ग्रामथानमा उपनिर्वाचन : ठूला दललाई चुनौती

ग्रामथानमा उपनिर्वाचन : ठूला दललाई चुनौती
सडकमा जताततै राखिएका चुनाव प्रचार सामग्री।

विराटनगर : थारु सामुदायको बाहुल्य क्षेत्र मानिने मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। चुनावी चटारोमा रहेको ग्रामथानमा यतिबेला उम्मेदवार भोट माग्न व्यस्त छन्। 

विभिन्न साना र ठूला दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार मैदानमा छन्। उम्मेदवारहरू पूर्वाधार निर्माणदेखि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलगायतका एजेन्डा बोकेर मतदाता फकाउँदै भोट माग्न व्यस्त छन्। 

निक्कै अघिदेखि घरदैलो अभियान तीव्र बनाएर मतदाताको मन जित्दै नतिजा आफ्नो पक्षमा पार्न लागिरहेका छन्। समर्थक र शुभचिन्तक पनि आफ्ना उम्मेदवार जिताउन अहोरात्र खटिन्छन्। पार्टीका उम्मेदवार जिताउन विभिन्न दलका केन्द्रीय नेता नै सक्रिय छन्। 

ग्रामथानमा कसको पल्ला भारी छ र कसले बाजी मार्ला ? भनेर चर्चा परिचर्चा उत्तिकै भइरहेको छ। यद्यपि, यही उम्मेदवारले चुनाव जित्छन् भनेर सहज हिसाबले आकलन गर्न सक्ने अवस्था भने छैन। सडक र चोकहरुमा पार्टीका झण्डा, ब्यानरलगायतका प्रचार सामग्री देख्न सकिन्छ। उम्मेदवारको फोटोसहितको पोष्टर र पर्चा जताततै टाँसिएका छन्। यसरी प्रचार गर्नेमा ठूला भनिएका दलहरू अगाडि छन्। 

nullविगतलाई हेर्दा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले १–१ पटक चुनाव जितेको देखिन्छ। २०७४ सालमा एमाले र २०७९ सालमा कांग्रेसका उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। २०७४ मा एमालेका शिवनारायण माझी थारु ४ हजार ७ सय २० मतसहित अध्यक्षमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी तत्कालीन फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारुले ४ हजार ६ सय ६१ मत ल्याएका थिए। 

अघिल्लो चुनावमा ५९ मतान्तरले विजयी भएका शिवनारायणलाई २०७९ मा कांग्रेसबाट उम्मेदवार बनेर जयप्रकाशले पराजित गरे। उनीहरुबीचको मतान्तर १ हजार ५ सय १२ थियो। जयप्रकाशले ७ हजार ६ सय ५ मत पाउँदा शिवनारायण ६ हजार ९३ मतमा सीमित भएका थिए। 

गाउँपालिका अध्यक्षमा निर्वाचिन जयप्रकाशको गत असार ३ गते निधन भयो। रिक्त रहेको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। यसअघि दुईपटक आलोपालो चुनाव जितेका दललाई यो पटक भने सहज नभएको विश्लेषण गर्न थालिएको छ। विभिन्न दलका र स्वतन्त्र उम्मेदवारका कारण ठूला दललाई चुनौती थपिएको हो। 

nullकांग्रेस छाडेका नमोनारायण माझी नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षका उम्मेदवार छन्। यद्यपि, नवप्रवेशीलाई टिकट दिएको र पुराना एवं पार्टीभित्र योगदान गरेकालाई पाखा लगाइएको भनेर माओवादीभित्र तीव्र विवाद र असन्तुष्टि छ। 

नमोनारायणलाई जिताउन पूर्वमन्त्री एवं संघीय सांसद अमनलाल मोदी, माओवादीका कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्जहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ राई, राष्ट्रियसभामा माओवादीका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायतका नेता सक्रिय भएर लागेका छन्। 

नमोनारायण भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको दाबी गर्छन्। जनताबाट राम्रो ‘रेस्पोन्स’ पाएको भन्दै आफू विजयी हुनेमा उनी ढुक्क छन्। 

कांग्रेसले बलराम सरदार थारुलाई उम्मेदवार बनाएको छ। उनी पार्टीमा संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधर हुन्। पार्टीभित्रको गुटगट विवादले चुनावी नतिजामा असर पर्नसक्ने विश्लेषण पनि छ। बलरामलाई चुनाव जिताउन पूर्वमन्त्रीहरू महेश आचार्य, मिनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, नेतृ डिला संग्रौला, प्रदेश सांसद अमृत अर्याल, नेता गुरुराज घिमिरे, सांसद भीम पराजुलीलगायत खटिएका छन्। 

बलराम पूर्वअध्यक्ष जयप्रकाशले अघि सारेका योजनालाई पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन्। उनले निर्वाचित भए पालिकाको विद्यालयमा निःशुल्क कापी कलम बाँड्ने योजना रहेको बताए। चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै उनले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास गर्ने योजना रहेको सुनाए। 

nullएमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ। आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न नसकेको भनेर एमालेभित्र पनि विवाद छ। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार चुनावी मैदानमा छन्। एमालेबाट अध्यक्षको आकांक्षी रहेका नमनारायण चौधरीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। मुढा चुनाव चिन्ह पाएका उनको उम्मेदवारीले एमालेलाई धक्का लाग्नसक्ने अनुमान पनि छ। 

यद्यपि, तुलसीरामलाई चुनाव जिताउन एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाललगायतका नेताहरु अहोरात्र खटिएका छन्। तुलसीराम मतदाताको साथ राम्रो भएका कारण चुनाव जित्ने दाबी गर्छन्। उनको बुझाइमा एमालेको प्रतिस्पर्धी कांग्रेस हो। ‘घरदैलोमा मतदाताको ‘फिटब्याक’ राम्रो पाएको छु। ग्रामथानबासीबाट जति ‘रेस्पोन्स’ पाए नि चुनाव हुन बाँकी छ। तर, आजै मलाई विजयी घोषित गर्दा फरक पर्दैन। जनताको समस्या बुझेर उम्मेदवारी दिएको हुँ,’ उनले भने। 

चुनावमा कांग्रेस, एमाले र माओवादबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। तर, नयाँ दलहरु नागरिक उन्मुक्ति पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारीले पनि पुराना दललाई चुनौती थपिने विश्लेषण छ। दुवै दलका उम्मेदवारलाई समेत बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ। नागरिक उन्मुक्तिबाट बुद्धिचन विश्वास र रास्वपाबाट नवीनकुमार विश्वास उम्मेदवार छन्। यी दुवै दलको जनाधार कमजोर देखिन्छ। तर, ठूला दलका लागि चुनौती भने पक्कै थपिएको विश्लेषण गरिएको छ। 
ग्रामथानको अध्यक्षमा अन्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार 

चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी उम्मेदवार छन्। 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले उम्मेदवारी दिएका छन्। सबै उम्मेदवारले प्रचारप्रसारलाई व्यापक बनाएका छन्। 
रास्वपाबाट उम्मेदवारी दिएका नवीन २०७९ को निर्वाचना हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। त्यतिबेला ८ सय ८५ मतमा खुम्चिएका उनी अहिले गाउँपालिका अध्यक्ष लड्दै छन्। 

कोशी प्रदेशमै पालिका अध्यक्ष पदका लागि ग्रामथानमा मात्रै चुनाव हुँदैछ। त्यही भएर दलहरुले सबै शक्ति खन्याएका छन्। ग्रामथानमा अहिले केन्द्रीय नेताहरुको लर्को लागिरहेको छ। हालसम्मको प्रतिस्पर्धी देखिएका ठूला दलले ग्रामथानको निर्वाचनलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्ने गरेका छन्। गाउँ घरमा चहलपहल बढेको छ। 

पूर्वशिक्षक भरत गुरागाईंले ग्रामथानमा १६ जना उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा ३ ठूला दलबीच हुने विश्लेषण रहेको बताए। सामाजिक अगुवासमेत रहेको गुरागाईं थारु बाहुल्य ग्रामथानमा पहाडे समुदायको मत निर्णायक हुने बताउँछन्। ‘ठूला दलभित्र केही असन्तुष्टि र विवाद देखिएको छ। तर, पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन छ,’ उनले भने। 
थारु बाहुल्य ग्रामथानमा ७ वटा वडा र १३ हजार ४१ महिलासहित २६ हजार ४४ मतदाता छन्। ग्रामथान गाउँपालिका–१ मा ३ हजार २ सय ९०, २ मा ४ हजार १ सय ३४, ३ मा २ हजार ९ सय ५३, ४ मा ३ हजार ९ सय ७३, ५ मा ४ हजार ८ सय ३८, ६ मा ३ हजार ७ सय ५५ र ७ मा ३ हजार १ सय १ मतादाता रहेका हुन्। 

२०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए। अहिले १ सय २ मतदाता थपिए। उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.