उपनिर्वाचन हुने स्थानमा बिदा दिन निर्वाचन आयोगको निर्देशन
काठमाडौं : आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेवा परिचालनका लागि स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन् ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, २०८१ सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ मंसिर ६ को निर्णयबमोजिम सम्माननीय प्रधानमन्त्रीको मिति २०८१ मंसिर ६ को सिफारिसमा उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन हुने भएको छ । उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा मिलाउन निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । मतदानस्थल व्यवस्थापन गर्न, सहज रूपमा मतदातालाई मतदानको व्यवस्था मिलाउनलगायतका समेत आयोगले निर्देशन दिएको छ ।
मतदानस्थलको व्यवस्थापन गरिँदै
मतदानस्थल व्यवस्थापनको तयारी तीव्र छ । स्थानीय तहको उपनिर्वाचन हुने स्थानमा आउँदो मंसिर १३ देखि १६ गते (मतदान सम्पन्न नभएसम्म) मतदानस्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठानलगायत सार्वजनिक स्थलहरू निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
बिदा मिलाउन निर्देशन
उपनिर्वाचन हुने स्थानमा बिदा मिलाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर तथा वडा अध्यक्षको चुनावको हकमा स्थानीय तहअन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।
उपनिर्वाचनमा मतदाताहरूलाई मतदान गर्नका लागि बिदा मिलाइदिनका आयोगले औद्योगिक प्रतिष्ठानलाई पनि आह्वान गरेको छ । उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्न सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्लास्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिकलगायत प्रतिष्ठानहरूलाई आग्रह गरिएको आयोगकी प्रवक्ता अर्यालले बताइन् ।
मतदान गर्न मतदाता परिचयपत्र नै चाहिन्छ ?
निर्वाचन आयोगले नेपाली नागरिकको परिचय खुल्ने कुनै पनि सरकारी कागजातका आधार मतदाताले मतदान गर्न पाउने निर्णय गरेको छ । त्यसका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा मतदाताको नाम समावेश भएको हुनु पर्नेछ ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदातालाई मतदान गर्न दिन आयोगले व्यवस्था मिलाएको छ ।
त्यसका लागि अन्तिम मतदाता नामावली विवरणसँग भिडाई मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ । आउँदो आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदान हुनेछ ।