जलवायु परिवर्तनमा अन्नपूर्णलाई पूर्वमिस नेपालको साथ
काठमाडौं : जलवायु परिवर्तनका बारेमा जनचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गर्ने अभियानमा मिस नेपाल २०२३ सृच्छा प्रधानले सहकार्य गर्ने भएकी छन् । पञ्च प्रणाली( जल,भूमि,आगो,वायु, नक्षेत्र)लाई केन्द्रित गरेर जलवायु परिवर्तनका मुद्दामा जनचेतना जगाउन सक्रिय रहेको दिगो प्रणाली प्रालि र अन्नपूर्ण मिडिया नेटवर्कबीच जलवायु परिवर्तनका विषयमा जनचेतना जगाई उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सहकार्य सहमति भएको हो । मिस नेपाल प्रधान दिगो प्रणाली प्रालिकी सञ्चालिका हुन् ।
सोमबार अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टर तीनकुनेस्थित कर्पोरेट टावरमा भएको एक समारोहबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र दिगो प्रणालीकी सञ्चालिका मिस नेपाल प्रधानले हस्ताक्षर गरे । सहकार्य एक वर्षसम्म रहनेछ ।
अन्नपूर्ण मिडियाले युनिटी फर सस्टेनाबिलीटी अभियानअन्तर्गत जलवायु परिवर्तनका बारेमा मिडियामार्फत् जनचेतना जनाउने र जलवायु परिवर्तनले निम्ताएको समस्यालाई एजेण्डाका रुपमा जागरण गराउने अभियान सञ्चालन गरिरहेको छ ।
‘जलवायु परिवर्तनका विषयमा अन्नपूर्ण मिडियासँग जोडिन पाउँदा निकै खुसी लागेको छ,' प्रधानले भनिन् ,‘जलवायु परिवर्तनका मुद्दा उठाउन र जनचेतना जगाउने कार्यहरू गर्न अन्नपूर्ण मिडियालाई मेरो पूर्ण साथ रहनेछ ।’उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा अन्नपूर्ण मिडियाले जलवायु परिवर्तनका बारेमा गरेका कार्यहरू जानकारी गराउनेछिन् ।
‘इन्भाइरोमेन्ट स्टडिज’ र ‘कम्युनिटी एक्सन’ मा स्नातक गरेकी उनले कलेज पढ्दाताका ‘बियोन्ड प्लास्टिक’, ‘रिप्लेस नाउ’, ‘सेन्टर फर बायोलोजिकल डाइभर्सिटी’, ‘इसिमोड’ लगायतका अन्तर्राष्ट्रिय संस्थामा ‘रिसर्च एसिस्टेन्ट’ तथा ‘कन्टेन्ट क्रियटर’ का रूपमा ‘इन्टर्नसीप’ गरिसकेकी छन् । बोट–बिरुवा,जनावरलाई असाध्यै माया गर्ने उनी तिनको संरक्षण नभएको र तिनलाई नबुझेकै कारण हामी वातावरणीय तथा मौसम परिवर्तनको मारमा परिरहेको उनले बताउँछिन्। सन् २०१९ मा उनले सुरु गरेको ‘दिगो प्रणाली’ नामक परियोजना धेरै अगाडि पुगिसकेको छ । यसैलाई ‘मिस वर्ल्ड’ का लागि ‘ब्युटी विथ पर्पस’ का रूपमा बढाउने उनको योजना छ ।
यो परियोजनाभित्र एउटाले उत्पादन गरेको फोहोर अर्कोका लागि स्रोत र कच्चापदार्थ हुनसक्छ भन्ने सिद्धान्त अपनाइएको छ । यसमा थुप्रै युवालाई ‘इको–साथी’ का रूपमा जोड्दै लग्ने योजना पनि उनको छ । सृच्छाले भनिन्, ‘स्थानीय उत्पादनलाई ग्रोसरी मार्ट, सुपरमार्केट लगायतमा सानो ठाउँ दिएर प्रवर्द्धन गर्न सकिन्छ । यसैभित्र दिगो पाठशाला, दिगो प्रणाली लगायतका परियोजनाहरू छन् ।’
अन्नपूर्णले सञ्चालन गरिरहेको युनिटी फर सस्टेनाबिलीटी अभियानलाई मिस नेपालले साथ दिन अझै प्रभावकारी हुने अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक बस्नेतको दाबी छ । आगामी वर्ष हुने मिस वर्ल्डमा प्रधानले प्रतिस्पर्धीका रुपमा सहभागिता जनाउने छिन्।