूलाई चुनौती दिन चाहन्छु, तथ्य र प्रमाणका आधारमा बहस गर्न सक्नुहुन्छ?'
उनले धेरै प्रकारका मान्छेले धेरै प्रकारका हल्ला फैलाए पनि एमाले कागको पछि नलाग्ने स्पष्ट पारे। उनले सरकार गिराउने खेल भइरहे पनि त्यो सफल नहुने बताए। 'सरकार बन्दै बन्दैन, विश्वासको मत पाउँदै पाउँदैन। दसैं कट्दैन। तिहार कट्दैन भन्थे। अब त मंसिर पनि आयोग। उनीहरू फेब्रुअरी भनिरहेका छन्। कान खोलेर सुने हुन्छ। यो समीकरण मंसिर ०८४ सम्म चल्छ। ८३ असारसम्म मैले नेतृत्व गर्छु। कांग्रेस र एमालेले १८-१८ महिना सरकार चलाउँछ। त्यसमा कुनै भ्रम नराखे हुन्छ,' उनले भने।
उनले एमाले र कांग्रेस प्रतिस्पर्धी भए पनि देश विकासका निम्ति एक ठाउँमा उभिएको बताए। 'एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी पनि हुन्। तर, किन एक ठाउँमा छन्? प्रतिस्पर्धा भन्दा ठूलो कुरा देश निर्माण हो। अहिले देशमा अराजकता फैलाइएको छ। असंवैधानिक काम भइरहेको छ। लोकतन्त्रलाई खतरामा पार्ने, समाप्त पार्ने षड्यन्त्र भइरहेको छ। त्यसलाई दुई दल मिलेर चिर्नेछ। लोकतन्त्रका लागि ज्यान गुमाएका सहिदहरूको सपना खेर जान दिइने छैन। हामीले सडकमा संघर्ष गरेर ल्याएको यो स्वतन्त्रताहरू हामी छोड्न सक्दैनौं। तलमाथि पर्न दिइनेछैन। संविधानका मूल मर्म तलमाथि पर्न दिइने छैन,' उनले भने।