रसुवामा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरे कारबाही
काठमाडौं : रसुवामा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरे कारबाही हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै जिल्लाका किराना, खाद्यान्न, कपडा, खुद्रा पसल र कतिपय होटल व्यवसाय समेतबाट खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडोबाट पेट्रोलियम पदार्थको बिक्री वितरण भएको गुनासो आएको भन्दै बिक्री वितरणमा रोक लगाएको हो।
खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्नु विपद् जोखिमयुक्त, अवैध एवं दण्डनीय कार्य भएकाले कार्यालयले बिक्री वितरण गरे कारबाही हुने जनाएको हो।
कार्यालयले नागरिकको हित र सुरक्षालाई ध्यानमा राखी खुल्ला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न नगराउनका लागि पेट्रोल पम्प एवं अन्य व्यवसायीहरूलाई आग्रह गरेको छ।
पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा, घर, पसल, गोदाममा भण्डारण गर्दा आगलागी हुन सक्ने र मानवीय एवं भौतिक क्षतिसमेत हुन सक्ने कार्यालयले जानकारी दिएको छ।