चिसो बढ्दै, डेंगु संक्रमण घट्दै

चिसो बढ्दै, डेंगु संक्रमण घट्दै

काठमाडौं : डेंगु संक्रमणको उकालो ग्राफ चिसो बढ्न थालेसँगै ओरालो लागेको छ। यस वर्ष ७६ जिल्लामा संक्रमण फैलाउँदै १३ जनाको ज्यान लिएको डेंगु संक्रमण घट्दै गएको छ। 

वर्षात्को बेला डेंगु संक्रमण दर उकालो लागेकोमा जाडो मौसम आएसँगै संक्रमण दर घटेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिले डेंगु संक्रमण ह्वात्तै घटेको छ। ‘जाडो सुरु भएसँगै डेंगु संक्रमणको जोखिम घट्दै छ,’ डा. बुढाथोकी भन्छन्, ‘वर्षा लाग्यो कि डेंगु संक्रमणको डर बढ्छ । असार महिनादेखि संक्रमण बढ्दै गई भदौ, असोजमा उच्च हुने प्रवृत्ति देखिएको छ।’

डेंगु भाइरस संक्रमित एडिस एजिप्टी र एडिस अल्वोपिक्टस जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ। डा. बुढाथोकीका अनुसार डेंगु संक्रमण घट्नुमा तीन मुख्य कारण रहेको आंैल्याउँछन्। मौसममा आएको परिवर्तन, डेंगु नष्ट गर्ने अभियान र नागरिकमा देखिएको सचेतताले संक्रमण दर घट्दै गएको डा. बुढाथोकीको दाबी छ। 

कात्तिक अन्तिम सातादेखि डेंगु संक्रमण विस्तारै ओरालो झर्न सुरु भएको हो। अघिल्लो दुई महिना भदौ र असोजमा मात्रै २१ हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण पुष्टि भएको थियो। पछिल्लो तीन सातामा ३ हजार दुई ६१ जनालाई मात्र संक्रमण भएको छ। विगत ११ महिना (जनवरीदेखि हालसम्म)को अवधिमा ३२ हजार ७ सय जनालाई डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीका अनुसार जाडो महिना सुरु भएसँगै डेंगु संक्रमण गराउने लामखुट्टेको प्रजनन क्षमतामा घट्दै जान्छ। ‘जाडोमा लामखुट्टेको प्रजनन क्षमता घट्दै जान्छ,’ डा. मरासिनी भन्छन्, ‘डेंगु फैलाउने लामखुट्टेकै संख्या घटेका कारण डेंगु संक्रमण पनि ओरालो लाग्दै गएको हो।’ 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार १० देखि २५ डिग्री सेल्सियस तापक्रम डेंगु फैलाउन लामखुट्टेको लागि सबैभन्दा अनुकूल रहन्छ। ५ मिलिलिटर जमेको स्थिर पानीमा डेंगु फैलाउने लामखुट्टेको लार्भा हुर्कन्छन्। वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. मरासिनी भन्छन्, ‘डेंगु फैलाउन लामखुट्टेको लागि जाडो समय अनुकूल मानिँदेैन। वर्षात्को बेला झैं जताततै स्थिर पानी पनि नहुँदा फुल पार्न पनि सहज हुँदैछ। लामखुट्टेको प्रजनन क्षमतामा पनि ह्रास आउँछ।’

गण्डकीमा उच्च संक्रमण

यस वर्ष सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु संक्रमितहरू पुष्टि भएका छन् । कुल संक्रमणको झन्डै ४६ प्रतिशत यस प्रदेशमा पाइएको छ। संक्रमण पुष्टि भएका ७७ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कास्की जिल्लामा पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कास्कीमा मात्रै ७ हजार ५ सय २३ जनामा यस वर्ष संक्रमण पुष्टि भएको छ। डेंगुले ज्यान लिएका १३ जनामध्ये ८ जना गण्डकी प्रदेशका छन्। 

कास्कीपछि सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा पुष्टि भएका छन्। काठमाडौं जिल्लामा ५ हजार ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, तेस्रोमा तनहुँ छ। तनहुँमा २ हजार ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। पर्वत जिल्लामा १ हजार ८ सय २० जनामा संक्रमण पाइएको छ। ललितपुर जिल्लामा १ हजार ३ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ। बागलुङ जिल्लामा १ हजार ३ सय २३ जनामा संक्रमणको चपेटामा परेका छन्। 

संक्रमणको सातौंमा चितवन जिल्ला सूचीकृत भएको छ। चितवनमा १ हजार २ सय १२ जनामा संक्रमण पुष्टि भएको छ। आठौंमा भक्तपुर जिल्ला परेको छ। भक्तपुरमा १ हजार १ सय ४ जना संक्रमित पाइएका छन्। नवौंमा गोरखा जिल्ला रहेको छ। गोरखा जिल्लामा ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। दसौं स्थानमा कैलाली जिल्ला परेको छ। कैलालीमा ४ सय ९५ जना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार यस वर्ष हुम्ला जिल्लामा डेंगु संक्रमण पाइएन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.