अल्पदृष्टि
हामीले देखे पनि
परपरका तारा
आफैं बसेको
पृथ्वीको अर्को गोलाद्र्ध
देख्न सक्दैनौं
थोरै परको भूगोल पनि
किनभने, पृथ्वी गोलो छ !
समतल हुँदो हो त
देखिरहेका हुन्थ्यौं हामी
एउटै भुइँमा कतै न कतै
बम, गोला, बारुद पड्किरहेको
आफ्नै कुटुम्बहरू मरिरहेका
र परिजनहरू चिच्याइरहेका।
देखिरहेका हुन्थ्यौं हामी
आतंकित दुनियाँमा
आतंकित मानिसहरू
आत्तिएका महिला
र होसहवास गुमाएका
निरीह बालबालिकाहरू
सुनिरहेका हुन्थ्यौं
तिनका बिलौना र कोलाहल।
गोलो भएकैले
छेकिएर बसेको छ पृथ्वी
आफैंले आफैंलाई
त्यसैले देख्न सक्दैनौं
एउटा भूभागबाट अर्को भूभाग
एउटा आकाशबाट अर्को आकाश।
देख्न सक्दैनौं
धरतीको दैनन्दिनी बनेको
बमको ज्वाला
बारुदको धुवाँ
र, गिद्ध झैं उडिरहेका
बमवर्षक विमानहरू !
हुन सक्छ, गोलो पृथ्वीकै सादृश्य
मानिसको मन पनि
छेकिएको छ–
एउटा कुनाबाट अर्को कुना।
त्यसैले त हामी
आफ्नै बस्तीमा केही नहुञ्जेल
आनन्दको मस्त निद्रा सुत्न सक्छौं
निश्चिन्त प्रेमको आलिंगनमा
कसिन सक्छौं, हाँस्न र नाच्न सक्छौं
चाडपर्व र बनभोज मनाउन सक्छौं
मानौं, धरतीभरि सुख शान्ति छ
चारैतिर खुसीयाली र अमनचयन छ !
खै, पृथ्वीको गोलो हुनु
मान्छेका लागि
वरदान हो वा अभिशाप ?