काठमाडौं : चर्चित कलाकार हरिवंश आचार्यको ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपैयाँको टिकट काट्दछ...’ बोलको गीत सुन्नेहरूका लागि ‘किलिन्डर’ शब्दको अर्थ र भाव नौलो लाग्दैन।
काठमाडौं उपत्यकामा वर्षौंअघि गुड्ने साझा बस (जो पछि बन्द भएर हाल पुनः सञ्चालनमा छ), यसलाई मुख्य थिम बनाएर आचार्यले गाएको यो गीतले नेपालको सार्वजनिक यातायात क्षेत्रको अवस्था चित्रित गरेको छ।
हरिवंशले प्रयोग गरेको यही ‘किलिन्डर’ शब्द प्रयोग गरेर सफ्टवेयर इन्जिनियर तथा स्टार्टअप व्यवसायी रविकिरण यादवले किलिन्डर सर्भिसेस भन्ने कम्पनी सञ्चालन गरिरहेका छन्। ‘यो कम्पनीले बस व्यवसायीहरूलाई बृहत् टिकेटिङ प्रणाली उपलब्ध गराउँछ,’ सञ्चालक यादव भन्छन्, ‘कलाकार हरिवंशले गीतमा प्रयोग गर्नुभएको शब्दबाट प्रेरित भएर नै ‘किलिन्डर’ नाम राखेको हुँ। किलिन्डर मर्चेन्ट एपबाट बस व्यवसायीले सर्वसुलभ र बिना झन्झट टिकट काट्न सक्छन्।
कसरी जन्मियो ‘किलिन्डर’ ?
‘तपाईं हामी जो कोहीले सार्वजनिक यातायातमा यात्रा गर्दा विभिन्न खालका अप्ठेरा र झन्झट भोगेकै हुन्छौं,’ यादव भन्छन्, ‘बसको टिकट कहाँ काट्ने, कसरी सही मूल्यमा टिकट पाउने, एउटै सिटमा डबल र त्रिपल टिकट काटिदिएपछि यात्रुहरूले पाउने दुःख आदिलाई न्यूनीकरण गर्न ‘किलिन्डर’ एपको अवधारणा विकास गरेको हुँ। ‘म आफैं पनि कति पटक यात्रा गर्दा टिकटकै झन्झटमा परेका कारण यो अवधारणालाई विकास गरेको हुँ,’ यादव भन्छन्।
‘किलिन्डर’ प्रणालीले बसको टिकट काउन्टरहरूलाई प्रविधियुक्त बनाउनुको साथै विकेन्द्रित पनि गर्दछ। बस व्यवसायीहरूको टिकट काउन्टरमा हुने खर्च घटाउनुको साथै टिकट बिक्रीलाई पारदर्शी बनाउन मद्दत गर्दछ। टिकट बिक्री प्रणालीलाई प्रविधिसँग जोडेर यात्रुलाई व्यावसायिक व्यवहार गर्न यो प्रणालीले सहयोग पुर्याउँछ।
एउटा यात्रुले आफ्नो गन्तव्यका लागि सार्वजनिक यातायात खोज्नेदेखि, टिकट काट्ने र बस चढेर गन्तव्यमा पुग्ने बेलासम्मका झन्झट सम्झिनु भयो भने यो अवधारणाको महत्व बुझिहाल्नु हुन्छ,’ यादव भन्छन्। ‘नेपाल सरकार डिजिटल फेर्मवर्कको अवधारणा लागू गर्ने तर दैनिक लाखौं यात्रुले यात्रा गर्ने सार्वजनिक यातायातमा चाहिँ पुरानै प्रणालीमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि नै ‘किलिन्डर’ जन्मिएको हो,’ यादवले भने।
यात्रुको चाप नभएका बेला रोजी छाडी पाइने टिकट कुनै चाडबाड वा विशेष अवस्थामा पाउनै मुसिकल छ। टिकट पाई हाले पनि महँगो पर्ने गरेको छ। कुनै स्थानमा गाडीको प्रतीक्षा गरिरहेका यात्रुहरूलाई टिकट काउन्टरमा काम गर्नेहरू वा यात्रु संकलन गर्न खटिएकाहरूले तानातान गर्दै गरेको दृश्य यत्रतत्र देखिन्छ। तर ‘किलिन्डर’ सिस्टम लागू गरेकाहरूले मोबाइलमा एप खोलेर यात्रुकै अगाडि टिकट काटेर ‘ब्लुटुथ कनेक्ट’ गर्न मिल्ने सानो प्रिन्टर जो सजिलै एउटै हातले बोक्न सकिन्छ त्यसबाट प्रिन्ट गरेर यात्रुलाई दिन मिल्छ। यात्रु र सेवा प्रदायका बीचमा विश्वास बढाउन, सेवा प्रदायकलाई एकाउन्टेबल बनाउन तथा व्यवसायलाई पारदर्शी बनाउन यो प्रणाली सहयोगी हुने रविकिरण बताउँछन्।
किलिन्डरबाट कसरी काट्न सकिन्छ टिकट ?
बल्खु चोकबाट छुट्ने टाटा सुमो चढेर यात्रा गर्नुभएको छ भने तपाईंले पक्कै पनि त्यहाँ यात्रुहरूलाई तानातान गरिरहेको दृश्य देख्नु भएको होला। तर, यो अवस्था अहिले फेरिँदै गएको छ। सुमो व्यवसायीहरूले अहिले किलिन्डर एपमार्फत टिकट काट्न थालेका छन्। यो सिस्टम मोबाइलबाट चलाउन सकिने र सानो प्रिन्टरबाट टिकट प्रिन्ट पनि गर्न मिल्ने भएकाले निकै सजिलो छ। कुनै बस व्यवसायीले यो प्रणाली जडान गरिसकेपछि उसले आफ्नो टिकट काउन्टर वा एजेन्टहरू सेट गर्न सक्छन्।
काउन्टरलाई तोकिएकै कोटामा एपबाट टिकट काट्न सकिन्छ। टिकट काटिसकेपछि सहचालक, यात्रु र बस व्यवसायीलाई समेत नोटिफिकेसन जाने व्यवस्था गरिएको छ। बसको टिकट काट्ने अन्य प्लेटफर्महरू सेल्समा फोकस छन् भने यो चाहिँ सर्भिसमा फोकस रहेको यादव बताउँछन्। टिकट काउन्टरमा बसेर हातले टिकटमा यात्रुको नाम लेखेर टिकट काट्ने सिस्टमलाई डिजिटलमा रूपान्तरण गर्ने र मोबाइल एपबाट टिकट काट्न यो प्रणाली विकास गरिएको हो। यातायात व्यवसायलाई डिजिटिलाइज्ड गर्न यो सिस्टम उपयोगी छन्। बसको टिकट काटी सकेपछि चलानीसमेत यही सिस्टमबाट प्रिन्ट गर्न सकिन्छ। हातमा मोबाइल लिएर टिकट काट्नेदेखि चलानी बनाउनेसमेतको काम यसबाट गर्न सकिन्छ।
कहाँकहाँ जडान छ, ‘किलिन्डर’ ?
गौर, धरान, विराटनगर, हेटौंडा रुटमा चल्ने गाडीमा यो सिस्टम जडान गरिएको छ। अनलाइनबाट टिकट काटेर गाडीको सेवा प्रदान गर्नेहरूले ग्राउन्डको रियालिटी थाहा पाउने संयन्त्र छैन। तर यो प्रणालीमा चाहीँ टिकट काट्ने सिस्टममात्रै डिजिटल नभएर काउन्टर पनि यही सिस्टमबाट सञ्चालन हुने भएकाले बढी विश्वसनीय र प्रभावकारी रहेको सञ्चालक यादव बताउँछन्।
बस समिति वा व्यवसायीको आवश्यकताअनुसार यो प्रणाली जडान गर्न सकिन्छ। सम्बन्धित बस व्यवसायीले आफ्नो प्ल्याटफर्म प्रयोग गर्ने र सोहीमार्फत टिकट काट्ने भएकाले यो प्रणाली बढी उपयोगी र यात्रुमैत्री रहेको छ। कुनै थर्ड पार्टीले टिकट काट्नु र आफ्नै प्ल्याटफर्ममा टिकट काट्नुको फरक यो सेवा लिनेहरूले सहजै महसुस गर्न सक्ने सञ्चालक यादव बताउँछन्।
के के छन् कठिनाइ ?
काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ गरेपछि केही समय रविकिरणले कस्टुमर बेस आईटी प्रडक्टमा काम गरेका थिए। तर, काम गर्ने क्रममा आफ्नै प्ल्याटफर्म चाहिन्छ भन्ने महसुस गरेपछि उनी किलिन्डर एप बनाउन कस्सिएका हुन्। यो प्रडक्टको डेभलपमेन्टमा करिब पाँच वर्ष बिताइसकेका उनको यसमा लगानी पनि निकै भइसकेको छ। तर वर्षौंदेखि परम्परागत प्रणाली अपनाइरहेकाहरू यसमा सजिलै सिफ्ट हुन गाह्रो मानिरहेका छन्। तर, जस जसले यो प्रडक्ट प्रयोग गरेका छन् उनीहरूको प्रतिक्रिया भने उत्साहित बनाउने खालको छ उनी भन्छन्।
यो बढीभन्दा बढी यातायात व्यवसायीले प्रयोग गर्न थालेपछि मात्र यो सफलताउन्मुख हुने हो यादव भन्छन्। ‘कुनै पनि स्टार्टअप सफल हुनका लागि केही समय त लागि हाल्छ, मुख्य कुरा विकास गरिएको प्रविधिले काम गर्नेहरूलाई सहज भयो कि भएन, सेवाग्राहीले सजिलो महसुस गरे कि गरेनन् भन्ने नै हो, सञ्चालक यादव भन्छन्।
सरोकारवाला निकायको भूमिका कस्तो हुनुपर्छ ?
कुनै पनि कामलाई आधुनिक प्रविधिसँग जोड्ने कुरालाई त्यो कामसँग सम्बन्धित सरोकारवालाहरूको भूमिका महŒवपूर्ण हुन्छ। प्रविधिले कामलाई सजिलो र किफायती एवं पारदर्शी बनाउन मद्दत गर्छ। यातायात क्षेत्रमा शतप्रतिशत लगानी निजी क्षेत्रको छ। यसलाई डिजिटल प्रविधिमा लैजाँदा त्यसको प्रत्यक्ष फाइदा व्यवसायीलाई नै हुन्छ। राज्यका निकायले पनि व्यवसायीलाई डिजिटल प्रविधिमा सिफ्ट हुन प्रोत्साहित गर्नुपर्छ।
कसैले इनोभेटिभ आइडिया लिएर आउँछ र त्यसबाट सेवा प्रदायक र सेवाग्राहीलाई फाइदा हुन्छ भने सरोकारवाला निकायले यसमा सहयोग पुर्याउनु पर्छ।
अन्य क्षेत्रमा पनि सिफ्ट हुने योजना
टिकट काट्नु पर्ने अन्य क्षेत्रमा पनि किलिन्डरलाई विस्तार गर्ने योजना रविकिरणको छ। राष्ट्रिय निकुञ्ज, कुनै पार्क, संग्रहालय आदि जहाँ टिकट काटेर जानुपर्छ त्यस्ता ठाउँमा पनि यो सिस्टम जडान गर्ने गरी काम भइरहेको उनी बताउँछन्। हामीले टिकट काट्ने भरपर्दो सिस्टम बनाएका छौं, त्यही भएर यसलाई विभिन्न क्षेत्रमा विस्तार गर्ने योजनाका साथ काम गरिरहेका छौं उनी भन्छन्।