नवलपरासीको जनहित सहकारीमा बचतकर्ताको ५७ लाख हिनामिना
परासी : नवलपरासीको प्रतापपुर गाउँपालिका–६ स्थित जनहित बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताहरुले जम्मा गरेको झण्डै ५७ लाख रुपैयाँ अपचलन गरी हिनामिना गरेको पाइएको छ । संस्थाका तत्कालीन व्यवस्थापक, पदाधिकारी र कर्मचारीहरूबाट ६३३ जना बचतकर्ताले जम्मा गरेको रकम अपचलन भएको पाइएको हो ।
बचतकर्ताहरूले रकम फिर्ता माग्दा नदिएपछि गाउँपालिकामा उजुरी परेको थियो । उजुरीका आधारमा गाउँपालिकाले सहकारीमा भएको रकम अपचलन अध्ययन गरी प्रतिवेदन पेश गर्न वडा नं. १ का अध्यक्ष महेन्द्रबहादुर चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।
अध्ययन समितिले बुझाएको प्रतिवेदनमा सहकारीका तत्कालीन व्यवस्थापकसहित ७ जनाले कूल ५६ लाख ८६ हजार ६३९ रुपैयाँ अपचलन भएको उल्लेख छ । सबैभन्दा बढी तत्कालीन व्यवस्थापक अविनासकुमार कुशवाहाले ५२ लाख रुपैयाँ संस्थामा हिसाब नबुझाएको उल्लेख छ । अरु रकम अन्य पदाधिकारी र कर्मचारीबाट अपचलन भएको देखिएको हो । प्रतिवेदनमा रकम अपचलनपछि फरार भनिएका तत्कालीन व्यवस्थापक कुशवाहालाई झिकाई रकम असुल गर्नुपर्ने र बचतकर्तालाई भुक्तानी दिने व्यवस्था मिलाउन भनिएको छ ।
२०७६ सालमा स्थापना भएको संस्थाले आर्थिक वर्ष ०७८/०७९ को मात्र लेखापरीक्षण गरेको देखिएको छ । त्यसपछि साधारण सभा र लेखा परीक्षण गरेको देखिएको छैन । सोही लेखा परीक्षणको आधारमा समितिले प्रतिवेदन तयार पारेको हो । हाल संस्थामा ग्लोबल आइएमईमा जम्मा १० हजार ९६८ रुपैयाँ मात्र नगद मौज्जाद रहेको देखिएको छ ।
संस्थाले आर्थिक कारोबार गर्दा चेकबाट नगरी नगदै गर्ने गरेको, ऋण लगानी गर्दा धितो नराखी दिने गरेको, कर्जा लगानी गर्दा ऋण समितिको प्रमाणित बिना दिने गरेको, बचत फिर्ता गर्दा चेकबाट नभई नगदी रसिदबाट गरेको जसबाट धेरै जालसाक्षी भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थामा भएको रकम अपचलनबारे सम्बन्धित दोषिहरूलाई झिकाई संस्थाले पाउनु पर्ने रकम असुल उपर गरी बचतकर्ता तथा अन्य भुक्तानीको व्यवस्था मिलाउनु पर्ने समितिले गाउँपालिकालाई सुझाव दिएको छ । त्यसैगरी सहकारी नियमनका लागि सहकारी संस्था निरीक्षण तथा अनुगमनसम्बन्धी कार्यविधि बनाउनुपर्ने र गाउँपालिकामा छुट्टै सहकारी शाखा राख्नुपर्ने समितिले सुझाव दिएको छ । रकम अपचलनबारे गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सम्पर्कविहीन व्यक्तिहरूलाई झिकाउनका लागि पहल गर्ने बताए । ‘रकम अपचलन गर्नेलाई पहिला झिकाउने र त्यसपछि उनीहरूमाथि कस्तो कारबाही गर्ने भन्नेमा कानुनी परामर्शमा छौं । त्यसपछि अन्य प्रकृया अघि बढ्छ, ’अध्यक्ष यादवले भने ।
गाउँपालिका क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने १८ सहित विभिन्न प्रकृतिका गरी कुल ४२ वटा सहकारी छन् । जसमा गाउँपालिकाको क्षेत्रअधिकारभित्र पर्ने ३६ वटा छन् । अरु संघ र प्रदेशको क्षेत्राधिकारमा पर्ने रहेको गाउँपालिकामा कृषि र सहकारी संस्थाको कामको जिम्मेवारी सम्हाल्दैं आएका प्राविधिक सहायक चन्द्रकान्त भुजले जानकारी दिए ।