कहीँ हुन नसकेको फुड फेस्टिभल हाँडीगाउँमा
जात्राका लागि चर्चित हाँडीगाउँँ अचेल पुनः चर्चित छ। यहाँ हरेक शनिबार ‘नो भेइकल जोन’ सँगै सडकमा फुड फेस्टिभल चल्छ।
काठमाडौं : कहीँ नभएको जात्रा हाँडीगाउँ, यही परिचय बोकेको छ, हाँडीगाउँले । कुनै बेला यस्तो पनि कथन प्रचलनमा थियो ‘अन्त कतै नपाइने अन्न हाँडीगाउँमा फल्ने गथ्र्यो रे ।
अन्त कतै नबजाइने र नपाइने बाजागाजा र स्थानीय धुन हाँडीगाउँमा मात्रै पाइने गथ्र्यो रे ।’ हाँडीगाउँका स्थानीयले भगवान् नारायणलाई खुसी पार्न भन्दै कहीँ नभएको भिन्न प्रकृतिका जात्रा देखाए रे । यसपछाडि नै सुरु भयो, कहीँ नभएको जात्रा हाँडीगाउँ भन्ने चलन ।
जात्राका लागि चर्चित हाँडीगाउँँ अचेल पुनः चर्चित छ । यहाँ हरेक शनिबार ‘नो भेइकल जोन’ सँगै सडकमा फुड फेस्टिभल चलिरहेको छ । काठमाडौं–५ मा स्थित हाँडीगाउँँमा हरेक शनिबार बेग्लै रौनक हुन्छ । स्थानीय अर्गानिक खानाको स्वादमा आगन्तुक सडकमा झुम्छन् । हाँडीगाउँस्थित गहनापोखरीबाट दाइनेतर्फ हुँदै सडक महोत्सवस्थल पुगिन्छ । जहाँ कुनै पनि सवारीसाधन लैजान पाइँदैन । गहनापोखरीमा नै सवारी पार्किङ गरी केही मिनेटको पैदलयात्रापछि सडक फुड फेस्टिभलमा पुग्दा नपुग्दै मीठामीठा परिकारका बास्नाले स्वागत गर्छन् । नेवारी स्वादका पारखीहरू सडकमा उभिएर परिकार चाख्ने गर्छन् । कोही छोयलाको स्वादमा झुमिरहेका हुन्छन्, त कोही स्थानीय मदिरा अयलाको चुस्की लिइरहेका भेटिन्छन् । योमरी, चटामरी, बारा, कचिलाको बास्ना सडकभर फैलिरहेको हुन्छ ।
नर : दे, जीवन्त हाँडीगाउँ समितिका अध्यक्ष गोपाल डंगोलका अनुसार यहाँ सडकमा खाना महोत्सव गर्न थालेको २०८० असोजदेखि हो । विशेषगरी स्थानीय संस्कृतिलाई जोगाउन र संरक्षण गर्नको लागि यहाँका स्थानीय मिलेर हप्ताको एकदिन गाडीरहित शनिबार मनाउन सुरु गरिएको हो । डंगोल भन्छन्, ‘हरेक हप्ताको शनिबार सडकमा खाना महोत्सव लाग्छ । विशेष जात्रा, पर्व र विदेशी पाहुना आएको बेला मागअनुसार अन्य दिनमा पनि महोत्सव गरिन्छ । सडकमा खानाको लागि स्टल राख्नेहरू प्रायः उक्त स्थानमा स्थानीय क्षेत्रमा सक्रिय दिदीबहिनी, महिलाहरूको समूह छ । सामूहिक रूपमा भेला भएरै सडकमा खाना बेच्ने गर्छन् । यहाँको खाना विशुद्ध अग्र्यानिक र स्थानीय स्वादको हुन्छन् ।
समिति अध्यक्षका अनुसार स्थानीय समिति, वडा कार्यालय र महानगरपालिसँगको सहकार्यमा स्थानीय संस्कृति संरक्षण गर्न गाडीरहित शनिबार सुरु गरिएको हो । यहाँ विभिन्न हाते घरबुना सामग्री, स्थानीय सीप र कलाका नमुनाहरू पनि बिक्रीका लागि स्टलमा राखिने गर्छ । स्थानीय गेडागुडी तथा अन्न र मरमसला व्यापार हुने गर्छ । मान्द्रोमा बसेर पिरो छोयलाको स्वाद लिनु आगन्तुकको रुचि हुन्छ ।
हाँडीगाउँमा रहेका विभिन्न कला र संस्कृति जगेर्ना गर्नको लागि स्थानीय स्तरमै काम सुरु गरिएको हो । स्थानीय स्तरमै बनेका चिउरा, साबुन, हस्तकला तथा लत्ताकपडा पनि बिक्रीका लागि राखिन्छन् ।समिति अध्यक्ष डंगोल भन्छन्, ‘महोत्सवमा आउने आगन्तुकको सुरक्षाको लागि नगर प्रहरी, महानगर प्रहरी, स्वयंसेवकहरू खटिने गर्छन् । कलाकारहरूले स्थानीय भाका र गीतको तालमा मनोरञ्जन दिने गर्छन् । यहाँ अत्यन्तै पुराना र इतिहास बोकेका बाजागाजा पनि रहेका छन् । परम्परागत बाजागाजा बजाउने, पुराना खेलहरू खेल्ने तथा स्थानीय झाँकी र धुन पनि प्रदर्शन गर्ने गरीन्छ । हाँडीगाउँँमा रहेको प्रसिद्ध मन्दिर र पाटी पौवाहरूको संरक्षणका लागि पनि स्थानीयहरू जुटिरहेका छन् ।
काठमाडौं–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिका अनुुसार ‘कमाऔं, रमाऔं र जोगाऔं’ नामक नारा दिएर सुरु गरिएको यस सडक फुड फेस्टिभलले स्थानीयलाई रोजगार पनि दिएको छ । शनिबार मात्रै यहाँ २५ देखि ३० लाखसम्मको व्यापार हुने गरेको छ । परम्परालाई जोगाउँदै सम्पदा यात्रा तथा स्थानीयलाई सशक्त बनाउन यो कार्यक्रम सफल देखिन्छ । यहाँको सिको गर्दै पाटन र टोखाका विभिन्न स्थानमा पनि फुड फेस्टिभल सुरु भइसकेका छन् ।