सिस्टममा ‘भाइरस’ आक्रमण, राहदानी वितरण ठप्प

सिस्टममा ‘भाइरस’ आक्रमण, राहदानी वितरण ठप्प

काठमाडौं : ‘भाइरस’ले आक्रमण गरेपछि राहदानी विभागको ‘राहदानी आवेदन प्रणाली’ अवरुद्ध भएको छ । त्यसैकारण, राहदानी वितरण कार्य ठप्प छ । विभागले शुक्रबारदेखि प्रणाली अवरुद्ध भएको जनाएको छ । समस्या समाधान हुन कम्तीमा दुई साता लाग्ने विभागको भनाइ छ । प्रणाली अवरुद्ध भएपछि दैनिक हजारौं सेवाग्राही समस्यामा परिरहेका छन् । 

विभागले शुक्रबार राहदानीको तथ्यांक व्यवस्थापनमा  समस्या देखा परेकोले राहदानी प्रवाह प्रभावित बनेको जनाएको थियो । तर, आइतबार राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा  भाइरस लागेकोले सेवा अवरुद्ध भएको विभागको भनाइ छ ।

‘राहदानी आवेदन प्रणालीसँग सम्बन्धित कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ’, विभागले जारी गरेको सूचनामा  भनिएको छ, ‘यसको फैलावट रोक्न सतर्कता अपनाउनुपर्ने भएकाले जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको छ ।’ सबै स्थानहरूबाट क्रमशः सेवा कार्य सुरु गरिने विभागले जनाएको छ । ‘पूर्ण रूपमा कार्य प्रारम्भ हुन अझै दुई हप्तासम्म लाग्न सक्ने देखिन्छ,’ सूचनामा भनेको छ । 

राहदानी विभाग त्रिपुरेश्वरले नयाँ राहदानीका लागि अनलाइन प्रणालीबाट दैनिक १५ सय आवेदन लिँदै आएको छ । नेपाल र विदेशमा रहेका नियोगबाट राहदानी लिन दैनिक ६ हजारले फारम भर्ने गर्छन् । विभागले २०७८ मंसिरबाट भीडभाड हटाउन अनलाइनबाट आवेदन दिने प्रबन्ध मिलाएको थियो । दोस्रो पुस्ताको एमआरपीलाई विस्थापन गरेर विभागले ई—पासपोर्ट वितरण थालेको थियो । ई—पासपोर्टका लागि पहिले अनलाइन फारम भर्नुपर्ने हुन्छ । राजस्व तिर्न, फारम चेक गराउन,  बायोमेट्रिक दिनका लागि सेवाग्राही राहदानी विभागसहितका तोकिएका कार्यालयमा पुग्नुपर्ने हुन्छ । 

आइतबारदेखि राहदानी विभागले आंशिक रूपमा सेवा प्रारम्भ गरेको जनाएको छ । यसअघि नै फाराम भर्ने सेवाग्राहीहरूलाई सेवा प्रदान सुरु गरी सकिएको छ । एक—दुई  दिनभित्रमा राहदानी बनाउने सेवाग्राहीका लागि नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ खुल्ला गरिने विभागको दाबी छ । यस अघि २०७९ पुस २० गते पनि विभागको सिस्टममा समस्या आएको थियो । त्यो बेला विभागले राहदानी छपाइ तथा वितरण अवरुद्ध गरेको थियो ।

विभागका अनुसार तीन दिनअघि  आवेदन प्रणालीमा भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको छ । आवेदकको तथ्यांक पूर्ण सुरक्षित छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि विभागबाट क्रमशः सेवा प्रदान गरिएको छ । विभागले राहदानीका लागि नयाँ आवेदन दिनका लागि जिल्ला तथा इलाका प्रशासन कार्यालय,  विदेशस्थित नेपाली नियोगमा सम्पर्क राख्न अनुरोध छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.