सिनामंगलको एक होटलमा युवायुवती मृत फेला
काठमाडौं : सिनामंगलस्थित एक होटलमा युवा युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको पाँच तले होटल जन्मभूमिको एउटै कोठामा ३४ वर्षीय रमेश माझी र अन्दाजी २६ वर्षीया एक महिला मृत फेला परेको प्रहरी वृत गौशालाले जनाएको छ।
उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । प्रहरीका अनुसार कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सलले दुबै जनाले घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनीहरु श्रीमान श्रीमती रहेको खुलेको छ।
प्रहरी वृत गौशालाका अनुसार उनीहरू शनिबार पौने ७ बजे उक्त होटलमा पुगेका थिए । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी टोलीसहित थप अनुसन्धानको लागि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट आएर अनुसन्धान भइरहेको छ।