पृथ्वीको श्वेतपत्र

कविता

पृथ्वीको श्वेतपत्र

ब्रह्माण्डको उत्पत्तिकथा 

सौर्यमण्डलको गतिशील मन्त्र र 
खगोल विज्ञानको प्रयोगशालामा 
प्रतिपादित कोरा सिद्धान्तहरूको फूल 
उत्पत्तिकालको संग्राहालयमा कैद भएको पृथ्वीमा
समयको गुरूत्वाकर्षण बलका ज्वारभाटाहरूसँगै
अनेकन लामपुच्छ्रे ताराहरू देखिए 
कति वास्तविकताहरू उल्कावर्षा भएर बिलाए
यो महाजात्रा महासभ्यताको कोसेढुङ्गा हो
यो महायात्रा पृथ्वीको श्वेतपत्र हो । 

महादेशमा मान्छे नै मान्छे भएका 
मान्छेहरूमा मन थरीथरी भएका 
निलाम्य महासागरहरूमा 
थरीथरीका चलचरहरू बाँचेका र
रङ्गिन माछैमाछाहरू पौडिएका
जलवायुको शीतलतामा हाँसेका
सेताम्य हिमालले शिरताज लाएका
पहाडको टुप्पाले प्रेमगीत गाएका
तराईका समथर फाँटले अन्न उब्जाएका 
प्रकृति फूल म यही पृथ्वी हुँ ।
 
मान्छेहरूमा प्रेम र करूणा अंकुराएको
सद्भाव र सहिष्णुता पाउलिएको
भौतिक विज्ञानको भौतिक अन्वेषण 
रसायन विज्ञानको रसायनिक अणुसूत्र
सूत्रपात भएको प्रयोगशालामा 
धर्मग्रन्थ खारिएको धर्मशालामा 
संसारिकताको सारमा ओथारो बसेर 
मानवताको अमरत्व उमार्ने 
चराचर जगत्को स्थायी घर यही पृथ्वी हुँ
मानवताको शष्यश्यामला फूलबारी म यही पृथ्वी हुँ । 

म नीलो ग्रह पृथ्वी हुँ 
जन्मजन्मान्तर पृथ्वी नै हुन चाहन्छु 
ब्रह्माण्डभरि शीतलता छर्न चाहन्छु 
गोलार्धभरि जीवनका लालीगुराँस फुलाउन चाहन्छु
भूमध्यरेखामा जीवनको रेल गुडाउन चाहन्छु
कसैले मेरो आकार र आयु नाप्न सकौला 
तर करूणा र प्रेम नाप्न सक्दैनौं 
कसैले मेरो व्यास र तौल नाप्न सकौला
तर मैले आजीवन बोकेको 
जीवन र जगत्को मूल्य मापन गर्न सक्दैनौ 
मलाई पृथ्वी भएकोमा कुनै खेद छैन
मलाई नाङ्गिएर बाँच्नुमा कुनै ग्लानि छैन 
म जसले जे गरे पनि पृथ्वी नै भइरहन सकूँ 
म जसले जे भने पनि पृथ्वीमा जीवन उमारिरहन सकूँ । 

- पृथ्वीको श्वेतपत्रका लेखक सुनुवार नेपाल सरकारका उपसचिव हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.