वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका-९ घर भई काठमाडौंको कागेश्वरी बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका-७ घर भई काठमाडौंको नयाँबजार बस्ने ३६ वर्षीय पदम बहादुर भुजेल र झापाको बाह्रदर्शी गाउँपालिका-३ घर भई काठमाडौं बूढानीलकण्ठ बस्ने ४१ वर्षीय कार्त्तिक लाल राजवंशी रहेका छन्।
कोइरलाले अस्ट्रेलिया पठाउने भन्दै १ लाख, भुजेलले सर्बियाका लागि ३ लाख र राजवंशीले अल्बानिया पठाउने भन्दै ७ लाख ७० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोपछि पीडितहरूले जाहेरी दिएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।