लैगिक हिंसाविरुद्धको अभियान सुरू
काठमाडौं : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारबाट देशव्यापी रूपमा सुरु भएको छ। ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने नाराका साथ १६ दिने अभियान सुरु भएको हो।
१६ दिने अभियानका क्रममा लैंगिक हिंसाविरुद्ध विभिन्न संस्थाले महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतिकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने जनाइएका छन्।
अभियानका क्रममा विराटनगरमा सोमबार बिहान प्रभातफेरी गरिएको छ। प्रभातफेरीमा हिंसा त्यागौं, माया बाडौं, लैंगिक विभेद अन्त्यका लागि हातेमालो गरौं, जस्ता विभिन्न नाराहरु सहित प्लेकार्ड बोकेर सहभागिहरुले नगरपरिक्रमा गरेका थिए।
विराटनगर महानगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा विभिन्न मन्त्रालयका प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रतिनिधिहरू, पालिकाका वडाध्यक्षहरू, मानव अधिकारकर्मीहरू, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरू लगायत सहभागी थिए।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ।