राष्ट्रिय टिमकी ब्याटर सानालाई वीरगन्ज महानगरको सम्मान
वीरगन्ज : यू–१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली राष्ट्रिय टोलीकी सदस्य साना प्रवीणलाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ।
वीरगन्ज महानगरपालिका-१३ निवासी सानालाई आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले महानगर कार्यालयमा सम्मान गरेका हुन्। त्यस अवसरमा मेयर सिंह र उपमेयर आलमले सानालाई ५१ हजार रुपैयाँ नगद प्रदान गर्दै पुरस्कृत गरे।
हालै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्ड विरुद्धको खेलमा सानाले अर्धसतक प्रहार गर्दै कप्तान पूजा महतोसँग मिलेर नेपालका लागि कीर्तिमानी साझेदारी गरेकी थिइन्।
यस्तै महानगरपालिकाले सानासँगै २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पर्सा जिल्लामै सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छात्रा रिया साहलाई पनि सम्मान गरेको छ।
कार्यक्रममा मेयर सिंह र उपमेयर आलमले साहलाई एक थान कम्प्युटर प्रदान गरे। २०८० सालको एसईईमा ३.९७ जीपीए ल्याएर पर्सा जिल्लामै सर्वोत्कृष्ट भएकी थिइन्।