विश्वकै सर्वोच्च शिखर सगरमाथामय प्राग ऐतिहासिककालीन हिमवत् सभ्यताले परिपूर्ण नेपाल विश्वको केन्द्रबिन्दुमा अवस्थित छ।
विश्वकै सर्वोच्च शिखर सगरमाथामय प्राग ऐतिहासिककालीन हिमवत् सभ्यताले परिपूर्ण नेपाल विश्वको केन्द्रबिन्दुमा अवस्थित छ। यसको अर्थ विशाल पृथ्वीभित्र चीनको कैलाश मानसरोवर प्रश्रवण क्षेत्रदेखि महालंगुर हिमशृंखलायुक्त सगरमाथा प्रश्रवण क्षेत्रको हिमालय वारिपारिको एकीकृत भौगोलिक संरचना पृथ्वीको मध्यस्थल (केन्द्रबिन्दु)मा रहेको सभ्यता मानिन्छ। त्योभन्दा पनि पुराना हाम्रा हिमालय सीमा पार गरेर भोट तिब्बतबाट बगेर नेपालभित्र आएका भोट नदीहरू पृथ्वीका महत्त्वपूर्ण प्राकृतिक सम्पदाहरू हुन्।
भोट तिब्बत भूमिभित्र उद्गम (मूल) भएका हुम्ला कर्णाली नदी, भोट केरुङ नदी (नेपालभित्र त्रिशूली नदीसँग मिसिएको), भोटखोला (नेपालभित्र सुनखोलासँग मिसिएको), अरुण (नेपालभित्र तमोर र सप्तनदीसँग मिसिएको) जस्ता हिमालभन्दा पुराना ४ ठूला नदीहरू हिमालय सीमा पार गरी नेपालभित्र आएको तथ्य जगजाहेरै छ। यो आलेखमा भने विशेषगरी बागमती प्रदेशबाट पूर्वपट्टीको पानीढलोको चर्चा गरिएको छ। अर्थात्, यसलाई यसरी पनि बुझ्न सकिन्छ ः पूर्वको सप्तकोशी नदीका सहायक नदीहरूमध्ये सबैभन्दा पश्चिम–उत्तर दिशाबाट बगेर आएकी नदी इन्द्रावती हुन् भने सबैभन्दा पूर्व–उत्तर दिशाबाट बगेर आएको नदी तमोर हो। नदीहरूको चर्चा गरिरहँदा जोड्नै पर्ने विषय चाहिँ मानव शरीरको रगत जस्तै नदीहरू पनि पृथ्वीको शरीरका रगत समान् छन्।
अतः देशको संघीय राजधानी काठमाडौंबाट उत्तर रसुवा जिल्लामा लाङटाङ हिमालय प्रश्रवण क्षेत्र छ। यसै क्षेत्रमा पृथ्वीका मालिक गोसाइँकुण्ड विराजमान हुनुहुन्छ। यो कुण्डमा नेपालका राष्ट्रिय विभूति, ‘जीवित सिंह’ एवं आधुनिक नेपाल एकीकरणका बडाकाजी अमरसिंह थापा जलमहापरिनिर्वाण हुनु भएकाले गोसाइँकुण्डलाई अमरकुण्ड पनि भन्ने गरेको पाइन्छ।
सातौं शताब्दी (सन् ६३३) मा नेपालबाट राजकुमारी बेहुली भृकुटीलाई तिब्बतका राजा श्रङचङ गम्पोसँग विवाह गराउने क्रममा काभ्रेको खोपासी, बनेपा, काठमाडौंको बज्रयोगिनी साँखु, गोसाइँकुण्डलाई दाहिना पारी रसुवागढी–केरुङको बाटो हुँदै ल्हासा लगिएको थियो। यो पदचाप पछ्याउँदै, भृकुटी देवीका अनन्य भक्त राष्ट्रिय विभूति अमरसिंह थापाले पनि आफ्नो महापरिनिर्वाणको मूलथलो पृथ्वीका मालिक गोसाइँकुण्डलाई नै रोज्नु भएको थियो।
’।
ऐतिहासिक विरासत बोकेको लाङटाङ–गोसाइँकुण्ड हिमालय क्षेत्रबाट करिब ५ देखि ४७ किलोमिटर उत्तर चीनको तिब्बतमा विश्वकै १४औं उच्चशिखर शिशापाङमा हिमाल विराजमान छन्। राईहरूले पाङ्दाङ्वा, चिनियाँहरूले पाङ्कु, फिलिपिनोहरूले पानकु भन्नुको अर्थ ‘शिव’ बोध हुन्छ। भोट भाषामा पाङ्माको अर्थ शिव हुन्छ। अतः तिब्बती भाषामा शिशापाङ्मा भनेको ‘घाँसे मैदानी क्षेत्रको भगवान् (शिव)’ भन्ने अर्थ बोध हुन्छ। शिशापाङ्मालाई गोसाइँथानको नामले पनि चिनिन्छ।
शिशापाङ्मा हिमालय प्रश्रवण क्षेत्र आसपास झाङ्चाङ्पो हिमतालअन्तर्गत लुमी चिमी तालबाट पोइछु नदी उत्पत्ति भएको छ। भोट–तिब्बती पोइछुलाई नेपालभित्र भोटनदी वा भोटखोला भनिन्छ। पोइछु तिब्बतबाट बग्दै आई हाम्रो देशको सिन्धुपाल्चोक जिल्लाको लिपिङ् मितेरी पुलमुनिबाट नेपालभित्र प्रवेश गरेको छ। भोटखोला र सुनखोला अर्थात् सुनकोशी नदीको बाह्रबिसेस्थित बलेफी नजिक अभिन्न मिलन हुन्छ। त्यसपछि सुनकोशी पवित्रस्थल दोलालघाट पुग्छिन्। चन्द्रावती नदी पनि रत्नचुड पर्वतबाट निस्किन्छन्।
मण्डनबेंसीमा चन्द्रावती सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रबाट आएकी इन्द्रावती नदीसँग मिल्दै इन्द्रावतीकै नामबाट पवित्रस्थल दोलालघाट पुग्छिन्। यसरी दोलालघाटमा सुनकोशी र इन्द्रावतीको सुमधुर मेल हुन्छ। पुण्यवती नदी पनि रत्नचुड पर्वतबाटै निस्किन्छिन्। तर पुण्यवती चन्द्रावतीको पछि नलागी लीलावती र गोदावरीलाई सम्झिँदै काभ्रेको पवित्रस्थल पनौतीतिर लाग्छिन्। नभन्दै, ललितपुर फुलचोकीको दायाँबाट लीलावती अर्थात् रोशी खोला र बायाँबाट गोदावरी आउँछिन्।
अब, काभ्रेको पनौतीमा पुण्यवती, गोदावरी र रोशीको सुमधुर मिलन भई एकमुष्ठमा रोशी खोलाको नामले पूर्वतिर हाँक्किन्छिन्। रोशी नेपालथोकमा पुगेर सुनकोशीमा मिलेपछि पनि सुनकोशीकै नामबाट अगाडि बग्छिन्। त्यसपछि बेनीघाटमा पुगेर सुनकोशी र तामाखोला (तामाकोशी) को मिलन हुँदा पनि सुनकोशीकै नामबाट अगाडि बग्छिन्। त्यसपछि नवलपुरमा सुनकोशी र लिखु नदीको मिलन भएपछि पनि सुनकोशीकै नामबाट अगाडि बग्दै जाँदा जोतीर्घाटमा पुगेर सुनकोशीसँग दूधखोला –दूधकोशी) को मेल हुन्छ।
सप्तनदीको अर्को मुख्य सहायक नदी अरुण पनि भोटखोला जस्तै चीन (भोट तिब्बत)बाट बगेर नेपालमा आएको पौराणिक महत्त्वको नदी हो। तिब्बतमा अरुण भोटनदीलाई ‘फुङ चु’ अर्थात् ‘वुम चु’ भनिन्छ। यो नदीको उद्गम बिन्दू पनि शिशापाङ्मा हिमालय प्रश्रवण क्षेत्रको उत्तर–पूर्वी धारस्थित यवोकान्जियल हिमताल हो। यो नदी चीनको जिन्टाङ् सहरबाट नेपालको संखुवासभा किमाथाङ्का भित्र प्रवेश गर्छ।
उता, ताप्लेजुङको कञ्चनजंघा हिमशृंखला क्षेत्रबाट आएको तमोर र अरुणको सुमधुर मिलन साक्सिलामा हुन्छ। अन्ततः सुनकोशी, अरुण, तमोर नदीहरू मिलेपछि सप्तनदीको स्वरूप निर्माण हुन्छ। बराह क्षेत्रमा प्रवेश गरेपछि सप्तनदीलाई सप्तकोशी भन्दछन्। कतिपय किराँत राई भाषाविद्हरूका अनुसार नदीलाई राई भाषामा कोशी भन्ने गरेको प्रचलन पनि सम्झिनु हुन्छ।
हिमालय पर्वतभन्दा पनि जेठा नदीहरूमध्ये भोटखोला, सुनखोला, अरुण, तामाखोलालगायतका ठूला भोटनदी (चु) हरू मिलेर बनेको सप्तनदी भोट–तिब्बत क्षेत्र र बागमती प्रदेशबाट पूर्वी पहाडी तथा मधेश प्रदेशमा बगेर आउनुले भौगोलिक सम्बन्धको अन्तर्राष्ट्रिय जग बसालेको छ। यसको अर्थ ‘चीन–नेपाल–भारत’ त्रिदेशीय त्रिपक्षीय दिगो सम्बन्धको दरिलो आधार नदी प्रणाली पनि हो।
गोसाइँकुण्ड (अमरकुण्ड) र चीन (तिब्बत) को शिशापाङ्मा हिमाली प्रश्रवण क्षेत्रबाट बगेर आएका नदीहरू पूर्वको तमोर नदीमा मिसिनु साधारण प्राकृतिक नियम होइन। यी पश्चिमेली नदीहरू किन नजिकको काठमाडौंतिरै गएनन् ? किन नजिकको चोभार गल्छी काटेर बागमती प्रदेशको राजधानी हेटौंडातिर लागेनन् ? किन त्रिशूली नदीमा मिसिँदै सप्तगण्डकीलाई भेट्न गएनन् ? पूर्वको तमोरलाई भेट्न सुनकोशीमा समाहित हुँदै किन यति धेरै जिल्ला काटी अविराम यात्रा गरेका होलान् ? यी प्रश्नका वैज्ञानिक उत्तरहरू हामीसँग नभएका होइनन्, छन्। तीमध्ये एउटा साधारण उत्तर पानी सामान्यतयाः यस्तै अग्लो भूभागबाट ओरालो, भिरालो, होचो, गहिरो भूभागतिर बग्ने विशेषता रहेकाले पनि ती नदीहरू शिशापाङ्मा–गोसाइँकुण्ड प्रश्रवण क्षेत्रबाट ओरालो पूर्वी–दक्षिण नेपालको पानीढलोतिर बगेर गएको सर्वविदित छ।
तर दार्शनिक रूपमा नदीलाई सभ्यताको मुहान बुझिरहँदा, नदीहरू प्राणरक्षक बनिरहँदा, मानवहरू प्रकृतिबाट टाढिँदै जाँदा, नदीमा ढल फालिँदै जाँदा, नदी हिँड्ने बाटो मिच्दै जाँदा के मानव पनि प्रकृतिकै उपज होइन ? प्रकृतिको आँखामा त्यो भुसुनाको प्राणको अस्तित्व जति छ, हामी मानव प्राणीको प्राणको अस्तित्व पनि उति नै छ, होइन र ! होइन भने चन्द्रमामा मानवको त के कुरा, त्यही भुसुनाकै प्राण भेट्टाउन वैज्ञानिकहरूलाई किन असम्भव छ !
एक दिन पृथ्वीबाट मानव जाति लोप हुनुअगावै पृथ्वीभन्दा अर्को कुनै मानव बस्न योग्य ग्रहमा बस्ती बसाल्ने उपाय बेलैमा सोच भनेर स्टिफन हकिङले किन भने होलान् ? हाम्रा प्रत्येक राजनीतिक अधिकारका विकासे लडाइँमा नदीहरूलाई कम आँक्नु जायज हो या नाजायज ! अनि हाम्रा सामाजिक–सांस्कृतिक सभ्यताको विकासक्रममा नदीहरूसँग पौंठेजोरी खेल्नु सही हो वा गलत !
प्रकृतिले आफ्नो व्यवस्थापन आफैं गर्छ, मात्र मानिसले नदीमा गम्भीर असर पार्नेखाले गतिविधि गर्नु भएन। त्यसकारण चेतनशील, विवेकशील हाम्रा मानव पुर्खाहरूले उहिल्यै भनेथे, ‘प्रकृतितिर फर्क’, ‘नदीलाई आफ्नै शरीरको रगत समान मान’।