धर्मोपदेशको आख्यानीकरण

धर्मोपदेशको आख्यानीकरण

अर्हत्मा बुद्धगाथा र बुद्धको धर्मोपदेशलाई आख्यानीकरण गरिएको छ। यस उपन्यासमा बुद्धकालीन समाज, राज्यव्यवस्था, राज्यबीचका अन्तरसंघर्ष, पारिवारिक पद्धति, तत्कालीन वैवाहिक पद्धति आदि कुरालाई पनि सरल ढंगमा प्रस्तुत गरिएको छ। मुख्य पात्रलाई बुद्धले दिएका प्रमुख धर्मोपदेश र मूलभूत बुद्धवचनलाई उपन्यासमा आख्यानमार्फत प्रस्तुत गरिएको छ।

यथार्थमा, कल्पनाशीलताको लेपनले आख्यानको निर्माण हुन्छ। अझ ऐतिहासिक विषयमाथि आख्यानको परिकल्पना बढी जोखिमयुक्त प्रतीत हुन्छ।एकातर्फ विश्व परिवेशले शान्तिको प्रतीक मानेको व्यक्ति र अर्कोतर्फ धार्मिक आस्थाका देवतुल्य मानवका बारेमा आख्यान निर्माण गर्ने हुटहुटी कुनै लेखकलाई लाग्नु उत्तिकै चासोको विषय बनेको छ। करिब २५ सय वर्षअघिको कपिलवस्तुको सामाजिक–आर्थिक एवं राजनीतिक परिवेश जान्न त्यतिबेलाको पाली भाषाको ज्ञान हुनु पनि उत्तिकै आवश्यक छ। यी सबैको समष्टिगत परिणामले जन्मेको अनुसन्धानमूलक विषयलाई संस्मरणात्मक शैलीमा स्वयं अर्हत् प्राप्त बुद्धको मुखबाट सिंगो उपन्यासको कथा प्रस्तुत गरिएको छ।

अर्हत् शब्द संस्कृत स्रोत भए तापनि यसको प्रयोगको व्यापकता भने बुद्ध दर्शनमा भएको पाइन्छ। पुनर्जन्म प्राप्तिबाट समेत मुक्तिको मार्ग हो– अर्हत्। ज्ञानको अथाह सागरबाट पूर्ण भएर निर्वाणको विशिष्ट अवस्थामा पुगेको आश्रवक्षयको अवस्था हो– अर्हत्। नेपाली परिवेशमा अति कम प्रचलित शब्द हो अर्हत् तर यसको अर्थशक्तिले पाठकलाई कौतूहल जगाउँदै शान्त भावमा पु¥याएर आनन्दित तुल्याउँछ। पहिलो परिच्छेददेखि निरन्तर विविध सन्दर्भमा पुनरावृत्ति भइरहने शीर्ष शब्दले पाठकलाई विषयको अर्थग्रहणमा सहजता थपिदिन्छ। बुद्धको मृत्युमा करिब पाँच सय जना अर्हत् प्राप्त गरेका भिक्षुहरू उपस्थित भएका र भिक्षु आनन्दसमेतले राजगृह आइपुगेको रात नै आश्रवक्षय भई अर्हत् प्राप्त गरेको प्रसंग आदाहनोत्सव परिच्छेदमा चर्चा गरिएको छ।

भिक्षु हुनु भनेको मोहरहित हुनु हो, कर्मरहित हुनु कदापि होइन भन्दै बुद्धगाथा प्रवचनका लागि आनन्दलाई छानिएको प्रसंग आए तापनि सिंगो उपन्यासभरि बुद्ध स्वयं नै कथावाचक बनेर हामी पाठकलाई आफ्नो जीवनवृत्त सुनाउँछन्। ८० वर्षको वृद्ध र कमजोर भएकाले आफ्नो परिनिर्माणपछि उपदेशहरूलाई लिपिबद्ध गरी भिक्षु संघलाई नेतृत्व गर्दै अगाडि जान आग्रह गरेका छन्। ज्ञान कसैको निजी सम्पत्ति नभई जसले आर्जन ग¥यो, उसैको हुने हुँदा लोककल्याणका लागि यसको उपयोग गर्न गुरुले सल्लाह दिएको सन्दर्भले सिद्धार्थको ज्ञानतृप्तिको दैलो खुला गरिदिन्छ।

सिद्धार्थको जन्म भएको पाँच दिनमा आठ ब्राह्मणले उनलाई कि चक्रवर्ती सम्राट् बन्ने कि त बुद्ध नै बन्ने सम्भावना देखाएका थिए तर यीमध्ये कौण्डिन्यले भने पक्का श्रमण बन्ने घोषणा नै गरेका थिए। यसबाट छोरासँग बिछोडिनुपर्ने तथ्यबाट विचलित शुद्धोदनले सिद्धार्थ श्रमण नबनी राजकाज गरोस् भन्ने चाहन्थे। यही उद्देश्यले तीन महलहरू निर्माण निर्माण गरेर साथै हरप्रकारले शृंगारिक रस प्रतिविम्बित हुने यौन चाहना र कामवासना जगाउन युवतीहरूलाई प्रयोग गरी अनेकन् स्त्रीयोचित क्रियाकलापहरू गराइएका थिए। तथापि एकदिन बाँसको खटियामा मृतदेह बोकेको लस्कर देखेर अचम्मित हुन पुगे र यस्तै अनेकौं घटनामध्ये हातमा भिक्षापात्र बोकेको सन्न्यासीले बाँचेको निष्फिक्रीको जीवन देखेर मोहित सिद्धार्थले गृहत्याग गरी श्रामणेर बनेको सन्दर्भ उपन्यासमा छ। अनोमा नदीतीरमा तरबारले आफ्नो केश मुण्डन गरी बहुमूल्य वस्त्र सन्न्यासी कुमार घटिकारलाई दिई उसको काषाय वस्त्र धारण गरेर दीर्घसाधनामा हिँडे ।

आध्यात्मिक, आधिभौतिक र आधिवैदिक विभिन्न प्रकारका दुःखको कारण र निवारण खोज्न निस्केका सिद्धार्थलाई त्यतिबेलाका सबैजसो गुरुका ज्ञान आंशिक, अपूर्ण र भ्रमपूर्ण रहेकाले निर्वाण हुन नसकी हठयोगमा जाने निष्कर्षमा पुगेका थिए। अन्ततः अनेकौं परिघटनापछि उनको बुद्धत्व प्राप्तिमा सुजाताको उल्लेख्य योगदान रहेको आनन्दलाई बताएका छन्। बुद्धत्व प्राप्तिपछि अश्वत्थ बोधिवृक्ष र उसबेला बोधगया भएको बताएका छन्। प्रवज्याका सन्दर्भमा कामोपभोग र आत्मनिग्रह दुवै अतिवादी विचारधारालाई त्यागेर मध्यमार्ग अपनाउनुपर्ने उनको धारणा रहेको पाइन्छ।

उपन्यासमा समेटिएको अर्को रोचक सन्दर्भ अजात शत्रुको हो। अति प्रभावकारी र हृदयस्पर्शी रूपमा पिता हत्यारा अजात शत्रुको गर्भधारण, दुःस्वप्न र नियति भोगाइबारे उत्कृष्ट प्रस्तुतिले पाठकलाई चुम्बकिएर पानामा घोरिन बाध्य तुल्याउँछ। बिम्बिसार पुत्र अजात शत्रुले मगध राज्यमा पितृहत्या शृंखलाको बीजारोपण गरेको देखिन्छ। अर्को एक प्रसंगमा बुद्धसँग यशोधराले स्त्रीलाई अर्हत् दिनुपर्ने तर्क गर्दै लैंगिक समावेशिताको खोजी गरेको सन्दर्भले प्राचीन समयमा पनि महिला अधिकार प्राप्तिको मार्गमा सचेत थिए भन्ने देखिन्छ।

अंगुलीमालको चक्रवर्ती सम्राट् बन्ने लालसाले सहस्र एक व्यक्तिको बलि चढाउन अग्रसर अहिंस्रक कसरी त्रूmर हत्यारा बन्यो। अन्त्यमा बुद्धको त्रिशरणमा पुग्यो भन्ने कथा सन्दर्भले नेपालमा माओवादीद्वारा सञ्चालित दसवर्षे जनयुद्धकालीन द्वन्द्वको झल्को दिन्छ। मूर्तिपूजाका शालीन विरोधी मानिने बुद्धले आफ्नो प्रतीक बनाउन लागेका बेला बोधिवृक्ष लगाउन सल्लाह दिएको देखिन्छ। आम्रपालीको सौन्दर्य र अन्य विविध सन्दर्भमा गाँसिएका कथाले पाठकलाई आख्यानको मीठो स्वाद चखाउँछ। यस्ता अनेकन् स–साना प्रसंगहरूले एकातिर पाठकलाई तानिरहन्छ भने कुनै पनि सन्दर्भले बुद्धको जीवनीलाई ओझेलमा पार्दैन।

उपन्यासको भाषा अधिक स्थानमा आलंकारिक देखिन्छ। प्राचीन कथावस्तुलाई स्वयं बुद्धद्वारा बोल्न लगाएर लेखकले विषयलाई ताजा र जीवन्त बनाएका छन्। समग्रमा, लाभ, सत्कार, प्रशंसा, स्तुति एवं मानसम्मान भिक्षुहरूका लागि अर्हत् मार्गको व्यवधान मानिएको छ। उनका दुई कृतिभन्दा यो भाषा, विषय र प्रस्तुतिले अब्बल देखिन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.