सुनको मूल्य एक्कासि किन घट्यो ?

सुनको मूल्य एक्कासि किन घट्यो ?

काठमाडौं : सामान्यतया मंसिर महिना विवाहको लगन हुने भएकाले सुनको मूल्य बढ्ने गथ्र्यो तर यतिबेला मूल्य ह्वात्तै घटेको छ। सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेकै दिन बजारमा सुनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँले घटेको हो। 

अघिल्लो दिन मंसिर ९ गते छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा बिक्री भइरहेकोमा एकै दिनको अन्तरमा घटेर मंसिर १० गते सोमबार १ लाख ५१ हजार ३ सय रुपैयाँमा सीमित भएको हो। यससँगै, सरकारले चाँदीको भन्सार दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा राखेपछि बजारमा चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदीर्‍ प्रतितोला १ सय १५ रुपैयाँ घटेर १ हजार ८ सय ४५ रुपैयाँमा सीमित भएको छ। जबकि अघिल्लो दिन आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला संघको संयुक्त टोलीले पटकपटक चर्को भन्सार दरको विरोध गर्दै घटाउन माग गर्दै आएपछि सरकारले मूल्य घटाएर सोमबार राजपत्रमा प्रकाशित गरेकोले बजारमा यसको प्रभाव देखिएको हो। भन्सार विभागका सूचना अधिकारी राजेन्द्र हमाल सरकारले भन्सार दर घटाउने निर्णय गरेपछि सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको र यससँगै लागू भएको बताए। भन्सार महसुल घटेसँगै अब व्यवसायीलाई लागत कम पर्न जाने र केही कम मूल्यमा बिक्री बढि हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताए। 

यतिबेला आन्तरिक कारणले बजारमा सुनको मूल्य घटेको हो। जबकि अन्तर्राष्ट्रिय बजारमा उक्त दिन प्रतिऔंस ३२.६९ डलरले घटेर प्रतिऔंस २ हजार ६ सय ८४ डलरको हाराहारीमा पुग्यो। 

आर्थिक वर्ष २०८१/८२ मा सरकारले सुनको आयातमा भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरेको थियो। यसअघिको आवमा पनि सरकारले भन्सार महसुल विधेयक २०८० मार्फत सुनको आयातमा लाग्ने भन्सार महसुल १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको थियो। बर्सेनि सुनको आयात बढाउँदै लगेकोमा व्यवसायीले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। 

भन्सार दर बढ्दा विश्वबजारमा निर्यात प्रतिस्पर्धामा उत्रन कठिनाइ भइरहेको बेला सरकारले व्यवसायी संघको कुनै पनि सरसल्लाह बिना चालू आवमा एकाएक भन्सार दर वृद्धि गर्‍यो। पछि सिंगो सुनचाँदी व्यवसायमा ठूलो समस्यामा परेकाले विरोध गर्दै आएका थिए। मंसिरको १० गतेभित्र सुन आयातमा भन्सार दर नघटाए आन्दोलनमा जाने समेत कार्यसमितिमा निर्णय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष रसाइलीले बताए। ‘भन्सार दर घटाउन व्यवसायीहरूले पटकपटक सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्रीलगायतका सबै समक्ष भन्सार दर घटाउन माग गरेका थियौं।’

नेपालमा २० प्रतिशतसम्म अत्यधिक भन्सार हुँदा भारतमा सुन आयात भन्सार दर ६ प्रतिशतमात्रै थियो। यसले खुला सिमानाबाट तस्करहरूले सुन ल्याएर कम भाउमा बेच्ने विकृति बढेको महासंघका अध्यक्ष रसाइलीले जनाए। उनले भने, ‘तस्करी सुन भित्रिएर ज्याला जर्ती कम लिएर बिक्री गर्ने प्रतिस्पर्धा चलेको थियो। अब यसको अन्त्य हुन्छ। नेपाल सरकारले पनि घटाएपछि भारतको भन्दा ४ प्रतिशतमात्रै बढी भयो। यति थोरै अन्तर भएपछि जोखिम मोलेर भारतमा नेपाली सुन किन्न नजाने र भारतबाट पनि सुन तस्कर हुँदैन।’ 

भन्सार दर घट्ने हल्लाले दुई हप्तादेखि दैनिक कोटाको सुन आयातै गरिएन। चालू आवमा भन्सार बढाएसँगै व्यवसायीले बैंकबाट सुन किन्नै छाडेका थिए। सुन व्यवसायीहरूका लागि बैंकले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा पछिल्लो केही दिन यता सुन खरिद गरेको थिएन। सरकारले भन्सार दर घटाउने भन्ने हल्ला चलेकाले बैंकहरूले जोखिम मोल्न नखोजेकाले दुई हप्तादेखि सुन आयात नगरेको बताउँछन्। यद्यपि अब घटेको भन्सार दर मूल्यमा सुन खरिद गर्न आइतबारै नेपाल बैंकर्स संघले पनि सिफारिस खुलाएको छ।

भन्सार दर बढाउँदा सरकारले नै घाटा व्यहोर्दै आएको थियो। किनभने दैनिक २० किलो सुन आयात गर्न पाउने भए पनि दैनिक १२–१३ करोड राजस्व गुमाइरहेको महासंघ अध्यक्ष रसाइलीको भनाइ छ। ‘किनभने २० प्रतिशत भन्सार दर हुनासाथ सुन आयात घट्यो। यसपछि बैंकमा आएको सुन करिब १ सय ३२ किलोग्राम होल्डमा रह्यो,’ उनले भने, ‘व्यवसायीले सुन किन्ने छाडेपछि सरकारले बैंकसँग भएको सुन उठाउनुस्, त्यसपछि भन्सार घटाउँछौं भन्ने सहमति भएपछि व्यवसायीले घाटै खाएर भए पनि २० प्रतिशत भन्सार दरको सुन किनेको हो। यसपछि बल्ल सरकारले भन्सार दर घटाएको हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.