गौरिटार फुटबल रंगशाला अन्तिम चरणमा
हेटौंडा : हेटौंडा–६ गौरिटार रंगशालामा खेलकुद पूर्वाधार निर्माणको कार्यले गति लिएको छ।
रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला र पौडी पोखरी निर्माणको कार्यले तीव्रता पाएको छ भने फुटबल रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
मन्त्री महर्जनले शुक्रबार निर्माणाधीन पूर्वाधारको स्थलगत निरीक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका छन्। सो क्रममा मन्त्री महर्जनले सम्बन्धित निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य समयभित्रै सम्पन्न गर्न निर्देशन दिँदै निर्माणको क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिन आग्रह गरे।
प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको उनले बताए।
राज्यका निकायका कमिकमजोरी र निर्माणको जिम्मा लिएको कम्पनीले समयमै काम सम्पन्न नगर्दा लामो समयदेखि पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको थिएन। मन्त्री महर्जनले सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई पटक–पटक ताकेता गरेपछि निर्माणको कामले गति लिएको हो।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामाका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रंगशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणको लागि ९ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालेको थियो।
रंगशालामा पहिलो चरणमा ६०० भन्दा बढी दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङ लगायतका संरचना निर्माण हुने परिषद्ले जनाएको छ।
केन्द्रीय खेलकुद प्रतिष्ठानका रुपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माणको थालनी गरेको थियो। बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रंगशाला निर्माणको कार्यले गति लिन सकेको थिएन। २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रंगशालाको शिलान्यास गरेका थिए।
देश संघीय संरचनामा गएसँगै प्रदेश सरकार अन्तर्गत रहेको उक्त आयोजनामा क्रमागत बजेट विनियोजन गरिँदै आएको छ।