त्रिशूली अस्पताललाई औषधि हस्तान्तरण
नुवाकोट : बिरामीहरूको उपचारमा सहजताका लागि नुवाकोटको त्रिशूली अस्पताललाई स्वास्थ्य सामग्रीहरू सहयोग प्राप्त भएको छ।
नेपाल सर्वाङ्गिण विकास समाजको संयोजनमा विदेशबाट नेपाल भ्रमणमा आएका चिकित्सक तथा समाजसेवीहरूले संकलन गरेर ल्याएको औषधिजन्य सामग्रीहरू त्रिशूली अस्पतालमा हस्तान्तरण गरिएको हो।
संस्थाले नुवाकोटको विभिन्न स्थानमा घुम्तीकोषमार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न तथा समाजमा पिछडिएका समुदायका लागि आवास निर्माणमा समेत विदुर नगरपालिकासँगको सहकार्यमा आवास निर्माणमा सहयोग गर्दै आइरहेको छ।
कोलोनीस्थित अस्पताल परिसरमा त्रिशूली अस्पताललाई विभिन्न स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको हो। सहयोगीहरूले विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विदुर ९ का वडाध्यक्ष हरिराम भण्डारी, नुवाकोट उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र बुढाथोकी लगायतको उपस्थितिमा अस्पतालका डा. सन्देशराज उपाध्यायलाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका हुन्।