जब इमरजेन्सी कक्षमा खतराको घण्टी बज्यो...

जब इमरजेन्सी कक्षमा खतराको घण्टी बज्यो...

काठमाडौं : टिन् टिन् घण्टी बज्यो, अस्पतालको इमर्जेन्सी कक्षबाट। अनि, कर्माको संसार उजाडियो। जीवन बेस्वादिलो बनाइदियो। सप्त रंगी जीवन एकाएक खहरे खोलोजस्तै भयो। अस्पतालमा भर्ना थियो कर्माको दुईवटा ढुकढुकी। एउटा जीवनसंगिनी त अर्को उनी दुईको मायाको टुक्रा। 

केहीबेर अघि हाँस्दै आईसीयूमा पसेकी मायाका विषयमा कर्मा बेखबर छन्। यही क्रममा एउटा नमीठो खबर बोकेर, अकल्पनीय वियोगको संकेत बोकेर मण्डला थियटरको रंगमञ्चमा ‘वार्निङ वेल’ बजिरह्यो। मुटुको चाल नापिरहेको कम्प्युटरजडित यन्त्रले स्लो–मोसनमा कम्प्युटरमा आरोह अवरोह गरिरहेको छ। टिट् टिट् टिट् आवाज घरी चर्को सुनिन्छ त घरी विस्तारै सेलाउँछ। कोही व्यक्ति जिउँदो भएको या नभएको प्रमाण छाड्ने यो मेसिन कतिबेला बन्द भयो कर्माले ‘नाटकको पुरुष पात्र’पत्तो पाएन। 

थापागाउँस्थित मण्डला थियटरको रंगमञ्चमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन भइरहेको छ। नाटक हेर्न थिएटर पुग्ने हरकोही अप्रिय वियोगान्तको पीडाले रन्थनिन्छ। 

छट्पटिन्छ। विवाहको वर्षौंपछि सन्तान जन्मिने खुसीमा रमाउन नपाई वियोगान्त परिस्थिति आइपरेपछि कर्मा र मायाको जीवनको यथार्थमा धुरुक्कै रुन्छ दर्शकको मन। हुन त गर्भावस्थाको ७ महिनामा फोटो खिच्न मायाले हतार गरेपछि उसको पति कर्मालाई शंकाको घेराले नछोएको हैन। तर गर्भवती अवस्थामा बेलाबेला देखिने मुडस्विङ, उस्तै निराशा र फरक मनोवृत्ति होला भनेर स्वीकार गरेको छ। 

मायाको गर्भावस्था जटिल भएको बताउँदै डाक्टरले केही दिन अगाडि आमा र बच्चामध्ये एकलाई मात्रै बचाउन सकिने अवस्थाको जानकारी दिएको हुन्छ। अस्पतालले कर्माको हातमा एक पेपर थमाउँदै भन्छ, आमा या बच्चा कसलाई बचाउने हो हस्ताक्षर गर्नुस्। पेपर हातमा लिएर थर्थराएको कर्मा डाको छोडेर रुन्छ। चिच्याउँदा चिच्याउँदै घोप्टो परेर कहालिन्छ। श्रीमती र आउने बच्चाको वियोगको परिकल्पनामा मञ्चमा छट्पटाएको पुरुष पात्रको दुःखमा नाटक हेर्ने दर्शक पनि स्तब्ध हुन्छ। रुन्छ, मनैमनमा छट्पटिन्छ। अस्पतालको कक्षबाहिर ढोकामा उभिएको कार्मको छटपटी हेरिनसक्नु छ। अनिश्चित भविष्य र अकल्पनीय दुःखद् घटनाको त्रासले त्रसित छन्। मुटु छियाछिया भएको छ। पुरुष पात्रको भूमिकामा छन् कलाकार, कर्म। माया पात्रको भूमिकामा छन् कलाकार मेनुका प्रधान। कलाकार प्रधानको मुख्य क्वालिटी नै यही हो कि उनी जुन पात्रमा अभिनय गर्छिन्। पूरापूर सोही पात्रमा आफूलाई ढाल्छिन्। नाटक ‘ढुकढुकी ८२ मेगाहर्ज’मा उनी गर्भवती महिला मायाको भूमिकामा छन्। माया मञ्चमा देखिँदा साँच्चिकै गर्भवती उभिरहे झैं लाग्छ। माया गर्भावस्थामा आएको जटिल स्वास्थ्य समस्यामा संघर्ष गरिरहेकी छन्। आमा र बच्चामध्ये कुनै एक मात्रै बाच्न सक्ने डाक्टरको घोषणालाई उनले मिराकल भइदियोस् भन्ने कामना गरेकी छन् । 

नाटकका परिकल्पनाकार हुन् केदार श्रेष्ठ। कहिले स्कुल स्कुलमा नाटक देखाउन लागिपर्ने त कहिले अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देश पुग्ने वा कहिले नाटकघरमा अहोरात्र खटिरहेको अवस्थामा केदार श्रेष्ठ प्रायः भेटिन्छन्। अहिले मण्डलामा चलिरहेको ‘ढुकढुकी ७२ मेघाहर्ज’ नाटकको लेखन, परिकल्पना र निर्देशनसमेत गरेका श्रेष्ठ लामो समयदेखि नाट्यकर्ममा छन्। 

श्रेष्ठको नाट्य लेखन र निर्देशकीय क्षमतामा कहीँ कतै खोट देखिन्न। नाटकको परिकल्पनामा उनी भन्छन्, ‘यो नाटक हृदयको सूक्ष्म आवाज हो। अर्थात् आवाजको एकाइ हर्ज हो। मानव ढुकढुकीको आराम अवस्थाको औसत दर प्रतिमिनेट ७२ ढुकढुक मेरा लागि मुटुले रगत पम्प गर्दाको चालमात्रै हैन, मेरा लागि विशाल अनुभव हो। आफैंभित्रको यो सूक्ष्म आवाजको आयतन जीवनमा विशाल छ, अतः मेरा लागि यो मेगाहर्ज हो। सायद हृदयको ढुकढुक हामी सबैको जीवनको मेगाहर्ज हो।’

‘ढुकढुकी ७२ मेघाहर्ज’ सन्तान चाहनाको उत्कट उत्साह सँगालेका दम्पतीको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, बाध्यता, विवशता, विकल्प र विश्वास नाटकको आवाज हो। यो नाटक घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा हो। रंगमञ्चमा सजिएका नाटकका पात्रहरूले शब्द, दृश्य र अभिनयमा एउटा बेजोडको इन्टलेसन आर्ट बनाएका छन्। जीवन्त अभिनय गरेका छन्। मञ्चको मुख्य भूमिकामा मेनुका प्रधान र कर्माको प्रेमिल सम्बन्धले उतारचढाव बोकेको छ। भित्री मञ्चमा बेजोड भूमिकामा छन् मनिष ब्याञ्जु र आभा प्रधान।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.