इजरायल र हिजबुल्लाह युद्धविराम निकट, नेतान्याहुको मन्त्रिपरिषद्मा छलफल
इजरायल र लेबनान युद्धविरामको सम्झौता नजिक पुगेका इजरायली र अमेरिकी अधिकारीहरूले जनाएका छन्। यसबारे छलफल गर्न इजरायली मन्त्रिपरिषद्को बैठक आज बस्ने बीबीसी समाचारमा उल्लेख छ ।
इजरायल र लेबनानमा रहेको इरान समर्थित शिया सशस्त्र समूह हिजबुल्लाहबीचको लडाइ अन्त्य गर्न ६० दिनको युद्धविराम प्रस्ताव गर्न सकिने जनाइएको छ।
सम्झौतामा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गर्ने र उक्त क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको पनि अन्त्य गर्ने कुरा समावेश छ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने, 'हामीलाई लाग्छ कि हामी युद्धविरामको नजिक पुगेका छौं।'