चलायमान बनाउन रुग्ण उद्योग खोज्दै लुम्बिनी सरकार

चलायमान बनाउन रुग्ण उद्योग खोज्दै लुम्बिनी सरकार

अर्घाखाँची : लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको असोज अन्तिमसम्म ९ सय ४० नयाँ उद्योग दर्ता भएका छन् । उद्योग प्रशासनतर्फका ३ हजार ६ सय ५८ उद्योग नवीकरण भए । ९ सय ४० उद्योग दर्ता हुँदा ६ सय १८ उद्योग बन्द भए । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार उद्योग खारेजीको यो संख्या अघिल्ला वर्षभन्दा बढी हो ।

यसैगरी, मन्त्रालयको तथ्यांकअनुसार वाणिज्य प्रशासनतर्फका उद्योगहरूको अवस्था पनि उस्तै देखिन्छ । वाणिज्य प्रशासनतर्फ ३ हजार ९ सय ५३ उद्योग नवीकरण हुँदा १ हजार २ सय ७६ उद्योग नयाँ थपिए । तर ६ सय ४९ उद्योग खारेज भए ।

मन्त्रालयका उद्योग शाखाका वरिष्ठ शाखा अधिकृत सन्तोषकुमार सुवेदी भन्छन्, ‘उद्योग दर्ताप्रति जुन उत्साह देखिनुपर्ने हो त्यो एकदमै न्यून छ, अहिले खारेजीको अवस्थालाई हेर्ने हो भने प्रदेशमा रुग्ण उद्योगहरूको संख्या धेरै छ भन्ने सहजै आकलन गर्न सकिन्छ ।’

मन्त्रालयका अनुसार कोरोनाकालदेखि उद्योग सञ्चालनमा समस्या देखिन सुरु भएको हो । त्यसयताको लगातारको आर्थिक मन्दीका कारण उद्योग सञ्चालनमा कठिनाइ उत्पन्न भइरहेको देखिन्छ । उद्योग खारेजीको संख्या बढ्दै जान थालेपछि उद्योगको सहज सञ्चालनको वातावरण कसरी निर्माण गर्ने भन्नेबारे उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उपायको खोजी गर्न थालेको छ ।

अहिले रुग्ण अवस्थामा चलिरहेका उद्योगहरूलाई कसरी चलायमान बनाउने भन्ने बारेमा मन्त्रालयले प्रदेशका यस्ता रुग्ण उद्योगहरूको पहिचान गर्ने भएको छ । ‘प्रदेशका १२ वटै जिल्लाका उद्योगहरूको अवस्था हेर्ने हो भने खारेजी हुने संख्या बढ्दै गएको देखिन्छ । यसले के पुष्टि गर्छ भने उद्योग सञ्चालनमा अहिले निकै कठिनाइ उत्पन्न भइरहेको छ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘उद्योग सञ्चालनमा देखिएका व्यवधान कसरी हटाउन सकिन्छ भन्ने विषयमा हामी गम्भीर छौं, अब यसको कारणको खोजी गरी मन्त्रालयका तर्फबाट उद्योगको सहज सञ्चालन गर्ने वातावरण निर्माण गर्न हामी गम्भीर रूपमा लाग्छौं ।’

उनका अनुसार पहिलो चरणमा प्रदेशभरि रुग्ण अवस्थामा रहेका उद्योगहरूको पहिचान गरिने भएको छ । उद्योगहरू रुग्ण बन्नुको कारण खोजी हुनेछ र यस्ता रुग्ण उद्योगहरूलाई चलायमान बनाउन मन्त्रालयले गर्न सक्ने आवश्यक सहयोग एवं समन्वयको योजना बनाउने भएको छ । ‘हामी पहिला प्रदेशमा रहेका रुग्ण उद्योगहरूको संख्या, उनीहरूको अवस्था पहिचान गर्छौं,’ मन्त्री न्यौपानेले भने, ‘रुग्ण हुनुको कारण पहिचान गरेर यस्ता उद्योगहरूलाई चलायमान बनाउन मन्त्रायले ठोस योजनाका साथ काम गर्नेछ ।’

प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरूलाई यस्ता रुग्ण उद्योगहरूको यकिन पहिचान गर्न मन्त्री न्यौपानेले निर्देशन दिनेछन् । सोही निर्देशनअनुसार उद्योग कार्यालयहरूमार्फत रुग्ण उद्योगहरूको संख्या र अवस्था यकिन गरिने भएको छ । ‘कुनै पनि उद्योग व्यवसाय सहज तरिकाले चलायमान बनाउन उचित वातावरण निर्माण गरिनुपर्छ, अहिले उद्योग व्यवसाय सञ्चालन गर्न नसकेर कैयन उद्योगी, व्यवसायीहरू विदेश पलायन हुनु परिरहेको तीतो यथार्थ छ,’ मन्त्री न्यौपानेले भने, ‘यहाँका उद्योगहरूलाई सहज रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गरेर प्रदेशको समृद्धिको लक्ष्य पूरा गर्ने योजनामा मन्त्रालय लागिपरेको छ ।’

मन्त्री न्यौपानेले यस्ता रुग्ण उद्योगहरूको पहिचानपश्चात् सरकारका तर्फबाट आर्थिक सहायताको कार्यक्रम तय गरिने समेत बताए । यसका विषयमा मन्त्रालयका सम्बद्ध अन्य अधिकारीहरूसँग समेत छलफल गरेर योजना बनाइने उनको भनाइ छ । ‘रुग्ण उद्योगहरूको पहिचान गरेर उद्यमीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने गरी योजना बनाइनेछ,’ मन्त्री न्यौपानेले भने । 

मन्त्रालयका उद्योग शाखाका वरिष्ठ शाखा अधिकृत सन्तोषकुमार सुवेदीले यस आर्थिक वर्षमा रुग्ण उद्योगहरूका बारेमा सूक्ष्म अध्ययन गरेर ठोस योजना निर्माण गर्न आवश्यक रहेको बताए । ‘मन्त्रीस्तरीय निर्णयका आधारमा हुन्छ वा मन्त्रीज्यूको निर्देशनकै आधारमा पनि सम्बन्धित कार्यालयहरूबाट रुग्ण उद्योगहरूको यकिन तथ्यांक पहिचान गर्ने काम सुरु गर्न सकिनेछ,’ वरिष्ठ शाखा अधिकृत सुवेदीले भने, ‘चालु आर्थिक वर्षमा यस्ता उद्योगहरूको पहिचान गरेर आर्थिक सहायतासहितको कार्यक्रम सञ्चालन गर्ने योजनामा हामी छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.