मार्फा-जोमसोम सडक धुलाम्मे हुँदा पर्यटक र स्थानीयलाई सास्ती
जोमसोम : उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) ७४ किमि सडकअन्तर्गत चौथो खण्डको मुस्ताङको घरपझोङ-२ मार्फादेखि घरपझोङ-४ जोमसोम अस्पतालसम्मको करिब साढे ४ किमि सडक कालोपत्रे नहुँदा सवारीसाधन, पर्यटक तथा स्थानीय नागरिक सास्ती व्यहोर्न बाध्य छन्।
सडक निर्माण कार्यको ८५ प्रतिशत भौतिक प्रगति हुँदै गर्दा सडक निर्माणको बाँकी काम ठप्प भएकाले मार्फा-जोमसोम सडकमा हावाहुरी र सवारीसाधनको आउजाउले सडक धुलाम्मे भएको हो।
कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले (बेनी-जोमसोम) ७४ किमि चौथो खण्ड कोवाङ-जोमसोम १७ किमि अस्फाल्ड कालोपत्रे सडकको २०७३/०७४ सालमा निर्माण कम्पनी पप्पु-गौरी पार्वती कोशी एन्ड न्यौपाने जेभी कन्ट्रक्सनसँग ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो। तर, ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दासमेत निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण (कोवाङ-जोमसोम) १७ किमि अस्फाल्ट कालोपत्रे सडक स्तरोन्नति सम्पन्न हुन नसकेको हो।
गौरवको आयोजनामा परेको (कोवाङ-जोमसोम) १७ किमि सडकमध्ये १२ किमि सडकमा कालोपत्रे तथा आरसीसी सडक भएको छ। तर, निर्माण कम्पनीले मार्फा-जोमसोम सडक स्तरोन्नतिसँगै कालोपत्रे सडकको काम नगर्दा म्याग्दी हुँदै मुस्ताङ आउजाउ गर्ने सवारीसाधनको चापले सडक पूरै धुलाम्मे भएको हो। मुस्ताङमा सडक निर्माणका लागि हिउँदयामबाहेक अन्य समयमा सडक स्तरोन्नतिमा कुनै समस्या छैन।
तर, निर्माण कम्पनीले मौसम अनुकूल भएको अवस्थामा समेत मार्फा-जोमसाम सडक स्तरोन्नतिलाई तीव्रता दिन नसक्दा जोमसोम सदरमुकामसँगै जोमसोम-मार्फासम्मको दूरीमा पैदलयात्रा गर्ने, मोटरसाइकलमा यात्रा गर्ने र सडकमार्गमा घर भएका स्थानीय नागरिकलाई धुलाम्मे सडकले निकै सास्ती तुल्याएको छ।
कोवाङ-जोमसोम १७ किमि सडकअन्तर्गत जोमसोमको मुस्ताङ अस्पतालदेखि नेपाली आर्मीको ब्यारेक अगाडिको सडकमा सडक स्तरोन्नति अलपत्र हुँदा झनै समस्या निम्त्याएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए। ‘घाँसादेखि मार्फासम्म कालोपत्रे भएको छ, जोमसोमको पक्की पुलदेखि मुक्तिनाथसम्मै सडक कालोपत्रे भइसक्यो’, अध्यक्ष लालचनले भने, ‘मार्फा-जोमसोम सडकमा कालोपत्रे र स्ट्रक्चर निर्माणका काम पूरै ठप्पै छ, यहाँ पनि कालोपत्रे भइदिएको भए निकै राम्रो हुने थियो।’ अध्यक्ष लालचनले मार्फा-जोमसोम सडक कालोपत्रको काम रोकिएर सडक धुलाम्मे हुँदा पर्यटक तथा स्थानीय नागरिकको जनगुनासो खेप्नु परेको बताए।
विकास निर्माणको काममा कसैले पनि अन्योलमा राख्न नहुने उनको भनाइ छ। मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा स्थानीय नागरिकले जोमसोम मार्फा कटेपछि नाकमुख थुनेर यात्रा गर्नुपर्ने अवस्था रहेको बताए।