दुग्ध विकास संस्थान सुधारका लागि प्रयास भइरहेको छ : कृषिमन्त्री अधिकारी
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन्।
आज मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डीडीसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तवरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यसको नतिजा चाँडै देखिने बताए।
विगतदेखि नै डीडीसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारले उल्लेख गरे। यो समयमा डीडीसीले दूध खरिदमा विगतदेखि नै कोटा निर्धारण गर्ने गरेको जानकारी आफूलाई आएको भएपनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले बताए।
सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दूधमा पनि आत्मनिर्भरको विषय उठाउँदै गर्दा किसानको दूध खरिद नगर्ने भन्ने कुरा हुन सक्दैन,’ मन्त्री अधिकारीले भने। केही सञ्चार माध्यममा किसानको दूध सरकारी संस्थानले नकिनेको विषय आएको तर दूध बिक्री नभएको गुनासो किसान मार्फत नआएको भए पनि यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र केही दिनमा यथार्थ बाहिर ल्याउने बताए। ज्ञापनपत्र बुझाउँदै सञ्जालले दूध, उखु , सुपारी लगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ।