गुणस्तरीय बिउ उत्पादनलाई प्राथमिकता दिनुपर्छ : कृषिमन्त्री अधिकारी
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बिउ उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको हर्टिकल्चर सम्मेलनको उद्घघाटन गर्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन्।
मन्त्री अधिकारीले नेपालमै गुणस्तरीय बिउ उत्पादन गरी वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरूको भुमिका महत्वपूर्ण हुने बताए। सबै कृषिजन्य बालीहरूको उत्पादनको आधारभूत स्रोत बिउ भएकाले गुणस्तरीय बिउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए। आलु तथा मसालाबाली क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी निकायहरूका साथै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गरे।
नेपालका रैथाने बिउ बिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बिउ विजन नियमावली संसोधन गर्ने कार्य सम्पन्न गरिएको बताए। पछिल्लो समय सरकारी स्तरका बिउ उत्पादन गर्ने फार्महरुको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बिउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढेको पनि बताए।
दुई दिन सम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरु, विज्ञ , तरकारी बिउ उत्पादकहरू र कृषकहरूको सहभागिता रहेको छ। सम्मेलनमा आलु, मसलावाली तथा तरकारीको बिउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य शृङ्खला, जलवायु परिवर्तन, जैविक विविधता, बिउ सम्बन्धी कानुनहरूका बारेमा छलफल हुने छ।