किसानलाई पेन्सन दिन सरकारलाई आयोगको सुझाव

किसानलाई पेन्सन दिन सरकारलाई आयोगको सुझाव

सुर्खेत : राष्ट्रिय किसान आयोगले किसानलाई पेन्सन (निवृत्तिभरण) को व्यवस्था गर्न तीन तहका सरकारलाई सुझाव दिएको छ । पेन्सनका लागि आवश्यक नीति, कानुन र कार्यविधि निर्माण गर्नसमेत आयोगले सरकारलाई सुझाव दिएको हो । देशको आर्थिक विकासमा किसानको महŒवपूर्ण योगदान रहेको भन्दै आयोगले उनीहरूलाई पेन्सनको व्यवस्था गर्न सुझावसहित सिफारिस गरेको हो ।

किसानले दुःख गरेर राष्ट्रिय उत्पादनमा योगदान गरिरहेकाले उनीहरूको सामाजिक सुरक्षाका लागि पनि सरकारले पेन्सनको व्यवस्था गर्नुपर्ने आयोगको भनाइ छ । किसानको सामाजिक सुरक्षाको विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै आयोगले जीवनभर माटोमा दुःख गरेका किसानको पक्षमा कल्याणकारी काम गर्न आग्रह गरेको हो । आयोगले किसान कोषको स्थापना गरेर योगदानमा आधारित पेन्सनको व्यवस्था गर्न तीनै तहका सरकारलाई सुझाव दिएको हो । पेन्सनको व्यवस्था भएमा किसानको सामाजिक सुरक्षा बलियो हुने र कृषिमा आकर्षणसमेत बढ्ने आयोगको विश्वास छ ।

आयोगका अनुसार किसानको सामाजिक सुरक्षाको विषयमा सरकारले तत्काल यो काम गर्नुपर्ने छ । यही विषयमा आयोगले सुर्खेतमा प्रदेश सरकार र स्थानीय सरकारसँग छलफलसमेत गरेको छ । प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिहरूलाई आयोगले किसानको पक्षमा काम गर्न आग्रह गरेको हो । आयोगका सदस्य टेकबहादुर बोगटीले भने, ‘किसानले उत्पादनले देशको अर्थतन्त्र धानेको छ, किसानको मेहनतलाई राज्यले सम्मान गर्नुपर्दछ । जीवनभर दुःख गरेका किसानको सामाजिक सुरक्षा अनिवार्य छ, उनीहरूलाई पेन्सनको व्यवस्था हुनुपर्छ ।’ योगदानमा आधारित किसान कोषको स्थापना गरेर पेन्सनको व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको उनले जानकारी दिए ।

आयोगले स्थानीय तहमा कृषि श्रम बैंक स्थापना गरेर वर्षमा कम्तीमा एक सय दिन काम गर्ने किसानका छोराछोरीको उच्च शिक्षामा सहयोग गर्नसमेत सिफारिस गरेको छ । यसका लागि किसानका छोराछोरीको उच्च शिक्षामा सहुलियत र कोटा निर्धारण गरिनुपर्ने आयोगको भनाइ छ ।

किसानको उपचारमा सहुलियत, कृषि एम्बुलेन्सको व्यवस्था, विद्युत्मा सहुलियत र कृषिमा कम्तीमा १० प्रतिशत बजेट सुनिश्चित गर्न पनि सरकारलाई सिफारिस गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले कृषिमा कार्यरत महिला किसानलाई सुत्केरी भत्ताको व्यवस्था गर्न पनि आग्रह गरेको छ । आयोगले कृषिमा कार्यरत श्रमिकलाई तलब कट्टा नहुनेगरी बिदाको व्यवस्था गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सुझाव दिएको छ ।

किसान इजलास स्थापना गर्न सिफारिस

किसानलाई कानुनी सहायता उपलब्धता गराउन अदालतमा किसान इजलास स्थापना गर्न आयोगले सरकारलाई सिफारिस गरिएको जनाएको छ । किसानलाई सहज रूपमा न्याय उपलब्ध गराउन यो आवश्यक भएको आयोगको भनाइ छ ।

यसैगरी किसानमैत्री कानुन निर्माणमा पनि आयोगले जोड दिएको छ । किसानलाई उत्पादनमा आधारित अनुदान दिनुपर्ने, उत्कृष्ट किसानलाई पुरस्कार, किसानलाई प्राविधिक परामर्शका लागि निःशुल्क टेलिफोन र इन्टरनेट उपलब्ध गराउन पनि आयोगले सरकारलाई सुझाव दिएको छ । 

किसानमैत्री नीति बनाउन आग्रह

कर्णालीका किसानले किसानमैत्री नीति नहुँदा आफूहरूले समस्या भोगिरहेको गुनासो गरेका छन् । यसका लागि आयोगले सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनीहरूको भनाइ छ । वास्तविक किसान राज्यको सेवा र सुविधाबाट वञ्चित हुनु परेको किसानको दुःखेसो छ । अब आयोगले किसानमैत्री नीति र कार्यक्रम निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुपर्ने किसानको भनाइ छ ।

कृषिमा आकर्षण गर्ने खालका योजना नआउँदा किसान पलायन हुने अवस्थामा पुगेको किसानले बताए । किसान नीता चन्दले व्यावसायिक कृषिमा लागेका किसानलाई वर्गीकरण गरेर सरकारी अनुदानका कार्यक्रम वास्तविक किसानसम्म लैजानुपर्ने बताइन् । अर्का किसान रामबहादुर शाहीले कृषि क्षेत्रमा बिचौलिया हाबी हुँदा किसानको जीवनस्तर सुधार हुन नसकेको बताए ।

‘तीन तहका सरकार गम्भीर बनौं’

जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले तीनै तहका सरकारको समन्वयमा कृषिमा रहेका समस्या समाधान गर्नुपर्ने बताए । सरकारबीच समन्वयको अभाव हुँदा कृषिमा काम गर्न समस्या भएको उनको भनाइ छ ।

सल्यानको शारदा नगरपालिका उपप्रमुख सुनिता सापकोटाले तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको औंल्याइन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा ३ लाख २ हजार ६ सय घरधुरी कृषिमा आबद्ध छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.