सामाजिक सुरक्षा कोषमा १८ लाख श्रमिक सूचीकृत
काठमाडौं : सामाजिक सुरक्षा कोषमा हालसम्म १८ लाख श्रमिक सूचीकृत भएका छन्। सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१,वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार छ सय १५, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ गरी १७ लाख ९७ हजार छ सय ४० श्रमिक आवद्ध भएको कोषले जनाएको छ।
७ औं सुरक्षा दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सोबारे जानकारी गराएका हुन्। उनका अनुसार कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरेको छ ।
कोषले हालसम्म एक लाख ८० हजार नौ सय २२ श्रमिकलाई विभिन्न योजनाअन्तर्गत ११ अर्ब ६२ करोड भुक्तानी गरेको छ । कोषमा योगदान रकम ६८ अर्ब ६८ करोड सङ्कलन भएको छ ।