उपनिर्वाचनको परिणामले ०८४ को निर्वाचनको आधार बन्छ : महामन्त्री शर्मा
महोत्तरी : अगामी मंसिर १६ गतेको मत परिणामले नै २०८४ सालको निर्वाचनको आधार बन्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। शुक्रबार महोत्तरीको रामगोपालपुरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री शर्माले यस उपनिर्वाचनको परिणमले निर्वाचनको आधार बन्ने भएको जनाए।
महामन्त्री शर्माले उप निर्वाचनमा समेत कांग्रेस बहुसंख्यक ठाउँमा विजयी हासिल गरेर पहिलो दल बन्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, 'जनताको विगतदेखि भविष्यको सहयात्री बनेर सबैमा एकतावद्ध गर्ने पार्टी रहेको छ। नेपाली कांग्रेस टोपी र धोती दुबैलाई मिलाएर अगाडि बढ्ने दल हो। हिमाल, पहाड, मधेसका युवा र वृद्धलाई एक साथ लिएर बढ्ने पार्टी कांग्रेस हो। निर्वाचनमा जात, समुदाय, धर्म नहेरी कांग्रेस मतदान गर्नुपर्छ।’
रामगोपालपुर वडा नं. २ मा नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँसँगै महामन्त्री शर्माले गाउ घुमेर मतदातासँग मत मागेका थिए।