ठूला परियोजनाहरू सफल पार्न जनस्तरको सहयोग र सहभागिता आवश्यक छ : मन्त्री दाहाल
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ठूला परियोजनाहरू सफल पार्न जनस्तरको सहयोग र सहभागिता आवश्यक रहेको बताएका हुन्। दीर्घकालीन महत्त्वका आयोजनाहरूको लाभ प्रत्यक्ष रूपमा नागरिकमा पुग्ने भएकाले सफल कार्यान्वयनका लागि समेत नागरिकहरूको सहयोग जरुरी रहेको उनको भनाइ छ।
नेपाल निजामती कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्य समितिले आइतबार काठमाडौंमा गरेको प्राविधिक कार्यशालालाई सम्बोधनका क्रममा उनले दिगो र सुरक्षित संरचना अबको प्राथमिकता रहेको बताए। संरचनाहरू निर्माण गर्नु मात्र नभई सुरक्षा र नियमित मर्मत समेत आवश्यक रहेको भन्दै उनले संरचना निर्माण अघिको अध्ययनलाई पनि कम प्राथमिकता नदिन प्राविधिकहरूलाई आग्रह समेत गरे। अब बन्ने संरचनाहरूमा जलवायु परिवर्तनको असर र प्रभावलाई समेत विश्लेषण गरिनु पर्ने उनको भनाइ थियो।
मन्त्रालयका सचिव केशवकुमार शर्माले ठूला परियोजनाहरू निर्माण गर्दा श्रोत परिचालन क्षमता वृद्धि गराउन आवश्यक रहेको बताए। प्राविधिक कार्यशाला प्राडा इन्जिनियर भरतराज पहाडीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा इन्जिनियरहरू श्रीराम ढकाल, डा. नितेश आचार्य, छवि पौडेल तथा सडक विभागको एडिबी आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले विभिन्न कार्यपत्र पेश गरेका थिए। सो क्रममा विज्ञहरूले सडक तथा संरचना निर्माण गर्नुअघि सुरक्षाको पक्षलाई ध्यान दिन आवश्यक रहेको बताए।
यस्तै ठूला आयोजना तथा पूर्वाधारहरू सञ्चालनको विषय राजनीतिक दलहरूको पनि छलफलको विषय बन्न जरुरी रहेको उनीहरूको सुझाव थियो। देशका सबै जिल्लामा सडक सञ्जाल विस्तार भए पनि त्यसलाई उत्पादन र आर्थिक वृद्धिसँग जोड्न जरुरी रहेकोमा विज्ञहरूले जोड दिए।